काठमाडौँ — काठमाडौंको तारकेश्वरमा सोमबार राति एकै परिवारका ४ जनाको विभत्स अवस्थामा शव भेटियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना भीमसेन थापा गाउँपालिका–६ गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालस्थित आफ्नै घरमा घरधनी ४१ वर्षीय दिनेश पाण्डेले पत्नी ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको हत्यापछि आत्महत्या गरेको खुल्यो । चारै जनाकै पोस्टमार्टम रिपोर्ट आउँन बाँकी छ ।
तर, पारिवारिक कलह र बेमेलबाट सुरु भई विभत्स हत्यासम्मको रुप लिएको यो घटनापछि नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ ।
०७७/७८ मा आत्महत्याको दैनिक सरदर २० जना छ । आव ०७६/७७ मा दैनिक सरदर १७, ०७५/७६ मा दैनिक १६ र ०७४/७५ मा सरदर १५ जनाको आत्महत्याबाट ज्यान गुमेको देखिन्छ । पछिल्लो पाँच वर्षको आत्महत्या तथ्यांकलाई आधार मान्दा हरेक दिन सरदर १७ जनाले आत्महत्याबाट ज्यान गुमाएको देखिन्छ । आत्महत्या आर्थिक अभाव, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष/महिलाबीच विवाहेत्तर सम्बन्धलगायत कारणबाट सिर्जित समस्या अविश्वास, प्रतिशोध र निराशा अनि आवेगमा बद्लिँदा मानिसले आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्ने गरेको मनोविद्हरु बताउँछन् ।
मनोविद गोपाल ढकाल आत्महत्या दिनानुदिन बढ्दै गएको र यो सामाजिक अपराधका रुपमा जटिल समस्या बनेर देखा परेको बताउँछन् । ‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो, ७०/८० प्रतिशत आत्महत्या मानसिक समस्याबाटै घटेको देखिन्छ,’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ/चिनेजानेका बीच जति पनि आपसी कलह/बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्धरुपमा आपराधिक सोचको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’
। पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यो विभत्स घटनाले श्रीमान्–श्रीमती विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोसम्म डोहोर्याउँछ भन्ने सोमबार एकै परिवारका तीनको हत्यापछि आफैंले गरेको आत्महत्या घटनाबाट देखिएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला पारिवारिक विवाद/बेमेल, आर्थिक अभाव, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वास आत्महत्याका कारण रहने गरेको बताउँछन् ।
तारकेश्वरमा भएको घटनापछि पारिवारिक बेमेल, सम्पत्ति, आपसी अविश्वास र त्यसले निम्त्याएका अरु कारणबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिने उनको भनाइ छ । कतिले परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेको देखिन्छ । आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष/महिलासँगका सम्बन्ध, नैराश्यता, प्रतिशोध, मानप्रतिष्ठामा आँचजस्ता कारण देखिने गरेको छ ।
२०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारीले पत्नी ३४ वर्षीया सम्झना अधिकारी र छोरा १५ वर्षीय सुशान्तको हत्या गरी आत्महत्या गरेका थिए । उनले घरमा पालेको कुकुर पनि मारेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । आर्थिक अवस्था बिग्रिँदै गएपछि पारिवारिक तनावमा रहेका सुदीपले त्यही कारणबाट सिर्जित तनाव व्यवस्थापन नगर्दा परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको खुल्यो ।
२०७६ माघ २७ मा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना ललितपुरको सानेपास्थित निवासमा मृत भेटिइन् । घाँटीमा डोरीले बाँधेर टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी कार्कीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा काम गर्ने दाङ (लमही)का बिजय चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले मुनाको हत्या विजयले गरेको र पछि उनले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।
२०७७ पुस २४ गते राति काठमाडौंको टोखामा दम्पती मृत फेला परे । सुर्खेत पुर्ख्यौली घर भएका उमेश केसी ओछ्यानमा र पत्नी सदीक्षा नजिकै भर्याङमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । अनुसन्धानमा उमेशको हत्या गरी सदीक्षाले झुण्डिएर आत्महत्या गरेको प्रहरी आशंका रहे पनि प्राविधिक अनुसन्धानमा देखिएको कठिनाईले घटनामा बाहिरी पक्षको संलग्नता खोजबिन नै भएन ।
२०७८ फागुनमा रामकोटमा एकै परिवारका चार जनाले आर्थिक अभावको कारण देखाएर विष सेवन गरी सामूहिक आत्महत्यमा प्रयास गरेका थिए । त्यसमध्येका एक जनाको मृत्यु भएको थियो ।
२०७८ असोज २२ मा धनुषाको नगराइन नगरपालिका–७, फूलगामाकी २४ वर्षीया गुडिया साहले २ छोरा ५ वर्षीय अभिषेक र ३ वर्षीया आदित्यको हत्यापछि आत्महत्या गरेकी थिइन् । दिनहुँजसो सामूहिक र एक्लै आत्महत्याका घटना भइरहेका र यस्ता अपराध हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । मनोविद ढकाल पनि आत्महत्यालाई सामाजिक विकृति र समस्याका रुपमा लिएर जनचेतनामूलक कार्यक्रमलाई गाउँ/टोलसम्म पुर्याउनुपर्ने र तथा पारिवारिक सम्बन्ध बिग्रन र मनमुटाव कम गराउने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँछन् ।
मनोविद ढकाल समस्या र चुनौतीको सामना गर्ने क्रममा झेल्नु परेका कठिनाइले मानिसमा नैराश्यता र आवेग/प्रतिशोधजन्य परिस्थिति उत्पन्न हुने बताउँछन् । ‘जसले कठिनाई, समस्या र चुनौतीसँग जुध्ने धैर्यता र संवेदना देखाएर दिमागलाई सामान्य अवस्थामा राख्न सक्छ, उसले दिमागलाई सामान्य अवस्थातिर लैजान्छ,’ उनी भन्छन्, ‘जसले आवेग र उत्तेजनाको सहज व्यवस्थापन गर्न सक्तैन, उबाट हो, अकल्पनीय अवस्था आउने । आवेग र उत्तेजनाले मानिसमा विवेक गुम्छ, विवेक गुमेपछि संयमता हराउँछ, धैर्यता र संयमता हरायो भने नतिजा अपराध नै हो, यस्तै बेला हत्या, आत्महत्या, बलात्कार, कुटपिटजस्ता घटना हुने गरेको देखिन्छ ।’ सोमबार तारकेश्वरमा भएको घटना पनि संयमता गुमाएकै कारण श्रीमान्ले श्रीमती र छोराछोरीको विभत्स हत्या गरी आफैंले आत्महत्या गरेको हुनसक्ने उनको बुझाइ छ ।
घरपरिवारमा कसैको स्वभावमा आकस्मिक परिवर्तन आएको देखिए तत्काल मनोपरामर्शमा लैजानेदेखि त्यस्ता व्यक्तिलाई स्वभाव सामान्य अवस्थामा नआएसम्म एक्लै छोड्न नहुने उनको सुझाव छ ।
news/photo from