काठमाडौं–सामाजिक व्यक्तित्व अमृत दोर्जे लामाको आत्मकथा ‘पर्खाइ’ सोमबार सार्वजनिक गरिएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ हातीगौँडामा आयोजित औपचारीक कार्यक्रमका बीच ‘पर्खाइ’ को सार्वजनिकरण गरिएको हो ।
काभ्रेको तेमालमा जन्मेर अनेकन संघर्ष गर्दै काठमाडौं बूढानिलकण्ठमा स्थापीत हुनुभएका लामाको आत्मकथा स्वमं दम्पती कान्छी लामा सहित,कार्यक्रमका प्रमुख अतिथि पोखरेल र लामाकी ६ छोरीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
आत्मकथाको विमोचन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री पोखरेलले अमृत दोर्जे लामाको जीवनसंघर्षको कथाले आम मानिसमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले पितृसतात्मक समाजमा लेखक लामाले आफ्नी ६ जना छोरीहरु भएपनि विगतदेखि नै धेरै मेहनत र परिश्रम गरेर आफ्नो समयको ख्याल गर्दै सबै छोरीहरुलाई अब्बल बनाएको देख्दा खुशीको अनुभुति भएको बताउनुभयो ।
पर्खाइ एक उत्कृष्ट कृति भएको धारणा व्यक्त गर्दै पोखरलले यो कृति प्रकाशित गर्ने बातावरण मिलाउने दोर्जेका छोरीहरु सीता,अनिता,सुनिता,संगीता,सरिता,सविता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजसेवी राधिका शाक्यले ईमान्दारिता र पौरखी बन्न लामाको आत्मकथा ‘पर्खाइ’ले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । आफू पनि सामान्य परिवारबाट नै सफलतासम्म आइपुगेको स्मरण गराउंदै लेखक अमृत दोर्जे लामाको कृतिमा आफू जस्तै आम मानिसले आफूलाई नै भेट्टाउने दावी गर्नुभयो ।
अनेक दुख झेलेर शिक्षा,सिप,क्षमतामा अब्बल लामाकी ६ छोरीहरु नै लामालाई यहांसम्म पुर्याउने सारथी पनि बनेको आफूले पाएको उहाँले समाजसेवी शाक्यले बताउनुभयो ।
लेखक लामाले विगतमा दुःख र कष्टलाई नजिकबाट निहालेको अनुभव सुनाउँदै दुःख नै भविष्यमा सफलताको बाटो हुने बताउनुभयो । आफूले जस्तो दुख कसैले भोग्न नपरोस भन्ने लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘शिक्षा,बुद्धि,विवेकले भरिए मानिसमा दुख काम हुन्छ,मैले जस्तो दुख कसैले भोग्न नपरुन् ।’
लामाकी जेठी छोरी बागमती प्रदेशका निवर्तमान सांसद सीता लामाले आफ्ना पिताले गरेको संघर्षको आंशिक सारथी आफू पनि रहेको उल्लेख गर्दै सन्तानको खुसीमा समर्पित अभिभावको भावलाई राम्रोसँग नियालेको बताउनुभयो । पितृसतात्मक समाजमा सन्तानको रुपमा छोरीहरुमात्रै भएपनि कत्तिपनि विचलित नभई छोरीहरुलाई छोरा सरह उर्जा दिई समाजलाई नै पाठ सिकाउने पिता पाएकोमा गर्व लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘गलैंचा कारखानामा पनि गलैंचा काट्ने काम पुरुषले मात्रै गर्थे तर हामी पनि गर्न सक्छौं भनेर बुबासँगै हामीले पनि त्यो काम गर्यौं,छोराछोरी सबै समान हुन् भन्ने हाम्रो एक किसिमको विद्रोह नै थियो ।’
लेखक लामाकी माईली छोरी बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख एवं साहित्यकार अनिता लामाले मानीसमा धैर्यता चाहिदो रहेछ भन्ने कुरा पिताको कृतिबाट मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘मानिसको जीवनमा दुख आउने,समस्या,पिडाका दिनहरु आउनु अनौठो हैन,निरन्तर संघर्षपछि नै सकारात्मक उपलब्धी हाँसील हुन्छ भन्ने सन्देशका लागि यो आत्मकथाको शिर्षक नै ‘पर्खाई’बन्यो ।’
लामाले काभ्रेको तेमालबाट राजधानी छिरे यता पिताले गरेको संघर्षको केहि पाटो पुस्तकमा खुल्न अझै बाँकी रहेको बताउनुभयो । आत्मकथा तयारीकै क्रममा पितालाई ब्रेनस्ट्रोक भएका कारण आत्मकथाले पूर्णता पाउन बाँकी रहेको उहाँको आसय थियो । काठमाडौंमा आएर श्रमिक मजदुरको रुपमा गलैंचा गार्मेन्टमा काम गरेर यहाँको समाजसँग भिज्न सक्नु चानचुने कुरा नरहेको साहित्यकार लामाले बताउनुभयो ।
लेखककी अन्य छोरीहरु सुनिता,संगीता,सरिता,सविताले पनि पिता माताको संघर्षले आफूहरु शिक्षा,सिप,क्षमतामा अब्बल भएको उल्लेख गर्दै अभिभावकप्रति नमन व्यक्त गर्नुभयो । उहाँहरुले पिताको आत्मकथा विमोचनमा साथ,सहयोग तथा सद्भावका साथ सहभागि सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कृतिको समिक्षात्मक धारणा राख्दै वरिष्ठ साहित्यकार स्नेह सायमीले आत्मकथा ‘पर्खाइ’ले काभ्रे र काठमाडौंको समाज जोड्ने काम गर्ने बताउनुभयो । काभ्रेको तेमालमा जन्मेर कलिलै उमेरमा राजधानी आएर संघर्ष गर्नुपर्दाको परिवेश,घटनाहरु मार्मिक रहेको सायमीले उल्लेल गर्नुभयो ।
संसारका ठूला मानिसहरुको मात्रै आत्मकथा महत्वपूर्ण हुन्छन् भन्ने कुरालाई यो आत्मकथा कृतिले चिर्ने वरिष्ठ साहित्यकार सायमीको तर्क छ । आम मानिसको जीवन र संघर्षका कुरा उठान हुनु नै अमृत दोर्जे लामाको कृतिको व्यापकता रहेको उहाँको भनाई छ । कार्यक्रममा साहित्यकार,पत्रकार,जनप्रतिनिधि,लामा परिवारका शुभचिन्तक,साहित्यप्रेमीहरुको उल्लेख्य सकभागिता रहेको थियो ।
आत्मकथा “पर्खाइ” मा विवाह,पसिनाको मूल्यः मीठो र दिगो, अभाव र गरिबी, आमाको वकसपत्रः दुःख माथि सड्यन्त्र लगायत विभिन्न १६ वटा शिर्षकहरु समावेश गरिएको छ । ५४ पृष्ठको यो कृतिको सम्पादन अनिता लामाले गर्नुभएको हो । दीपेन्द्र बनेपालीको कभर डिजाइन रहेको आत्मकथा पर्खाइको मृल्य रु ३०० रहेको छ,जसलाई लेखककै छोरीहरु सीता,अनिता,सुनिता,संगीता,सरिता र सविताले आवृत्ति छापाखानाबाट प्रकाशनमा ल्याउनुभएको हो ।