
मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ।’
अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए।
उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए। बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए।
यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो। उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन्। यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले निर्वाचनमा मतदान गर्न पाउनेछन्।
मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ। यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्। रासस