काभ्रे– नेकपा एमालेले मण्डनदेउपुर नगरपालिकाको समृद्धिका लागि पूर्वाधार विकास, कृषि र पर्यटनलाई जोड दिने भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी तयार गरि जारी गरिएको प्रतिबद्दता पत्रमा यो विषय उल्लेख छ ।

एमालेले मण्डनदेउपुरको पूर्वाधार विकास, कृषि र पर्यटनलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार विदुर सापकोटा र सरिता ढकालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रत्यक वडाको मुख्य सडक कालोपत्र सहत नगरको केन्द्रमा जोड्ने, हरेक टोलका सडकलाई स्तरोन्नती गर्ने, खेतियोग्य जमिनलाई कृषि सडक सञ्जालले जोड्ने र नगर चक्रपथ निर्माण विषयलाई महत्व दिइएको छ । एमालेले कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी अनुदान र सहुलियत सहित मल, बिउ र कृषि औजारहरुमा अनुदान तथा सहुलियत प्रदान गरी नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रतबद्धता व्यक्त गरेको छ भने किसानलाई व्यवसायिक कृषि तथा पशु पालन सम्बन्धि सिपमुलक तालिम तथा सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको छ ।

यसैगरी कृषि उत्पादनको न्युनतम सर्मन मूल्य, कृषि उत्पादनको भण्डारण केन्द्र निर्माण गर्ने, रासायनिक मलको अभावलाई समाधान गर्ने, कृषि उत्पादनको प्रसोधन तथा पशुका लागि दाना उत्पादनकेन्द्र निर्माण गर्ने, उन्नत जातका बिउ, नस्ल सुधार गरिएका पशु पालनतर्फ किसानलाई अग्रसर गराई मुनाफायुव्य कृषि व्यवसायमा किसानलाई सहभागि गराउने र एक वडा एक नर्सरीको व्यवस्थापन गर्ने योजना नेकपा एमालेको रहेको छ ।

एमालेले पर्यटन क्षेत्रलाई पनि विकास र विस्तार गर्ने नीति लिएको छ । पर्यटन पूर्वाधारहरू निर्माण गर्ने, रक क्लाइम्ब, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण, होम स्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गर्ने, नगरकोट र सुलिकोट थामडाडाँ केन्द्रित लामा छोटा पर्यटक पदमार्ग निर्माण गर्ने र गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गर्ने एमालेले प्रतिबद्धता जनाएको छ ।

यसैगरी एमालेले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, महिला बालबालिका र जेष्ठ नागरिकका लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, घरदैलो सहज पहँुँच सहितको निशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ सेवा उपलब्ध गराउन प्रत्येक वार्डका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरि सुरिक्षित मातृत्व सेवा संचालनका लागि जनशक्ति र पूर्वाधार सुनिस्चित गर्ने, निःशुल्क औषधिको सहज उपलब्धता, यसका लागि सरकारले वितरण गर्ने निशुल्क औषधिको सूची घरघरमा बाँड्ने, घरघरमा फस्टएड बाकसको निशुल्क अनिवार्य व्यवस्था गर्ने, प्रविधि मार्फत २ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाको निरन्तर स्वास्थ्य अवस्था अनुगमनको प्रवन्ध गरिने, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्य कर्मीको मोवाइल टोलि परिचालन गर्ने, अस्पताल तथा स्वास्थ्य केन्द्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित सेवा डेस्कको व्यवस्था गर्ने, नगर अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न पूर्वाधार विकास गर्ने उद्देश्य एमालेले लिएको छ ।

खानेपानी तथा सरसफाइ, न्याय, सुरक्षा र सामाजिक विकास, युवा खेलकुद र रोजगार, शहरी संरचना र औद्योगिक बिकास, सामुदायिक वन , वातावरण र सहकारी, प्रकोप जोखिम न्यूनीकरण ः पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण, लैङ्गिक समानता ः अवसरमा समावेशिता, संचार तथा सुचना प्रविधि, सुशासन तथा संस्थागत विकास लगायतका विषयहरूलाई पूरा गर्न एमालेले प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रको पूर्णपाठ

नेकपा एमाले मण्डनदेउपुर नगर कमिटि
स्थानीय तह निर्वाचन २०७९
प्रतिबद्दता पत्र

सामाजिक रुपान्तरण, दिगो बिकास, शान्ति, न्याय, लोककल्याण तथा आधारभूत बर्गका व्यक्तिहरुको जनजीविकाको सुनिश्चितता गर्दै समग्र मानव जातिको बिकाश, सामाजिक न्याय, समानता तथा साधनश्रोत माथिको अधिकार सुरक्षाका लागि कम्युनिष्ट पार्टीको घोषणा पत्रको मार्गनिर्देश, नेकपा स्थापनाको उदेश्य, प्रथम कम्युनिष्ट सरकारको नीति र कार्यक्रम, जनताको बहुदलीय जनवादको राजनीतिक पथप्रदर्शन तथा सम्वृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्ने संकल्पमा प्रतिबद्धता सहित मण्डन देउपुर नगरपालिकाको स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमाले मण्डन देउपुर नगर कमिटि प्रतिवद्धता ब्यक्त गर्दछ । बहुलवादी खुला समाजको प्रवर्धन, संबैधानिक व्यवस्था अनुसार राज्यका अंगहरुको सन्तुलित परिचालन , मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको सुदृढीकरणका लागि सामाजिक परिचालन, लक्षित समुदाय लगायतको जनसहभागिता र निरन्तर अनुमोदन, अल्पमत र अल्पसंख्यकको संरक्षण, बिधिको शासन, जनवादी स्थानीय साशन प्रणाली, शोषणको अन्त्य, आधारभूत वर्गको जीविकाको सुनिश्चितता गर्दै पुंजीको वृद्धि गर्ने उत्पादन सम्बन्ध, सबै क्षेत्रमा भौतिक र सांस्कृतिक विकास, समाजवादको लक्ष्य, विदेशी पूजीको परिचालन, प्रविधिको बिकाश तथा प्रयोग, जनसेवा, पहलकदमी र प्रतिस्पर्धात्मक वातारण तथा बातावरण मैत्री संरचनाको बिकाशमा हामी प्रतिबद्ध छौ । नेपालको लोकतान्त्रिक राज्य व्यवस्था तथा कम्युनिष्ट आन्दोलन, सामाजिक न्याय तथा राष्ट्र हित र राष्ट्रियताको संरक्षणका लागि योगदान तथा बलिदान गर्नुहुने सम्पूर्ण योद्दाहरुको सपनालाइ वास्तविकतामा रुपान्तरण गर्ने प्रतिबद्धता सहित मण्डनदेउपुरबासि जनताप्रति आदरभावका साथ नेकपा एमाले मण्डन देउपुर नगर कमिटि हार्दिक अभिवादन ब्यक्त गर्दछ ।

१. सडक पूर्वाधार
 यस नगरपालिकाका प्रत्येक वडाका प्रमुख सडकलाई कालोपत्रे सहितको स्तरोन्नती गरिनेछ ।
 प्रत्येक टोललाई स्तरोन्नति गरिएको सडक सञ्जालले जोडिनेछ ।
 नगरभित्रका कृषि केन्द्रहरूलाई सुविधायुक्त सडक सञ्जालमा जोडिनेछ ।
 वैकल्पिक सडक, नदी नियन्त्रण र कृषि योग्य जमिनमा यातायात पहुँचका लागि चाखोला करिडोर सडक निर्माण गरिनेछ ।
 नगर चक्रपथ निर्माण गरिनेछ ।

२. कृषि तथा पशुपालन
 लक्षित समुदाय र पकेट क्षेत्रका कृषकहरुकालागि उत्पादन परिमाण अनुसारको अनुदान तथा सहुलियत ऋणको कार्यक्रम लागु गरिनेछ ।
 सम्पूर्ण खेतीयोग्य जमिनमा आधुनिक प्रविधियुक्त सिंचाई सुबिधा सुनिश्चित गरिनेछ ।
 उत्पादन वृद्धि गर्न आधुनिक कृषि औजार, मल, बिउबिजन, सीपमूलक तालिमको व्यवस्था गरिनेछ ।
 आधुनिक र सीपमूलक कृषि कार्यका लागि लागि चक्रीय प्रणालीमा आधारित सहुलियत ऋण प्रदान गरिनेछ ।
 बिउबिजन उत्पादन, बिरुवा बिक्रि र कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्न बृहत् नर्सरी कार्यक्रम लागु गरिनेछ ।
 कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनेछ ।
 कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन गरिनेछ ।
 कृषि उत्पादनको भण्डारण र वितरणका लागि कृषि भण्डारण केन्द्र स्थापना गरिनेछ ।
 कृषि उत्पादन प्रशोधन केन्द्र र पशु दाना उत्पादन केन्द्र निर्माण गरिनेछ ।
 उन्नत जातका पशु तथा कृषि उपज वितरणबाट उत्पादकत्व अभिबृद्धि गरी कृषकको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न बजारको पहुँच सुनिश्चित गरिनेछ ।
 कृषिको आधुनिकीकरण गर्न नगरपालिका भित्रका भूगोलको उत्पादकत्व पहिचान गरि कृषि उपज पकेट क्षेत्र निर्धारण गरिनेछ ।
 रासायनिक मलको सहज वितरणका लागि सहकारी र निजी क्षेत्रको उपयुक्त परिचालन गरिनेछ ।
 पशुपालन तथा नगदेबाली प्रवर्धन गर्न अति बिप्पन्न र गरिवीको अवस्थामा रहेका परिवारका लागि नगरपालिकाले लगानी गरिनेछ ।
 प्रत्येक वार्डमा पशु स्वास्थ्य तथा कृषि उत्पादन सेवा केन्द्र संचालन गरिनेछ ।
 एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषी उत्पादन केन्द्रको अवधारणालाई अगाडि वढाइने छ ।

३. स्थानीय संस्कृति र पर्यटन
 नगरकोटलाई मुलुककै आन्तरिक र बाह्य पर्यटकको केन्द्र बनाउन पूर्वाधार विकासमा लगानी गरिनेछ ।
 गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गरिनेछ ।
 नगरकोट र सुलिकोट थामडाडाँ केन्द्रित लामा छोटा पर्यटक पदमार्ग निर्माण गरिनेछ ।
 स्थानीय युवा जनशक्तिलाइ पर्यटक सेवा संग सम्बन्धित ज्ञान, सीप र कार्यक्षमता प्रदान गर्न पर्यटन शिक्षालय स्थापना गरिनेछ ।
 होम स्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गरिनेछ ।
 पुरातात्विक सम्पदाहरू मन्दिर, पाटिपौवा र गुम्बा निर्माण, पुनःनिर्माण, प्रवद्र्धन र संरक्षण गरिनेछ ।
 रक क्लाइम्ब, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण गरि पर्यटन प्रवर्धन गरिनेछ ।
 नगर पर्यटन बोर्ड गठन गरि पर्यटन बिकाशका लागि अन्तर्राष्ट्रिय लगानी, बजार प्रवर्धन तथा स्थानीय जन–संस्कृति संरक्षणको कार्यक्रमका लागि परिचालन गरिनेछ ।
 नगरपालिकाको सुलिकोट क्षेत्रलाइ सौर्यउर्जा उत्पादन केन्द्रको रुपमा बिकाश गरि पर्यटकीय सोलार पार्क निर्माण गर्न निजी, सहकारी र सरकारी साझेदारीको कार्यक्रम लागु गर्ने ।
 नगरपालिका भित्रका गाउँ टोललाइ सांस्कृतिक केन्द्रको रुपमा बिकाश गरिनेछ ।
 नगरकोट धुलिखेल पदमार्ग र साइकल मार्ग निर्माण गरिनेछ ।
 पर्यटन व्यवशायका लागि आवश्यक पूर्वाधार बिकाशमा नगरपालिकाले लगानी वृद्धि गरीनेछ ।
 स्थानीय वाद्यबादनका सामग्रीहरुको संरक्षणका कार्यक्रम संचालन गरीनेछ ।
 नगरपालिकामा कवि बसन्त शर्मा कला साहित्य केन्द्रको स्थापना गरी बसन्त शर्माका सम्वन्धित खोज अनुसन्धान तथा साहित्य कला प्रवर्धन गरीनेछ ।

४. शिक्षा
 सम्वृद्ध नेपाल ः सुखी नेपालीको नारालाई आत्मसात गर्दे कम्प्युटर, इन्टरनेट सहितको प्रविधियुक्त सामुदायिक शिक्षालयको गुणस्तरमा सुधार, स्थानीय भाषा, संस्कृतिको प्रवद्र्धन गरिनेछ ।
 डेडीथुम्का क्याम्पसको शैक्षिक र भौतिक अवस्था सुधार गरी नगरकै शैक्षिक केन्द्रको रुपमा स्थापित गरिनेछ ।
 प्राविधिक तथा व्यवशायिक शिक्षा प्रवर्धन गर्न नगरभित्र भौगोलिक अनुकुलता र नागरिकको पहुँच सुनिश्चित हुने गरी माध्यमिक स्तरमा प्राविधिक शिक्षाको बिस्तार गरिनेछ ।
 नगर भित्रका शैक्षिक संस्थामा स्नातक तहसम्मको शिक्षा निःशुल्क प्रदान गरिनेछ ।
 विशेष प्राविधिक शिक्षाका लागि जेहेन्दार विधार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
 सम्वृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न देशभक्ति र राष्ट्रिय एकता प्रवद्र्धन सहितको स्थानीय पाठ्यक्रम विकास गरिनेछ ।
 प्रत्येक सामुदायिक विद्यालयमा मनोसामाजिक परामर्श र नर्स सहितको विद्यालय स्वास्थ्य सेवा विस्तार गरिनेछ ।
 नगरपालिकाका बिद्यालयहरुको शैक्षिक अवस्था उन्नत बनाउन नमुना बिद्यालय निर्माण कार्यक्रम लागु गरिनेछ ।
 सम्पूर्ण बिद्यालयमा अपाङ्गता मैत्री संरचना र शैक्षिक वातारण सुनिस्चित गरिनेछ ।
 प्राविधिक शिक्षा र व्यवसायिक सीप तालिम केन्द्र स्थापना गरिनेछ ।
 काठमाडौँ विश्वविद्यालय लगायत नेपालका उन्नत शैक्षिक संस्थाहरु संग नगरपालिकाले सहकार्य गरि बिशेष प्रविधि शिक्षामा नगरपालिका भित्रका जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति व्यवस्था गर्ने ।
 नगरपालिकाको विभिन्न सार्वजनिक केन्द्रहरुमा सुविधा सम्पन्न सार्वजनिक पुस्तकालय स्थापना गरी संचालन गरीनेछ ।

५. स्वास्थ्य
 सहज पहँुँच सहितको निशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ सेवा उपलब्ध गराउन प्रत्येक वार्डका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरि सुरिक्षित मातृत्व सेवा संचालनका लागि जनशक्ति र पूर्वाधार सुनिस्चित गरिनेछ ।
 निःशुल्क औषधिको सहज उपलब्धता, यसका लागि सरकारले वितरण गर्ने निशुल्क औषधिको सूची घरघरमा बाँड्ने, घरघरमा फस्टएड बाकसको निशुल्क अनिवार्य व्यवस्था गरिनेछ ।
 प्रविधि मार्फत २ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाको निरन्तर स्वास्थ्य अवस्था अनुगमनको प्रवन्ध गरिनेछ ।
 महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्य कर्मीको मोवाइल टोलि परिचालन गरिनेछ ।
 अस्पताल तथा स्वास्थ्य केन्द्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित सेवा डेस्कको व्यवस्था गरिनेछ ।
 नगर अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न पूर्वाधार विकास गरिनेछ ।
 आधारभूत स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा सुरु गर्ने तथा एम्बुलेन्सको संख्या थप गरिनेछ सवबहानको व्यस्था गरिनेछ।
 नगर अस्पताल भित्र आपतकालीन स्वास्थ्य अवस्थाको सम्बोधन गर्न नगरपालिकाले आपतकालीन स्वास्थ्य प्रतिकार्य संयन्त्र सहितको श्रोत केन्द्र व्यवस्था गर्ने ।
 बालबालिका, गर्भवती महिला, अशक्त र जेष्ठ नागरिकको स्वास्थ्य अवस्था अनुगमन गरि आवश्यकता अनुसार घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने ।
 अतिबिपन्न, अशक्त र अपांगता भयेहरुको लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
 दिर्धरोग लगायत समुदायमा रहेका स्वास्थ्य सम्बन्धि समस्याहरु पहिचान गर्न आवधिक रुपमा स्वास्थ्य परिक्षण समुदियिक कार्यक्रम संचालन गरिनेछ ।
 गम्भीर प्रकृतिका रोग र दिर्घरोगीको उपचारमा सहुलियत तथा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।

६. खानेपानी, सरसफाइ
 मण्डनदेउपुर बृहत खानेपानी योजना लगायतका कार्यक्रम सम्पन्न गरेर एक घर एक धारा कार्यक्रममार्फत् स्वच्छ पिउने पानीको सहज उपलब्धता गरिनेछ ।
 अतिबिपन्न परिवारका लागि पिउने पानिको महशुल मिनाहा गरिनेछ ।
 फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्ने र प्रत्येक घरलाइ फोहोर व्यवस्थापनका लागि सचेतना कार्यक्रम संचालन गरीनेछ ।
 खानेपानी तथा जलश्रोत संरक्षणका लागि नगरभित्रका अग्ला डाँडा तथा सुख्खा क्षेत्रमा जलश्रोत रिचार्ज प्रणाली स्थापना गर्ने ।
 पर्यटकीय क्षेत्र र सार्वजनिक स्थलमा स्वच्छ तथा अपांगता मैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

७. न्याय, सुरक्षा र सामाजिक विकास
 न्यायिक समितिको सवलीकरण गरी छिटो छरितो न्याय सेवा प्रदान गरिनेछ ।
 स्थानीय तहको जवाफदेहीता र पारदर्शी शासन अभिबृद्धि गर्न सामाजिक संघ संस्थासँग स्थानीय साझेदारी र सहकार्य गरिनेछ ।
 आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गरिनेछ ।
 स्रोतमाथि जनताको पहँुच र स्रोतको न्यायपूर्ण वितरण गरिनेछ ।
 अन्य स्थानीय सरकारहरू बीचको समन्वय, सहकार्य र साझेदारीलाई प्रवद्र्धन गरिनेछ ।
 सबै खाले विभेद (जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक), बढ्दो असमानता, अभाव र गरिबीका विरूद्ध जुध्ने सशक्त नीति र कार्यक्रम गरिनेछ ।
 स्थानीय परिवेशमा अभ्यासमा रहेका विभेदजन्य कुसंस्कार अन्त्यका लागि कार्यक्रम गरिनेछ ।
 ज्येष्ठ नागरिकका लागि निशुल्क ऐतिहासिक स्थल तथा तीर्थ यात्राको व्यवस्था गरिनेछ ।
 घरघरमा ज्येष्ठ नागरिक भत्ता पु¥याइनेछ ।
 ज्येष्ठ नागरिक मैत्री सार्वजनिक यातायातको व्यवस्था गरिनेछ ।
 प्रत्येक वडामा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ज्ञान तथा शिप केन्द्र निर्माण गरिनेछ ।
 अनाथ, टुहुरा र विशेष संरक्षणको आवश्यकता भएका बालबालिका लागि विशेष सुरक्षा कार्याकममा नगरपालिकाको लगानी थप गरि लागु गरिनेछ ।
 हिंसा पीडित बालबालिकका लागि स्थानीय तहमा संरक्षण तथा पुर्नस्थापना केन्द्रको स्थापना गरिनेछ ।
 अपाङ्गता भएका बालबालिकाको निशुल्क शीघ्र पहिचान गरिनेछ । कृतिम अङ्ग तथा सहायक सामग्री वितरण, उपचार र पुर्नस्थापनामा आवश्यक सहयोग गरिनेछ ।
 प्रत्येक वडामा सुविधा सम्पन्न बाल उद्यान निर्माण गरिनेछ ।
 बालमैत्री सार्वजनिक सेवा उपलब्ध गराइनेछ ।
 एकल महिला र तिनका बालबालिकको विशेष संरक्षण कार्यक्रम लागु गरिनेछ ।
 एकल महिलाका लागि मर्यादित रोजगारी र भत्ता प्राप्तिमा सहजता सिर्जना गरिनेछ ।
 पाँच वर्षमुनिका सबै बालबालिकाका लागि बाल पोषण भत्ता उपलब्ध गराइनेछ ।
 बालमैत्री स्थानिय शासन, वातावरणमैत्री स्थानिय शासन, पोषणमैत्री स्थानीय शासनको लक्ष्य पुरा गरी घोषणा गरिनेछ ।
 अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी व्यक्तिको मासिक वृत्ति लागायतका समुदायको संरक्षण र विकासका लागि विशेष सामाजिक सुरक्षा कार्यक्रम अगाडि सारिनेछ ।
 परम्परागत पेशाको स्तरोन्नति र व्यवस्थापनसहित दलित लगायतका अल्पसंख्यक समुदायको आर्थिक उन्नति र समावेशिकरणमा विशेष प्राथमिकता दिइनेछ ।
 अनौपचारिक क्षेत्रका श्रमिकहरूको पञ्जीकरण गरी सामाजिक सुरक्षा कार्यक्रम लागु गरिनेछ ।
 न्यूनतम समान ज्यालाको प्रत्याभूति गरिनेछ ।
 सहयोगापेक्षी सडकमानव मुक्त स्थानीय संरचना निर्माण गरिनेछ ।
 नीति निर्माणमा बिज्ञ, सरोकारवाला तथा ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, लोपोन्मुख जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्ति गरिनेछ ।
 भयरहित र सुरक्षित आवतजावतका लागि टोलटोलमा सडक वत्ती, सीसी क्यामरा लगायतका सुरक्षा संयन्त्रको व्यवस्था गरिनेछ ।
 गरिव किसान तथा मजदुरहरूको मर्यादित र सुरक्षित जीवनका लागि विशेष कार्यकम सञ्चालन गरिनेछ ।
 सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि उचित बासस्थानको व्यवस्था गरिनेछ ।
 प्रत्येक वार्डमा सामुदायिक प्रहरी केन्द्र स्थापना गरिनेछ ।

८. युवा खेलकुद र रोजगार
 सबै वालिग नागरिकलाई मर्यादित रोजगारीमा पहुँच ः १८ वर्ष माथिकालाई रोजगारीको अवसर सुनिश्चित गरिनेछ ।
 पर्यटन क्षेत्रमा शिप युक्त जनशक्तिलाइ स्थानीय पर्यटन व्यवसायमा रोजगारीका लागि रोजगारदातासँग नगरपालिकाले सहजीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
 युवा स्वरोजगार र उद्यमशीलताको कार्यक्रम कार्यान्वयन गरिनेछ ।
 युवा, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि उद्यमशीलता र व्यवसायको अवसरको प्रत्याभूति गरिनेछ ।
 रोजगार प्रवद्र्धन केन्द्र मार्फत सरकारी तथा निजि क्षेत्रको रोजगारीका लागि युवा जनशक्तिको शिप र ज्ञान अभिवृद्धि केन्द्र संचालन गर्ने ।
 युवा महिला उद्यमशिलता विकासका लागि विषेश कार्यक्रम लागु गरिनेछ ।
 बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई उद्यमशीलता प्रवद्र्धन बिशेष कार्यक्रम लागु गरिनेछ ।
 नगर रंगशाला निर्माण गरिनेछ ।
 प्रत्येक वार्डमा सुरक्षित खेलकुद मैदान निर्माण तथा युवा खेलकुद प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
 व्यवसायिक खेलाडिहरुको उत्पादन गर्न लगानी गरीनेछ साथै खेल प्रशिक्षण विशेष कार्यक्रम लागु गरिनेछ ।
 युवा नेतृत्व विकास तथा खेलकुद विकासका लागि स्थानीय क्लब निर्माण तथा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
 अधिकार सम्पन्न नगर युवा परीषदको स्थापना गरीनेछ ।

९. शहरी संरचना र औद्योगिक बिकाश
 साना र मझौला उद्योगहरूको विस्तार र वजारीकरण गर्न विशेष व्यवस्था मिलाइनेछ ।
 नगर लगानी सम्मेलन आयोजना गरी उद्योग व्यबसाय प्रवद्र्धन गरिनेछ ।
 मण्डन देउपुर सहरी बिकाश परियोजना मार्फत सहर निर्माण र बिकाशको मापदण्ड तयार गरि लागु गरिनेछ ।
 मण्डन देउपुर औद्योगिक ग्राम संचालन गर्न संरचना बिकाश गरीनेछ ।
 बातावरणमा प्रतिकुल प्रभाव पार्ने खानीजन्य उद्योगलाई व्यवस्थित गरीनेछ । इँटा लगायतका उद्योग विस्थापित गरि बातावरण मैत्री निर्माण सामग्री उत्पादन उद्योग स्थापनालाइ प्रोत्साहन गरीनेछ ।
 युवा उद्यमी प्रोत्साहन कार्यक्रम मार्फत नवप्रवर्धन उद्यमशीलता प्रवद्र्धन गरिनेछ ।
 भवन आचारसंहिता, भूउपयोग नीति आदिको निर्माण गरी कडाइका साथ लागु गरिनेछ ।

१०. सामुदायिक वन , वातावरण र सहकारी
 स्वच्छ ऊर्जा, उज्यालो पालिका कार्यक्रम सञ्चालन गरिनेछ ।
 हरेक भान्सामा विद्युतीय भान्सा कार्यक्रम लागु गरी पहिलो पटकका लागि विद्युतीय चुलो खरिद गर्न ५० प्रतिशत अनुदान प्रदान गरिनेछ ।
 समुदियिक वन ः जनताको धन कार्यक्रम मार्फत् आधारभूत जनतालाई आय आर्जनको अवसर प्रदान गरिनेछ ।
 सहकारी नितिलाई व्यवस्थित गरी सहकारीहरुको संस्थागत क्षमता अभिवृद्धी गरीनेछ ।
 सहकारीलाई आर्थिक तथा सामाजिक परीचालन र विकासको मुख्य अंग मानी रोजगारी विकास , उधमशिलताको प्रवर्धनका लागी पुँजि परीचालन गरीनेछ ।

११. प्रकोप जोखिम न्यूनीकरण ः पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण
 समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य प्राप्ति गर्न, वातावरणीय न्याय, जलवायु अनुकूलन, सामाजिक न्याय लगायतका मुलुकमा देखिएका सवालहरू सम्बोधन गर्न दीगो विकास लक्ष्य प्राप्तिको लागि नीति र कार्यक्रम बनाइनेछ ।
 जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षा, पानीको स्रोत र ऊर्जा जस्ता सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले समन्वयमा अनुकूलन कार्यक्रम लागु गरिनेछ ।
 विपदको अवस्था आइपरेमा आपतकालीन प्रतिकार्यगर्न विपद व्यवस्थापन केन्द्र (जनशक्ति, श्रोत) सहित व्यवस्था गरिनेछ ।
 वारुणयन्त्रको व्यवस्था गरिनेछ ।
 जलवायु परिवर्तनको मारबाट बढी पीडित किसानलाई अनुदान दिइनेछ ।
 प्रकोपको जोखिम भएका बस्ती पहिचान गरी प्रभावितलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणको व्यवस्था मिलाइनेछ ।
 प्रकोप जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेशदेखि गाउँतहसम्म उचित बजेट प्रबन्ध तथा त्यसको सदुपयोग भए÷नभएकोबारे अनुगमन गर्न दरिलो संयन्त्र निर्माण गरिनेछ ।
 परिवार विहीन र विपन्नलाई सुरक्षित आवासको प्रवन्ध सहित एकिकृत वस्ति विकास कार्यक्रम गरिनेछ ।
 कोभिड १९ को महामारी र भूकम्प लगायतका विपद बाट प्रवाभित र विस्थापित पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
 सिपाघाट बजार लगायत जलउत्पन्न प्रकोपको जोखिममा रहेका बस्ती र खेति योग्य जमिनको संरक्षणका लागि विषेश कार्यक्रम संचालन गरीनेछ ।

१२. लैङ्गिक समानता : अवसरमा समावेशिता
 न्यायिक तथा अर्धन्यायिक निकायहरूमा लैङ्गिक सवालसँग जोडिएका मुद्दा÷घटनालाई प्राथमिकता दिइनेछ ।
 महिला नेतृत्व विकास, सशक्तिकरण, आर्थिक परनिर्भरताको अन्त्य, राजनीति, विकास तथा आर्थिक उपार्जन गर्ने महिलालाई प्रोत्साहन कार्यक्रम लागु गरिनेछ ।
 बैक खाता छोरीको, सम्वृद्धि जीवन भरीको कार्यक्रम लागु गरिनेछ ।
 स्थानिय तहमा महिलाको राजनीतिक नेतृत्व विकासका लागि विषेश कार्यक्रम लागु गरिनेछ ।
 स्थानीय तहमा रहेका सञ्चार माध्यम र सञ्चार क्षेत्रको विकासका लागि लगानी अभिवृद्धिलाई प्राथमिकता दिइनेछ ।

१३. संचार तथा सुचना प्रविधि
 स्थानीय तहमा रहेका सञ्चार माध्यम र सञ्चार क्षेत्रको विकासका लागि लगानी अभिवृद्धिलाई प्राथमिकता दिइनेछ ।
 प्रविधिको बिकाश र प्रयोगका लागि सूचना प्रविधि केन्द्र स्थापना गर्ने ।
 नगरपालिकाको क्षेत्र भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्दै प्रत्येक वडामा खुला क्षेत्रको व्यवस्था गरी निःशुल्क इन्टरनेट सेवाको व्ययस्था गरिनेछ ।
 नगरपालिकाको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गरी सहज र सुशासनमैत्री स्थानीय सेवाको सुनिश्चितता गरीनेछ ।

१४. सुशासन तथा संस्थागत विकास
 नगरपालिकाको कार्यालय तथा विभागिय कार्यालयहरु, सम्पुर्ण वडा कार्यालयको पुर्वाधार विकास तथा व्यवस्थापन गरी सुविधा सम्पन्न संरचना सुनिश्चित गरीने छ
 कर्मचारीको आवश्यक प्रवन्ध ,दरवन्दी व्यवस्थापन , विषयगत जिम्मेवारी प्रवन्ध गरी आवश्यक दक्षता विकासका र प्रोत्साहनको व्यवस्था गरीने छ ।
 आवश्यक कानुनहरुको निर्माण अध्यावधिक गरी सुशासन जवाफदेहिता र पारदर्शिता सुनिश्चित गरीने छ ।
 जवाफदेहि र पारदर्शी स्थानिय शासन प्रर्वधन गर्न सार्वजनिक सुनुवाई सुचना प्रविधिको प्रयोग तथा गुनासो तथा उजुरी सुनुवाई सयन्त्र विकास गरीनेछ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

नेकपा एमालेले बिकाश र सम्वृद्धिको अभियानको नेत्रित्व गर्दै आएकोछ । २०५१ सालमा मनमोहन अधिकारि नेतृत्वको लोकप्रिय एमाले सरकारले सुरुवात गरेको सहभगीता मुलक बिकाश, लोककल्याण तथा सामाजिक सुरक्षा र सुशासननै आज सम्पूर्ण राजनीतिक दलले प्रचार गर्ने बिषय बनेकोछ । सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभिभारा तथा राष्ट्रियताको प्रवद्र्धन गर्न उल्लेख्य कार्य गरेको केपी ओली नेतृत्वको सरकारले गरेको कार्यक्रमका लक्ष्य पुरा गर्न हामी प्रतिबद्ध छौ । मण्डन देउपुरमा हाम्रो पार्टीले जनताकै सहभागितामा सुशासन, दलाल पुंजी निर्माण तथा परिचालन माथिको नियन्त्रण, उत्पादन तथा उत्पादक शक्तिको बिकाश, वितरण तथा साशन प्रणालीमा सामाजिक न्याय, हिंसा नियन्त्रण, सामाजिक सुरक्षा, किसानको उत्पादनको उचित मूल्य, पर्यटनको बिकाश, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, आवाश र खाध्य सुरक्षाको सुनिश्चितता गर्नेछ ।

दक्षिणपन्थी अबसरबाद र सांगठनिक अराजकताका कारण बिगतको निर्वाचनमा हाशिल गरेको बिजयलाइ हामीले जनताका पक्षमा अधिकतम उपयोग गर्न सकेनौ । व्यक्तिबाद, भ्रष्टाचार, निजी लाभ र कम्युनिष्ट आन्दोलनप्रति गम्भीर प्रकृतिको घातमा संग्लनहरुलाई दण्डित गरौ ।

आफूलाई वामपन्थी भन्ने केही व्यक्तिको वैचारिक स्खलन र राजनीतिक विचलन उदाङ्गो भएको छ । विभिन्न पृष्ठभुमिका व्यक्तिहरु एकीकृत भएर दक्षिणपन्थी र उग्रबामपन्थी अवसरवादी राजनीतिक दलको आवरणमा गरिएको गठबन्धन मण्डनदेउपुरको बिकाश र सम्वृद्धिको बाधक हो । भ्रष्टाचार, शक्ति दुरुपयोग तथा मिलेमतोगरि निजि आर्थिक लाभ, निरन्तर सामाजिक बिग्रहको संरक्षण गर्ने दक्षिणपन्थी अवसरवादलाई परास्त गरौ । विचारमा दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक जीवनमा अराजकताको प्रतिनिधित्व गर्नेहरू दक्षिणपन्थी शक्तिको छाता ओढेर समाजवादको कुरा गर्दैछन । आदरणीय मण्डन देउपुर बसी आमा, बुवा, दिदी, बहिनि तथा दाजु भाइहरु, नेकपा एमालेको तर्फबाट यस नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका उमेदवारहरुलाइ सुर्य चिन्हमा मतदान गरि लोकतन्त्र, सामाजिक न्याय, सुशासन, दिगो बिकाश तथा आधारभूत जनजीविकाको सुनिश्चिततामा योगदान गर्न हार्दिक अपिल गर्दछाँै ।

नेकपा एमाले जिन्दावाद
जनता बहुदलिय जनवाद जिन्दावाद
भोट केमा सुर्यमा

नाराहरु

विकासको प्राथमिक आधार : प्रत्येक वार्डमा कालोपत्रे सडक पूर्वाधार
व्यवसायिक, उत्पादनशील, सम्मानित श्रम : सम्वृद्ध मण्डन देउपुर निर्माणका लागि कृषि कार्यक्रम
रोजगारी र आय आर्जन : स्थानीय साँस्कृतिक सम्बन्ध सहितको पर्यटन
सबैका लागि स्वास्थ्य शिक्षा : खानेपानी, सरसफाइ र वातावरणीय सुरक्षा
न्याय, सुरक्षा र सामाजिक विकास, : जन कल्याणकारी कार्यक्रममार्फत् अशक्तलाई निकास
युवालाई खेलकुद र स्वरोजगार : सामाजिक उद्यमशीलता हाम्रो सरोकार
समुदायको निम्ति सामुदायिक वन : जीवनका लागि वातावरण सन्तुलन
पारदर्शी र जवाफदेहि स्थानिय शासन प्रविधी युक्त जनमैत्री प्रशासन

प्रतिक्रिया दिनुहोस !