संघीयताको व्यवहारिक अभ्यासको रुपमा जनतासँग प्रत्यक्ष जोडिएको नजिकको सरकार हो स्थानीय तह । स्थानीय तहको निर्वाचन भएको पनि अब ५ वर्ष पुरा हुदैछ,यो वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति समेत तोकिसकेको छ । यो ५ वर्षमा के कस्तो उपलब्धी रह्यो त ? हामी काभ्रेको चौरीदेउराली गाउँपालिका पुगेका छौं । अध्यक्ष हुनुहुन्छ नेकपा माओवादीका बौद्धिक एवं शालिन नेता मानिएका दिनानाथ गौतम । भौगोलिक विकटता,पालिकाको कमजोर आन्तरिक स्रोत अभावको चुनौतीकाबीच पालिका सरकार हाँक्नुभएका गौतम भन्नुहुन्छ–‘यो ५ वर्षमा हामीले पालिकाको मुहार नै फेरेका छौं ।’ नमोबुद्ध खबरका लागि उहाँसँगको यो संवाद प्रस्तुत गरिएको छ ।
  • स्थानीय सरकारको नेतृत्वमा पुग्नुभएको ५ वर्ष पुरा हुदैछ । नेतृत्व प्राप्ती पश्चातको यात्रा कसरी थाल्नुभयो अनि जनता सामु गरेका प्रतिवद्धताहरु कति पुरा भए ?

स्थानीय संरचना बनिसकेपछि,संघीयतामा आईसकेपछि कुरा गर्दा हिजो हामीले गाउँगाउँमा सिंहदरबार भन्दै आएका थियौं,त्यसको कार्यान्वयनको प्रक्रियामा जब देश गयो,हामी निर्वाचित भयौं । स्थानिय तहको निर्वाचनमा हामी जाँदाखेरी हामीले हाम्रो गाउँपालिकाका अत्यावश्यक विषयवस्तुहरु केके हुन् भनेर हामीले घनिभुत रुपमा छलफल गरेर त्यसलाई समेटेका थियौ । हाम्रा अल्पकालिन र दीर्घकालिन योजना के–के हुन सक्छन भनेर हामीले समेटेका थियौ,जनता संगै बसेर व्यापक छलफल गरेरनै हामीले योजना बनाएका थियौ र हामीले एउटा निष्कर्ष निकालेका थियौ,त्यो के भने हाम्रो गाउँपालिका भूगोलको हिसाबले भौगोलिक जटिलता छ,पिछाडिएको छ,त्यसैले हामीले यहाँको पहिलो प्राथमिकता के हुन् भनेर छलफल गर्यौ र हामीले प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्यौ ।

त्यस अनुसार हामीले के गर्यौं भने हाम्रो पहिलो वर्ष पहिलो प्राथमिकता के हो भनेर अहिले जहाँ–जहाँ जे–जे भएपनि विकासको पूर्वाधारमा पहिलो सर्त यातायात रहेछ, हाम्रा ९ वटा वडा रहेका छन् । हामीले आमजनताको घरदैलो सम्म सडक पु¥याउनुपर्छ भनेर प्रत्येक वडाको टोलटोलमा त्यो अभियान सुरु गर्यौं र हामीले त्यसलाई पूरा पनि गर्यौ ।
अहिले हाम्रो बाटो नपुगेको कुनै टोल छैन । यद्यपि हामीले अलि पछिल्लो वर्ष हेर्दा खेरी यो पनि भएनकि जस्तो हामीलाई लाग्यो किनभने हाम्रो भूगोल,परम्परागत तरिकाले बस्ने जनसमुदायहरु छन्,यसले गर्दा केहि कठिनाई,बढि लगानी त हुने नै भयो तर बस्तीलाई एकिकृत गर्ने, एकिकृत बस्ती बसाउन सक्यो भने पूर्वाधारको पनि सजिलै विकास हुने,यातायात,बत्ती, खानेपानी लगायतका चिजहरु एउटै मेसोमा जान सकिन्थ्यो भन्ने सोच आयो । तर पनि त्यो हामीले सकेनौं ।

  • यसमा के चुनौती खडा भयो ?

हाम्रो जनताको बसोबासको स्थिति,खेतिपाती, बस्तुभाउ यि सबै हिसाबले पहाडी जमिन भएको हुनाले टुक्राटुक्री गरेर छरिएर बसेको विकेन्द्रिकृत बस्तीलाई केन्द्रिकृत गर्ने कुरा गाह्रै रहेछ भन्ने भो । यो चुनौती नै भयो तै पनि हामीले त्यो नसकिने नै भइसकेपछि के गर्ने त भन्दा प्रत्येक टोलटोलमा बाटो पुर्याउने क्रम अघि बढाउने । यदि जनताले चाहान्छन् भने उसको घरमै बाटो पु¥याईदिने । पहाडको जमिन भूःक्षय जस्ता समस्या नि आईहाल्छ, त्यसलाई हेरेर प्राविधिक ढंगले उचित हुने गरि पुर्याइदिने भनेर हामीले पहिलो वर्षदेखि त्यहि गर्यौ र अहिले पनि कुनै जनताकोे घरमा बाटो पुगेको छैन वा मुलबाटो चाहिन्छ भनेर पुर्याईदिनु पर्छ भने एउटै सर्त यो छकि जहाँजहाँ जग्गा जमिन क–कसको पर्छ मिलाउनु पर्ने उनीहरु कै जिम्मा,पुर्याई दिने जिम्मा चाहिं हाम्रो भनेर लागिरहेका छौं ।

प्रायजसो यातायातको सवालमा हामीेले राम्रै गरेका छौ । जुन घोषणापत्रमा राखेका थियौ त्यो सम्पन्न भईसकेको छ । हामीले फेरि हाम्रै कार्यकालमा सदरमुकामसम्म जाने पिच बाटो जुन हामीले पहल गर्यौ र त्यो पनि सम्पन्न भयो । अहिले कालोपत्रे हामीसंग छ,सबैतिर त छैन तरपनि मूल लाइन जिल्ला सदरमुकाम जाने थप बाटो पिचको प्रक्रियामा छ । बीचमा मध्यपहाडिको काम अलिकति भईरहेको छ । त्यो सकिएपछि हाम्रो त्यो लाइनको बाटो पिच सकिन्छ ।

दोस्रो वर्ष हामीले हाम्रा प्राथमिकता के हो त भनेर हेर्यौं । हेर्दाखेरी हाम्रो प्राथमिकतामा खानेपानी आयो । हामीले दोस्रो वर्षबाटै हाम्रो गाउँपालिकाको व्यवस्थित ढंगले वाटरसम्बन्धि मास्टरप्लान बनाउन लगायौं । त्यसअनुसार हामीले काम गर्यौ विभिन्न संघसंस्थाहरुलाई पनि बोलायौ र साझेदारीमा कतिपय र कतिपय गाउँपालिकाको र कतिपय संघीय योजनाहरुबाट पनि हामीले खानेपानी योजना बनायौ । हामीले ‘एक घर–एक धारा’ नारा लगायौं । त्यो हाम्रो झन्डैझन्डै सकायौ,राष्ट्रियस्तरको ठूलो योजनाहरुको झन्डै ३५/३६ करोडको थियो,ठेक्कामा लगायौ,ठेकेदारले समयमा काम सकाउन सकेन । यद्यपि त्यो पनि अन्तिम चरणमा छ,सम्भवत त बैशाखमा सकिन्छ । हाम्रो मुहान नभएकोले खोलाबाट लिफ गरेर ल्याउनु पर्ने लिफ्टीङको कार्यक्रम सकेको छ र वितरणको काम बाँकी छ ।

  • खानेपानीको यो योजना वृहत नै देखिन्छ,कत्ति क्षेत्रका जनता लाभान्वित हुन्छन् ?

यो चाहिं हाम्रो झन्डैझन्डै २५ सय घरधुरीलाई त्यो एउटै आयोजनाबाट समेट्ने हो । ति घरधुरीलाई पानी पु¥याउने योजना हो । प्रोजेक्ट ठूलो छ । २५ सय घरधुरी भनेको हाम्रो चाहीं ५ वटा वडा,जुन चाहिं हाम्रो सुख्खाग्रस्त क्षेत्र हुन्,पानीका मुहानहरु नै नभएका ति वडाहरुमा हामी पानी पु¥याउन लागि रहेका छौ । वडा नंंं. ३ माझीफेदाका स्थानीय जनताको घरका आँगन आँगनमा धारासहित खानेपानी पुगेको छ । हामीले ६ सय ६९ घरधुरीमा बालमैत्री धारा समेत जडान गरेपछि ‘एक घर एक धारा सहित आधारभूत खानेपानी पहुँच युक्त वडा’ घोषणा पनि गरिसक्यौं । अरु वडाहरुमा पनि निरन्तर काम अघि बढेको छ ।

  • शिक्षा क्षेत्रमा भएको कामको प्रशंसा सुनिन्छ,के पहल गर्नुभयो अनि के उपलब्धि देखियो र ?

अव शिक्षाको क्षेत्रको कुरा गर्दा भौतिक पूर्वाधारको विकासदेखि कस्तो खालको शिक्षा दिने भन्ने विषयमा हामीले योजना बनाएर लाग्यौं । हामीसँग भएका विद्यालयहरुमा आधुनिक खालका सम्पन्न विद्यालयहरु पर्याप्त बनायौ । प्रत्येक वडामा अव शिक्षाको लागि भौतिक पूर्वाधारको खाँचो छैन । यहाँको शिक्षा कसरी गुणस्तरीय बनाउने भन्नेतिर अघि बढिसकेका छौं । यसैक्रममा नयाँनयाँ खालका सिकाईसम्बन्धी ‘प्रविधि सिकाई विधि’ ल्याउने तथा शिक्षकहरुलाई तालिम गराउने गरि राखेको छौं ।

  • शिक्षाको गुणस्तरीयताको कुरा गर्दा प्रविधिसँग जोडेर व्यवहारीक,व्यवसायीक जनशक्तिको विकासतर्फ केन्द्रित भएको भन्ने स्पष्ट हुन्छ,विद्यार्थीलाई यसप्रति आकर्षित गर्न कस्ता खालका कार्यक्रमहरु छन् ?

समग्रमा हेर्दा हामी निर्वाचित भएर आएदेखि शिक्षामा यसरी हुदैन,यो बेरोजगार हुने शिक्षा दिनुहुदैन,केहि सीपमुलक शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले योजनाहरु बनायौं । अहिले हामीसँग कृषिको डिप्लोमा सम्म पढाई हुन्छ,कृषिप्राविधिक विद्यालयहरु चलाएका छौं । एउटामा हामीले आईटि चलाएका छौ,आईटि सम्बन्धि शिक्षा दिन्छौ,अर्कोमा भेटेनरी शिक्षा दिएका छौ । हामीसँग चारवटा प्राविधिक विद्यालयहरु छन् ।

गाउँपालिकाले ति प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुलाई ५० प्रतिशतसम्म छात्रवृत्ति दिएका छौं । जहाँ जुन प्राविधिक विद्यालयमा पढेपनि छात्रवृद्धि दिएका छौ । यसका साथै अतिरिक्त क्रियाकलाप जुन शिक्षासंग जोडेर आउछन् ति कार्यक्रमहरु पनि हामीले संचालन गरिराखेका छौं । समग्रमा हाम्रो चाहि के छ भने १२ वटा माविहरु छन् १२ वटै माविहरुमा केहि न केहि प्राविधिक विषयहरु संचालन गर्न सकियोस भनेर हामीले योजनाहरु बनाईराखेका छौ । क्रमशः त्यो पनि पूरा हुदै छ ।

हामीले एउटा क्याम्पस संचालन गरेका छौ,क्याम्पसमा विज्ञान संकायको कक्षा पनि संचालन गरेका छौ । विज्ञान पढ्ने विद्यार्थीलाई पनि लागेको खर्चको ५० प्रतिशत छात्रवृत्ति दिने गरेका छौ ।

  • स्थानीय पाठ्यक्रमको विकास तथा मातृभाषा शिक्षाका कार्यक्रम चाहिँ अघि बढेन ?

हामी निर्वाचित भएर आएको पहिलो वर्षमा नै हामीले नीति,कार्यक्रम र बजेट बनाउँदा हामीले मातृभाषाको पाठ्यक्रम बनाउने भेनर केहि बजेट विनियोजन गरेका थियौं । पहिलो वर्षमा कार्यन्वयनमा गएन । दोस्रो वर्ष पनि भएन,तेस्रो वर्ष फेरि खोजेर ल्यायौं ।

विशेष गरेर हामीमा हुने भनेको स्थानीय भाषामध्येमा तामाङ भाषा हो । यो हाम्रो यहाँको अग्रणी भाषा हो । यो अहिले तपाईंसँग बोलिराखेको नेपाली भाषा भन्ने गरिएको छ, यो त छंदैछ,यसलाई त राज्य सत्ताले हिजोदेखि लगानी गर्दै आयो,त्यसरी नै प्रयोगमा आएर विकास हुदै आएको छ,त्यसैले यसलाई केहि गर्नै परेन । तामाङ भाषालाई गरौं भनेर एउटा संस्था नेपाल तामाङ घेदुङसँग मातृभाषा पाठ्यक्रमका लागि सम्झौता पनि गर्यौं तर काम अघि बढाएन,यसरी चाहेर पनि अहिलेसम्म स्थानीय भाषाको पाठ्यक्रम बनेको छैन । यसतर्फ हामी सचेत छौं ।

  • कोभिड महामारीको बेला अक्सीजन प्लान्ट निर्माणदेखिका विषय चर्चामा आए,१५ शैयाको अस्पताल पनि बेलैमा निर्माण गर्न सफल हुनुभयो नि हैन ?

स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा रहेकोले यसमा ध्यान नदिने कुरै भएन । हामी निर्वाचित भएर आउने बित्तिकै १५ शैयाको अस्पताल जुन सरकारले घोषणा गरेको थियो, त्यो हामीले पहिलो वर्षमा नै बनायौँ । अहिले हामीले अस्पतालमा २ जना एमबिए डाक्टरसहितको सेवा प्रदान गरेका छौँ ।

हामीले प्रत्यक्ष जनताको समेत संलग्नतामा अक्सीजन प्लान्ट निर्माण थालेको त कोभिड–१९ महामारीको बेला हो । कोभिड महामारीले पनि हामी सबैलाई धेरैलाई धेरै कुरा सिकाएको छ । कोभिडको उपचारका लागि हामी सफल छौं भनेर हामी दावा गर्न सक्छैँ,गाउँपालिकाको हिसाबले त्यो सेवा प्रवाह गरिराखेका छौं । औषधीका हिसाबले सबैतिर रहेका स्वास्थ्य चौकीमा दिने सबै किसिमका सिफारिस गर्न सक्ने औषधिहरु सुलभ ढंगले गाउँपालिकाको तर्फबाट निःशुल्क वितरण गरिराखेका छौ । निशुल्क शिविरहरु गर्दै आएका छौं । अकालमा कसैले ज्यान गुमाउने अवस्था आउनुहुन्न भनेर यसमा हामीले विशेष ध्यान दियौं ।

हामीसँग १३ वटा स्वास्थ्य चौकीहरु रहेका छन् । यहाँको जनशक्ति पनि ठिक ढंगले परिचालन गरेका छौ । यसमा सहकार्यका लागि हामीसँग निजि क्षेत्रका पनि छन् । धुलिखेल अस्पतालका शाखाहरु २ वटा, त्यसैगरि डिसिडब्लूसिको अस्पताल छ । भूगोल हाम्रो जटिल छ र तिनीहरुको पनि व्यवस्थित रुपमा अनुगमन गर्ने काम गरिराखेका छौँ । जनतामा स्वास्थ्य सुविधा राम्रै रहेको छ ,यसमा अहिलेसम्म हामी सफल छौं ।

  • कृषि क्षेत्रको उन्नयनमा के कस्ता प्रगति हाँसील भयो ?

वास्तवमा मुख्य गरेर हाम्रो प्राथमिकता कृषिभित्र आईराखेको छ । जसले रोजगार सिर्जना गर्न सकोस र बाहिर जाने जनशक्तिलाई यहि रोक्न सकियोस् भन्ने हिसाबले कृषिलाई प्राथमिकतामा राख्यौ ।

यो परम्परागत उत्पादन प्रणाली जुन छ,निर्वाहमुखि कृषिप्रणाली छ,त्यसलाई व्यवसायिक उत्पादन प्रणालीतिर लानुपर्छ भनेर हामीले कार्ययोजना बनायौँ,त्यसअनुसार हामीले किसानहरुलाई कृषिलाई आधुनिकीकरण गर्ने हिसाबले हाम्रो भूगोलमा प्रयोग हुनसक्ने कृषि सामाग्रीहरु जस्तै ट्रयाक्टरहरु,थ्रे्रेसरहरु,मिलहरु,च्याटरहरु भयो, किसानलाई यि कृषि औजार तथा यन्त्रहरु अनुदानको रुपमा वितरण गरिराखेका छौ,प्लाक्ष्टीक पोखरी वितरण जस्ता कार्यक्रम निरन्तर प्रक्रियामा नै छ र त्यसको प्रयोग पनि राम्रै भइराखेको छ ।

जिल्ला सदरमुकाम धुलिखेलमा भन्दा १० रुपैया सस्तोमा मल दिन्छौ,भनेको मतलब ढुवानी भाडा पालिकाले व्यहोरीदिन्छौं । यसरी हामीले कृषि औजार,बीउ विजनमा अनुदान दिन्छौ,किसानहरु उत्प्रेरित भएका छन् ।

  • बीउ उत्पादन कार्यक्रम पनि सञ्चालनमा आयो,आफैं बीउ उत्पादन गरेर आयातमा लाग्ने खर्च रोक्ने र निर्यात समेत गरेर आम्दानी गर्न कतिको सफलता मिलेको छ ?

हो कृषिमा नै अव हामी बीउ उत्पादनको प्रक्रिया पनि आफैं गनृ सक्ने भएका छौं । यो काम पनि हामी आफैँ थाल्नुपर्छ किन भने बीउमा धेरै पैसा बाहिर जाँदोरहेछ । त्यो हुनाले बीउ उत्पादन प्रक्रिया पनि सुरु गर्यौं । गत साल २ क्षेत्रमा पालिकाले मल र बीउ अनुदानमा दिने कार्यक्रम गर्यौं किसानहरुलाई । औजार पनि दिने,किसानले उत्पादन गर्ने र प्राविधिक रुपमा गाउँपालिकाले हेर्ने । यसमा किसानहरु नि आर्कषित भए ।

हाम्रो भूगोलमा हुने मुख्य गरेर गहुँ, धानमा बीउ कार्यक्रम गर्न खोजे । अहिले हामीले कृषि अनुसन्धान परिषद(नार्क) खुमलटार तथा त्यहाँका कृषि वैज्ञानिकहरुको सहयोग लिएर गहुँ उत्पादन गर्यौं । हामीले झन्डैझन्डै डेढ २ सय क्विन्टल जत्ति उत्पादन गरेर पठाई पनि सक्यौ ।

यहाँका किसानलाई बढि भएको बीउ खुमलटारले लग्दिन्छ । अहिले हामीले धानको बीउ उत्पादन गरेका छौं । गहुँ उत्पादन भयो,अब धानको बीउ पनि उत्पादन भईराखेको छ, हामीले झन्डै १ सय क्विन्टल धानको बीउ उत्पादन गरेका छौँ । त्यसै गरि किसानलाई बीउ वितरण पनि गर्ने गरेका छौं ।
यसरी हेर्दा हामीले कृषिमा आमुल परिवर्तन त गर्न सकेका छैनौ तर त्यसका सुरुवात गरेका छौ व्यवसायिक बन्न उत्प्रेरित गरेका छौ ।

  • यहाँको आर्थिक आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रहेको देखिन्छ,पालिकालाई मासुमा आत्मनिर्भर बनाउनुभयो, बजारमा निर्यात समेत गर्न सक्ने हुनुमा स्थानीय सरकारको भुमिका के रह्यो ?

पशुपालनको क्षेत्रमा व्यवसायिक पशुपालन गर्नुपर्छ भनेर अभिप्रेरित गर्ने गरेका छौ र गाउँपालिकाले यसमा पनि अनुदानको व्यवस्था गरेका छौं । बाख्रापालन, कुखुरापालन, भैंशीपालन,बंगुरपालनमा क्षेत्रमा जो किसानहरु त्यसतिर अग्रसर हुन्छन् पाल्नका त्यसमा हामीले अनुदान दिन्छौ,प्राविधिक सहयोग पनि हामी पठाईदिन्छौ ।

औषधीहरु के–के हुन्छ त्यो पनि हामी दिन्छौं । बाख्रापालन चाहिँ फार्मको रुपमा स्थापना गरेर,व्यवसायिक ढंगले किसानहरुले बाख्रा पालेका छन् सबै भन्दा राम्रो हाम्रोमा बाख्रा नै फस्टाको छ । त्यो फार्महरु चाहिँ बिस्तारको क्रममा छ । सबै तिर फार्महर स्थापना गर्ने र कुखुरापालनका फार्महरु बिस्तारको क्रममा छ कामहरु अगाडि बढिरहेको छ ।

हामीलाई बजारको लागि सरलै रहेको छ । यातायातको सुविधा छ,मासुको बजारबाट आयात हैन आफैँ उत्पादन गरिराखेको छ । यसरी अहिले चौरीदेउराली गाउँपालिका मासुमा आत्मनिर्भर भई निर्यात समेत गर्न सक्षम भएको छ ।

  • पर्यटनको क्षेत्रचाहिँ यहाँको स्रोत हो कि हैन ? हो भने यसका लागि के पहलकदमी भएको छ ?

हामीले पर्यटकिय क्षेत्रहरुलाई पनि हेरिराखेका छौं । हाम्रो सबैभन्दा अग्लो वडा १ नं. वडा पर्छ,होचो भनेको ७ नं. वडाको भु–भाग पर्छ । त्यो होचो ठाउँबाट डाँडै डाँडा चढेर मनोरम दृष्यहरु हेर्दै रामेछापको शैलुङसम्म पुर्याउने हाम्रो पर्यटकिय योजनाहरु अघि बढेको छ ।

काजीको थुम्कोमा भ्युटावर समेत निर्माण भएको छ । त्यो भ्यु टावरमा चढेर हेरेपनि ठूलो रेञ्ज देखिन्छ । छिमेकी जिल्ला,महाभारत श्रीखंला तराईका फाँट,उत्तरमा गौरीशंकर,मनास्लु,लाङटाङ,नुम्बुर जस्ता हिमश्रींखलाहरुको अवलोकन गर्न सकिन्छ । यसरी माथिल्लो भेगमा पुगेपछि डाँडाडै डाँडाको यात्राको क्रममा धेरै हिमश्रींखलाहरु देखिन्छन् ।

यसमा हामीले पदमार्ग सुरु गरेका छौं,त्यसलाई युद्ध पदमार्ग नामाकरण गरेका छौं । यसको १७ किलोमिटर जति ट्रयाक खुलेको छ,बीचमा होमस्टेहरु राख्ने,विश्रामस्थलहरु बनाईदिने,त्यो प्रक्रिया सुरु भएको छ । अहिले त पर्यटकको आगमन त्यस्तो छैन तर सम्भावनाका हिसावले यो सुनकोसी तेस्रो जलविद्युत आयोजना बन्यो भने हामीले के अनुमान गरेका छौं भने दोलालघाटबाट सुनकोसीमा र्याफ्टीङ,अझ साना–साना जहाज नै चल्लान्,ड्याम बनेर अन्तिमसम्म आइपुग्दा हाम्रो आईपुग्ने हो,यातायातका साधन हुदै पनि आउने भए,सबैतीर त्यो ट्रयाक पनि जोडिराखेका छौं । मनोरम दृष्यहरु हेर्दे पैदल हिड्ने मार्ग बनाउन थालेका हौं । कतिपय ठाउँमा सिँढीहरु बनाएका छौं । पर्यटकिय पाटो पनि यहांको स्रोत बन्न सक्छ भनेर यो क्षेलाई पनि हामीले छुटाएका छैनौं ।

  • अब संस्कृति प्रवद्र्धनको पाटो हेरौं,स्थानीय समुदायको धर्म,चाडपर्व,सम्पदा संरक्षणलाई कसरी हेर्नुभएको छ ?

संस्कृति प्रवद्र्धनका कुरा गुर्नपर्दा हामीसँग दुईतीन थरीका संस्कृति छन्,जस्तै हिन्दु संस्कृति,बौद्ध संस्कृतिका कुरा,विभिन्न सुदायका विभिन्न आस्था,पहिचान,संस्कृति छन् । जस्तै हाम्रो क्षेत्रमा रहेको माझीहरुको पनि बेग्लै पहिचान छ,तामाङ समुदायको अलग्गै संस्कृति छ । अन्य समुदायका पनि आ–आफ्ना छन् । विशेष गरेर हामीले अहिले समुदायका हिसावले सबैका संस्कार संस्कृतिको रक्षा गर्नुपर्छ भनेर सुरु गरेका छौं ।

समुदायहरुले आफ्ना चाड पर्व,रितीरिवाज गर्छन् भने त्यो मनाउनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । जस्तै लहोछार कार्यक्रमहरु हुन्छन्,तीज भयो । ल्होछारमा २ दिन सार्वजनिक विदा हामीले पहिलेदेखिनै दिदै आएका छौं र हामी आफैंले मनाउछौं पनि । गत वर्ष हामीले मादनकुडारीमा मनायौं,यो वर्ष कोरोना लगायका कारणले औपचारीक कार्यक्रम नै गरी मनाउन सकेनौं । यसमा उनिहरुको आफ्ना भाषा,भेष,संस्कार,संस्कृति,रितीरिवाज मनाउने,प्रदर्शन गर्नेदेखि लिएर चेतनामूलक ढंगले पनि भयो,मनाउने रुपमा पनि भयो,यो हाम्रो संस्कृति पूवद्र्धनकै एउटा पाटो रह्यो । माझी समुदायको विशेष गरी वार्षिक श्राद्ध गर्ने भन्ने हुदोरहेछ,मान्छे जहिले मरेपनि उसको श्राद्ध एकेचोटी गर्ने हुदोरहेछ । भदौबाट दशैंको छेकोसम्ममा गर्नेरहेछ,त्यो एउटा ठूलो पर्वको रुपमा संस्कृतिको रुपमा ।

यसका साथै यहाँ थोरै पहरी समुदाय पनि छ,माझीसँगै यो पनि यहाँको अल्पसंख्यक समुदाय हो । पहरी लोपोन्मुख जस्तै देखिन्छ । यि समुदायहरुको भाषा,संस्कृति लोप नहोस् भनेर आवश्यकता अनुसार नीति,बजेट निर्माणका काममा हाम्रो ध्यान गएको छ ।

हामीसँग यहाँका समुदायहरुको आस्थाको रुपमा केहि ऐतिहासीक धार्मिक सम्पदाहरु पनि छन् । सबैभन्दा पुरानो दुतीको खाँडादेवि मन्दिर छ । यो हाम्रो २ नं. वडामा पर्छ । त्यसलाई हामीले पुरातात्विक ढंगले पनि पुन निर्माण सम्पन्न गरेका छौं । कतिपय पुरातात्विक महत्वका सम्पदाका काम पुरातत्व विभागसँग मिलेर भईरहेको छ । विभिन्न समुदायका यो संस्कार संस्कृतिसँग जोडिएका मठ मन्दिरहरु,गुम्बाहरु,सत्तल निर्माण,पुराना ऐतिहासीक खालका धाराहरु मर्मतसम्भार संरक्षणका लागि गाउँपालिकाले अनुदान दिने,पुन निर्माणका काम गर्ने भइरहेको छ । ,

  • धेरै प्रयास गर्दा पनि मुस्किल परेको,अधुरो भएको जस्तो लाग्ने काम के रह्यो ?

स्रोतको अभाव ठूला योजनाहरु सञ्चालनका चुनौतीका रुपमा खडा भए । हामीले हाम्रो युवाहरुलाई यतै रोजगारी सिर्जना गरेर बाहिर जानबाट चाहिं रोक्न सकेनौं,त्यसमा हाम्रो भुगोलले पनि असर गर्यो । हाम्रो क्षेत्र,अवस्थिति जस्तो छ,त्यसले पनि केहि असर गरेको हो ।

त्यही जन शक्तिलाई भित्राउनका लागि कृषिमा पशुपालनमा अनुदान दिएका हौं । हाम्रो यहाँ रोजगार सिर्जना गर्ने भनेको कृषि र पशुपालन मात्रै देखिन्छ । हाम्रो भ्गोलको हिसावले अरु उद्योगधन्दा,कलकारखानाहरु स्थापना गरेर रोजगार दिन सक्ने सम्भावना छैन ।

हामी आह्वान गरिरहेका छौं नीज क्षेत्रका मान्छेहरु,नीजि संघसंस्थाहरुलाई,यहांको सापेक्षतामा सञ्चालन हुन सक्ने उद्योग सञ्चालन गर्न,हाम्रो क्षेत्रमा के उत्पादन गर्न सक्नुहुन्छ आउनुस यसमा गाउँपालिकाको तर्फबाट लगानीको सुरक्षा गरिदिन्छ,प्रवद्र्धनका काम गाउँपालिकाको तर्फबाट पनि गर्छौं भनेर लगानीकर्ताहरुलाई आह्वान गरिरहेका छौं तर आजसम्म हामीसामू कोही आइपुग्नुभएको छैन । जग्गा जमिन के–के चाहिन्छ उपलब्ध गराउने,पुँजीको लगानीको पनि सुरक्षाको सुनिश्चित गरिदिने भनेका छौं,यसमा आजसम्म कोही लगानीकर्ता,कम्पनीहरु कोही जोडिनुभएको छैन,यसमा चाहिं हामीले चाहेर पनि,बारम्बार प्रयास गर्दा पनि ठूलो उपलब्धि मिल्नेगरी काम गर्न नसकेको होकि भन्ने अनुभुति हुन्छ । तैपनि हामी निरन्तर रुपमा लागि नै रहेका छौं ।

  • स्थानीय तहको नेतृत्व लिएका कतिले सिक्दा सिक्दै ५ वर्ष विते भनेका छन् । पहिलो वर्षदेखिनै प्राथमिकता निर्धारण गरेर योजनावद्ध रुपमा काम गर्दै आउनुभएको कुरा तपाईंको पयौं,स्थानीय सरकार सफलताका लागि योजना निर्मााण,दुरदृष्टि,स्रोतसाधन लगायतका बीचको तलामेल चाहिँ के कस्तो हुनुपर्दोरहेछ ?

सबैभन्दा पहिलो त भिजन चाहियो,हरेक स्थानीय तहले हरेक ठाउंमा त्यहाँको आवश्यकता के हो भन्ने कुरा पहिचान गर्नुपर्यो । कहाँ–कहाँ के–के गर्दा हामी सफल हुन्छौं भनेर भिजन,त्यसमा विकासे दृष्टिकोण बन्नुपर्यो । दोस्रो कुरा जब त्यो भिजन बनिसक्छ,प्लानिङ बनिसक्छ,त्यसलाई कार्यन्वयन गर्न साधन,स्रोतको आवश्यकता हुन्छ नै,त्यसलाई पनि पहिचान गर्ने,परिचालन गर्ने कुरा आउँछ । तेस्रो कुरा चाहिं हामीले अघि सारेका योजना जनताले आवश्यक महसुस गरेको छ कि छैन ? भन्ने कुराले निर्धारण गर्छ ।

कतिपय कुरा एउटा सोचेका हुन्छौं,त्यसमा जनतालाई मतलव हुदैन भने त्यसमा जनसहभागिता जुट्दैन । जनसहभागिता जुटाउनका लागि जनताले आफूले आवश्यकता महसुस गरेका योजनाहरु जव हामी दिन्छौं,जनता आफैं सक्रिय भएर लागिहाल्छ । अनावश्यक थोपरिएको योजना भन्ने भयो भने जनसहभागिता जुट्दैन र त्यसको परिणाम पनि राम्रो हुदैन । उनिहरुकै सक्रियताले मात्रै योजना कार्यन्वयन सफल हुने हो,दिगो हुने हो,यो मेरो अनुभव हो ।

अर्को कुरा के हो भने हाम्रो सन्दर्भ आउँदा चाहिं हाम्रो भुगोल दुर्गम,पिछडिएको ठाउँ । साधन र स्रोतको अभाव,हाम्रो आन्तरिक स्रोत छैन,हाम्रा छिमेकी गाउँपालिकाहरुसँग टन्न स्रोत छन्,त्यो स्थिति यहाँ हुने भएको भए म त अझ यो गाउँपालिकालाई नयाँ उचाईमा पुर्याइसक्थें भन्ने लाग्छ । यद्यपी हामी प्रदेश र संघ सरकारसँग भर पर्नुपर्ने अवस्था रहेपनि त्यहाँबाट आउने स्रोतलाई सहि ढंगले परिचालन गर्ने कुरामा जनप्रतिनिधिहरु प्रतिवद्ध भए भने काम गर्न गाह्रो छैन ।

  • भनेपछि यो अवधिमा पालिकाको आन्तरिक स्रोतको पहिचान र परिचालनको पाटो कस्तो रह्यो त ?

यो नै हाम्रो चुनौती भन्दा हुन्छ । पालिकाको आन्तरिक स्रोत बलियो बनाउनका लागि हामीले बारम्बार आह्वान गरेको कुरा अघि मैले बताइसकें । आउनुहोस् खानीहरु चलाउनुहोस् हामी दिन्छौं,विभिन्न उद्योगधन्दाहरु चलाउन सहयोग गर्छौं भनेका थियौं तर यहाँबाट उत्पादित बस्तुहरु बजारसम्म पुर्याउन लगानीकर्ताहरुलाई दुरीको हिसावले अलि टाढा पर्ने रहेछ,दोलालघाटमा,उता इन्द्रावतीको साइडमा उत्पादन हुने बस्तु र यहां उत्पादन हुने बस्तुमा लगानीको हिसावले दुरीको हिसावले उतासँग प्रतिस्पर्धा गर्न यहाँकोले नसक्ने रहेछ ।

अलिकति बालुवा थियो,२ वर्ष ठेक्का लगायौं,परेन,३ पटक टेण्डर खोलिसक्यौं तर कसैले पार्दैन किनभने दुरीका हिसावले टाढा पनि छ,उनिहरुचाहिं दोलालघाटतिर इन्द्रावतीतिर लाग्ने भए । हामीले सोचेको वनजंगल पनि स्रोत हो तर हामीसँग भएका वनजंगलभित्र त्यस्तो उन्नत खालेको काठ नै छैन,केवल सल्लो छ,हिजो अष्ट्रेलियन वन परियोजना अन्तर्गत रोपियो तर यसले खासै उपलब्धी दिएन यो समस्या नै भएको छ । अन्य स्रोत त छंदै छैन ।

अरु भन्दा त मालपोत हो,मालपोत खासै धेरै हुदैन,८,१० लाखसम्म हुन्छ वार्षिक । त्यसबाहेक उद्योध धन्दा कलकारखाना राख्न सकियो भने रोजगार सिर्जना पनि हुने,कर पनि उठ्ने हुन्थ्यो । आन्तरिक स्रोतको पाटोमा हामी कमजोर हुदाहुदै हामीले संघ र प्रदेश सरकारबाट प्राप्त सा्रेतको बुद्धिमत्तापुर्ण प्रयोगले उपलब्धिहरु हाँसील गर्न सफल भयौं ।

भनेपछि जनतासामू व्यक्त गरिएका प्रतिवद्धताहरु सबै पुरा भए ?

समग्रतामा हेर्दा त्यो भन्न सक्छौं । हामीले हिजो हाम्रो घोषणा पत्रमा उल्लेख गरेको कुराहरु जनतालाई भनेका कुराहरु बाँकी त केहि पनि राखेका छैनौ । कतिपय त सम्पन्न भईसके, कत्तिपय आधी भन्दा बढि भयो,कत्तिपय योजनाहरु सुरुवात भएको छ,हाम्रा घोषणापत्रमा प्रतिवद्धता जनाएका कुराहरुमा झन्डैझन्डै ८०/८५ प्रतिशत सम्पन्न गरिसकेका छौ । यसकारण हामीले नेतृत्व लिएपछि यो ५ वर्षमा पालिकाको मुहार फेरिएको छ ।

यो मुलुकको व्यवस्था परिवर्तनमा ज्यानको आहुती दिएका सहिदका परिवारलाई नगदसहित सम्मान गर्ने कार्यक्रम ल्यायौं । यो भनेको सहिदको बाटो नभुल्ने प्रण हो र ति सपनाहरु पुरा गर्न कटिवद्ध भएर लागेको सन्देश पनि हो । हाम्रा अभिभावक वृद्धवृद्धा,एकल महिला,दलित बालबालिका लगायतलाई दिइने सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई व्यवस्थित गर्यौं ।

संघीयतालाई भार मान्नेहरु पनि देखिए । कोहि चाहिँ स्थानीय सरकार अझै सोचेजस्तो अधिकार सम्पन्न भएन भन्ने आवाज उठाउँछन्,जनताले संघीयताको भनौं वा सरकारको प्रत्यक्ष अनुभुति गर्न पाउने स्थानीय तहको नेतृत्वमा हुदा यसबारे तपाईको अनुभुति कस्तो रह्यो ?

यो विषय बेला बेला छफलमा आउने गरेको छ । अधिकार अलि माथि केन्द्रित गर्न खोजेको जस्तो चाहिं मलाई पनि लाग्छ, अहिले पनि हेर्ने हो भने विविध क्षेत्रमा त्यस्तो देखिन्छन् । स्थानीय तहलाई मजबुत बनाउन अझ थप अधिकारहरु प्रदान गर्न सकियो भने देश र जनतालाई नै फाईदा हो ।

मुलभुत रुपमा स्थानीय तह नै हो । ५ वर्षको अवधिमा हामीले हाम्रो गाउँपालिकाको मुहार नै अर्को बनाएका छौं । ५ वर्ष अघि र अहिले त्यो निकै फरक देखिन्छ । त्यस हिसावले काम चाहिं स्थानीय तहमै हुदा बढि हुने रहेछ,संघले प्रदेशले गरिदिने काम हेर्दा प्रत्यक्ष जनतासँग साक्षात्कार हुन नसक्ने देखिन्छ । स्थानीय तहमै काम आउँदाखेरी चाहिँ दिनहुँ जनतासँग जोडिराखेको हुने,जनसहभागिताका हिसावले पनि महत्वपूर्ण रह्यो,त्यो हुनाले अहिले पनि यो संघीयता अझ व्यवहारिक ढंगले लागु गर्ने कुरा,सिर्जनात्मक किसिमले लागु गर्ने कुरा हो ।

सबैले आ–आफ्नो सापेक्षतामा गरेकै छन्,कतिपय ठाउँमा नपुगेको होला,कतिपय ठाउँमा राम्रै भयो होला,मलाइ चाहिं त्यस्तो लाग्दैन कि आगामी दिनमा यो संघीयता नराम्रो हो भन्ने कुरा । अहिले केहि मान्छे भन्छन्,अफापसिद्ध भन्छन्,त्यसो हैन,यो संघीयताले नै नेपालको मुहार फेर्दै ल्याएको छ । बरु यसलाई अझै सुदृढ गर्ने,मजबुत गर्ने,जनतासँग अझै जोड्ने पहल र प्रयत्न निरन्तर भइरहनुपर्छ भन्ने मेरो बुझाई छ ।

  • यो संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद ।

मेरो भनाई एवं चौरीदेउराली गाउँपालिकाको गतिविधिहरु तपाईको मिडियामार्फत राख्ने अवसर दिनुभयो,धन्यवाद ।

भिडियो :

प्रतिक्रिया दिनुहोस !