राम पोखरेल : आर्थिक वृद्धि, मानव विकास सुचांक अनि साक्षरता प्रतिशतका आधारमा दक्षिण एशियाको अग्रपंक्तिमा रहेको मुलुक २१ औं शताब्दीको तेश्रो दशकमा आइपुग्दा आर्थिक रूपमा टाट पल्टिएको मुलुकका रूपमा असफल राष्ट्र भएको छ । कुनै पनि प्राकृतिक प्रकोपको भय नभएको अनि राजनीतिक रूपमा स्थायित्वका हिसाबले स्थिर पृष्ठभूमिमा पनि एउटा मुलुक टाट पल्टिनु सामान्य परिघटनाका रूपमा लिन सकिन्न। आर्थिक रूपमा विकासशील , भौगोलिक रूपमा सन्निकट, राजनैतिक रूपमा समान समाजबादलाइ गन्तब्य मान्ने अनि भूराजनैतिक परिबन्धले समान अवस्थिति भएका नेपाल र श्रीलंका एक अर्काका निम्ति सफलता र असफलताको अध्ययनको पाठ्यपुस्तक बन्ने सम्भावना बोकेका मुलुक हुन् भन्दा अतिशयोक्ति नहोला ।

१९८० को दशक देखिको गृह यूद्धको निर्णायक समाधान अनि २१औ शताब्दीको दोश्रो दशकको लोभ लाग्दो आर्थिक वृद्धि यी परिदृश्य हेर्दा लाग्थ्यो कि श्रीलंका अब नयाँ आर्थिक शक्तिका रूपमा उदयीमान छ। पर्यटन, कृषि , विप्रेषण लगायतका पाटो केलाउदा नेपाल र श्रीलंका समान अवस्थामा रहेकाले हाम्रा लागि श्रीलंकाको पाठ अलिक बढी नै पठनीय हुनु पर्दछ।

सबै पक्ष छोडेर हामीले ध्यान केन्द्रित गर्नु पर्ने संकटको प्रमुख कारक चाहिं लोकप्रियताबाद हो। श्रीलंकाको आर्थिक दिवालियापनको प्रमुख कारण राजनैतिक लाभका निम्ति गरिएको आर्थिक निर्णय हो । उर्जाका श्रोतका निम्ति पूर्ण बाह्य निर्भरता रहेको मुलुकले पेट्रोलियम पदार्थमा लोकप्रियताका निम्ति अनुदान दिनु अनि मूल्य समायोजनलाइ राजनैतिक लाभ हानिको परिप्रेक्ष्यमा हेरिनु हाम्रा निम्ति उत्तिकै चिन्ताजनक हुनु पर्छ ।

ठुला विकास परियोजनाको छनोट गर्दा समग्र राष्ट्रिय परिदृश्य नजर अन्दाज गरि कुनै अमुक नेताको राजनैतिक लाभ हानि गणनाले प्रमुखता पाउने परिस्थिति भए पछि देश टाट पल्टिनु कुनै आकस्मिक परिघटना हुन सक्दैन । अर्थतन्त्रका आधारभूत संरचनाको सबलीकरण नगरिकन गरिएका उडन्ते परिकल्पना अनि बजेटको असमानुपातिक वितरण हामीले भोग्दै आएको कुशासन हो। ठुला एवं दिर्घकालिन परिजोयानाको छनोट अनि निर्माणमा देशको आवश्यकता भन्दा बिचौलिया को कमिसन अनि ठेकेदार र कर्मचारीतन्त्रको स्वार्थ निर्णायक भए पछि आर्थिक दुरावस्था धेरै टाढा रहदैन।

अमुक दल अनि नेताको सनक अनि देवत्वकारणका निम्ति गरिएका तामझाम र प्रचारबाजीले केहि समय मिडिया हाइप त प्राप्त होला तर समग्रमा मुलुकले ठुलो मूल्य चुकाउनु पर्ने परिस्थिति सिर्जना हुन्छ। श्रीलंकाको राजनैतिक ध्रुविकरण अनि चीन र भारतको समिप्यताका निम्ति भएको विरोधाभासपूर्ण प्राथमिकता निर्धारण हाम्रो केसमा पनि मननीय छ । ठुला परियोजनाको निर्माण देशका निम्ति अपरिहार्य हुने तथ्य निर्विवादित छ। तर त्यस्ता दिर्घकालिन महत्वका परियोजना निर्माण गर्दा बित्तिय व्यबस्थापन अनि ऋणको अर्थतन्त्रमा पर्ने प्रभावलाई फगत राजनैतिक लाभ हानिको चस्माबाट हेर्ने प्रवृति नेपालमा पनि श्रीलंका जस्तै छ ।

श्रीलंकाको परिस्थिति जस्तै सतहमा नदेखिने धार्मिक असहिष्णुता हाम्रा लागि अर्को चिन्ताको विषय हो। पर्यटनलाई साना सांकेतिक द्वन्दको पनि मन्द विष समान असर हुन्छ । हालको रासायनिक मलको अभाव अनि मनसुन ब्रेकका कारणले धान उत्पादन घट्नुका साथै आपूर्ति सन्तुलन बिग्रने सम्भावना बढ्दो छ । श्रीलंकाले जस्तै कृषि उत्पादन ह्रासको समस्या हाम्रोमा केहि समय पछि देखिदै छ । यसको समाधान नभए विश्वव्यापी अन्नको मूल्य वृद्धिको असरले खाद्द्य सुरक्षा प्रभावित हुने निश्चित प्रायस् छ ।

rampokharelnp@yandex.com

प्रतिक्रिया दिनुहोस !