निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३५ जनासँग स्पष्टीकरण सोधेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका गतिविधि गरेको भन्दै आयोगले सरकारका प्रमुखदेखि वडाअध्यक्षसम्मलाई स्पष्टीकरण सोधेको हो।

आचारसंहिता मिचेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ।

गत असोज २७ गतेबाट आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण सोध्न सुरु गरेको आयोगले बुधबारसम्म ३५ जनालाई पत्र काटिसकेको छ।

आयोग स्रोतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि काठमाडौं महानगरपालिकाका ‘भाइरल’ वडाध्यक्ष मुकुन्द रिजालसम्मलाई स्पष्टीकरण सोधिएको जनाएको छ।

पूर्वप्रधानमन्त्री प्रचण्डबाट सुरु भएको स्पष्टीकरण प्रधानमन्त्रीको कार्यालय, सहरी विकासमन्त्री मेटमणि चौधरी, नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’, जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म पुगेको छ।

काठमाडौं क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बम, काठमाडौं-६ मा त्यही पार्टीका उम्मेदवार शिशिर खनाल, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ३५ जनालाई स्पष्टीकरण सोधेको आयोग स्रोतले जनाएको छ।

स्रोतका अनुसार आयोगले एक अनलाइनमा प्रकाशित समाचारका आधारमा प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टीकरण सोधेको हो।

समाचारमा कामचलाउ सरकारले दीर्घकालीन योजनाहरु पारित गरेको विवरण उल्लेख थियो।

यस्तै सहरी विकासमन्त्री चौधरीले गृहजिल्ला दाङ पुगेर त्यहाँका बाढीपीडितका नाममा आफैंले चामलसहितका राहत सामग्री वितरण गरेपछि स्पष्टीकरण सोधिएको हो।

चौधरीलाई सत्ता गठबन्धनले दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।

एकीकृत समाजवादीका अर्का नेता श्रेष्ठले मतदाता माझ ‘बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने’ अभिव्यक्ति दिएको भिडियो प्राप्त भएपछि आयोगले स्पष्टीकरण सोधेको हो। उनी बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका उम्मेदवार छन्।

उनलाई आयोगले उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेस गर्न भनेको छ।

सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार डा. सीके राउतलाई मनोनयनको दिन असोज २३ गते आचारसंहिताविपरीत भीड जम्मा गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

काठमाडौं–१ का उम्मेदवार बमले ‘पुकार बम’  लेखिएका टी–शर्ट बाँडेर मतदाता प्रभावित पार्ने प्रयास गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै काठमाडौं–६ का उम्मेदवार खनालले स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीबाट प्रतिष्पर्धा गरिरहे पनि सामाजिक सञ्जालमा आफूलाई स्वतन्त्र उम्मेदवार भनेपछि आयोगको आँखा परेको हो।

‘घण्टी चुनाव चिन्ह लिएर चुनाव लड्दै गरेका छन्। यो पार्टीको चुनाव चिह्न हो। तर, उनले फेसबुकमा आफूलाई स्वतन्त्र उम्मेदवार लेखेको भेटियो,’ आयोग स्रोतले भन्यो, ‘यसो गर्न पाइँदैन। यो आचारसंहिताविपरीत हो।’

त्यस्तै ‘भाइरल’ वडाध्यक्ष रिजालले काठमाडौंमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

‘उहाँ महानगरपालिकाको कार्यपालिका सदस्य हो। उहाँले काठमाडौंमा कसैको पक्षमा मत माग्न पाउनुहुन्न,’ आयोगका एक अधिकारीले भने।

समाचार साभार : www.nepalkhabar.com

प्रतिक्रिया दिनुहोस !