पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति,कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । नगरले नीति,कार्यक्रमका साथै १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट ११ औ नगरसभामार्फत सार्वजनिक गरेको हो ।
नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करोड गरी ५३ करोड ३७ लाख, ९७ हजारको बजेट छ ।
साथै बाँडफाँड योग्य नेपाल सरकार राजस्व बाँडफाँड १० करोड २४ लाख, नेपाल सरकार समानीकरण अनुदान १४ करोड २० लाख, प्रदेश सरकार समानीकरण अनुदान १ करोड ३४ लाख ८४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ९ करोड २९ लाख ९५ हजार, अल्या श्रोत १ करोड ५० लाख, विविध श्रोत ३५ करोड गरी ७६ करोड ५८ लाख ८९ हजार गरी कुल १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया देखाईएको छ ।
खर्च तर्फ पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालु तर्फ १६ करोड, तथा शसर्त योजना कार्यक्रमको लागि १९ करोड २८ लाख ३८ हजार रुपैया गरी १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैयाको बजेट ल्याएको स्पष्ट पारिएको छ ।
नगरप्रमुख महेश खरेलले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा नगरमा एक बर्ष भित्र रोजगारीको सिर्जना,बृहत सिंचाई योजना, स्वच्छ र सफा खानेपानीको पँहुच, नेपालमै पहिलो ग्रिन स्मार्ट सिटीको डिपिआर र कार्यको थालनी,प्राङगारिक खेति, रासायनिक विषादी न्यूनिकरणका लागि गुणस्तरीय बानस्पतिक विषादी घरघरमा बनाउन प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै पाँचखाललाई दुध अण्डा र मासुमा आत्मनिर्भर बनाउने, पशुपक्षीको स्वास्थ्य परीक्षण प्रयोगशाला, पर्यटन विकास रणनीति निर्माण र कार्यान्वयन, कोभिड १९ का कारण बढ्दो बेरोजगारीहरुलाई रोजगार कार्यक्रमसँग जोड्ने, कृषिजन्य बस्तुको उत्पादन, खरिद विक्रि तथा सुपथ मुल्य पसल खोल्न सहकारीसँग सहजीकरण गर्ने, पाँचखालको वास्तविकता र आवश्यकतामा आधारित ‘कम्युनिभर्सिटी’को स्थापना गर्ने, गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया, बलमजदुर मुक्त नगर घोषणा गर्ने नीति लिएको छ ।
नगरपालिकाले नगर स्तरीय कोसेली घर, प्रत्येक वडामा पिच भन्ने मुल नारालाई थप गर्दै वडाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, महत्वपूर्ण धार्मीक स्थल र बस्तीहरुमा पक्की सडकको पँहुच पुर्याइने, अन्य पालिका जोड्ने कम्तिमा २ वटा सडक दिगो सञ्चालन हुने गरी विकल्पको सडक बनाउने, नगरमा अन्तरराष्ट्रिय स्तरको शहर निर्माण, फोहोर मैला व्यवस्थापन, बसपार्क जस्ता परियोजनाहरुको विकास र व्यवस्थापनका लागि नगर विकास समिति गठन गर्ने, घर बनाउनेले अनिर्वाय जमिन रिचार्ज हुने पोखरी निर्माण गर्नुपर्ने, फोहोरलाई श्रोतमा बर्गिकरण गरी फोहोर व्यवस्थापन गरिने,पर्यटकीय, धार्मीक र बजार क्षेत्रमा फ्रि वाईफाई, आधुनिक प्रविधि उपयोग गरी सेवा प्रवाहलाई कागजरहित बनाउने उद्घषेषसाथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सभामा उपप्रमुख सुर्यमाया दनुवारले २०७८/७९ को प्रगति समिक्षा तथा न्यायिक समितिले गरेका कामका बारेमा मन्तब्य राख्नुभयो । सभामा पेश गरिएको नीति तथा कार्यक्रमका साथै बजेट समेत पास भएको जनाएको छ ।