काठमाडौँ — राजधानीमा गत शुक्रबार आयोजित अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विदेशी सैनिक बोलाएर देशभक्तको टाउको काट्न लगाएको आरोप लगाए ।

‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ’ उनले भने, ‘यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’

उनले बीपी कोइराला गृहमन्त्री छँदा विद्यार्थी आन्दोलनमाथि चरम दमन गरेको र गोली हानेको बताएका थिए । आइतबार बुद्धिजीवी परिषद्‍को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ओलीको तारोमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा परेका थिए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवामाथि पनि ओलीले लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्साको विषयलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय दलाली गरेको आरोप लगाए ।

त्यसका लागि उनले प्रधानमन्त्री देउवाको एक सय दिन पुगेको अवसरमा जारी भएको किताब र भारतीय दूतावासमा राखिएको भनिएको पुरानो नक्साको विषयलाई उदाहरणको रुपमा प्रस्तुत गरेका थिए ।

‘प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो? ’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको नक्सामा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

एमालेका पछिल्ला कार्यक्रमहरुमा अध्यक्ष ओली नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस र प्रधानमन्त्री देउवामाथि पनि आक्रमक देखिन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली आखिर किन आक्रामक बन्दै छन् ? राजनीतिक विश्लेषकहरु आगामी दिनमा त्यो आक्रामकता झनै बढ्ने बताउँछन् । उनीहरुले आसन्न चुनावमा एमाले र कांग्रेसबीच सिधा प्रतिस्पर्धा रहेका कारण ध्रुविकरण गराउन खोजेको बताउँछन् ।

‘कांग्रेस प्रत्यक्ष रुपमा प्रतिद्वन्द्वी हो । साढे सात सय स्थानीय तहमध्ये कांग्रेस र एमालेबीच ५ सयभन्दा बढी स्थानमा सिधा प्रतिस्पर्धा हुन्छ । त्यस स्थानीय तहहरुका कांग्रेस र एमालेमध्ये एउटा पहिलो अर्को दोस्रो हो,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘सिधा प्रतिस्पर्धा हुने ठाउँमा यसपटक कांग्रेसले बाजी मार्ने अवस्था छ । कम्युनिस्ट फुटेको कारण त्यस्तो अवस्था भएको हो । त्यसैले ओली एन्टी कांग्रेस विरोधी भावना उत्पन्न गराएर चुनावलाई ध्रुविकरण गराउन चाहानुहुन्छ ।’

गत स्थानीय तहको चुनावमा २ सय ९४ स्थानीय तहको प्रमुख र ३ सय ३३ उपप्रमुख जित्दै एमाले पहिलो स्थानमा रहेको थियो भने २ सय ६६ प्रमुख २२३ उप प्रमुख जित्दै कांग्रेस दोस्रो स्थानमा आएको थियो ।

ओली प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सरकारको भूमिकाप्रति आलोचना र विरोध गर्न नसकेको भन्दै कांग्रेसभित्र सभापति देउवाको कडा आलोचना समेत भयो । त्यस अवधिमा पार्टीभित्र देउवा विरोधी कित्तामा रहेका रामचन्द्र पौडेल र शेखर कोइरालाहरुले भने विरोध गर्ने गरेका थिए ।

आचार्यका अनुसार तल्लो तहसम्म गठबन्धन बनेपछि ओली झनै आक्रमक देखिएका छन् । ‘स्थानीय आवश्यकता अनुसार गठबन्धन तल्लो तहसम्म हुन्छ कि भनेर अलिकति तिलमिलाएको अभिव्यक्ति हो । कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयपछि यस्तो भएको हो’आचार्यले भने, ‘आफूसँग छुटिएर गएकाहरु छुट्टै अस्तित्व लिएर अघि बढेको अवस्थामा आफूलाई क्षति हुन्छ भन्ने थाहा छ । उनीहरुले कांग्रेस टेको दिन थाल्यो भन्ने पनि भएको हो त्यसप्रतिको आक्रमण हो ।’

फलस्वरुप शुक्रबारको कार्यक्रममा पनि ओलीले कांग्रेसप्रति कडा टिप्पणी गर्दै आरोप लगाएका थिए । उनले माओवादी र एकीकृत समाजवादीलाई लक्षित गर्दै कांग्रेसले जहिले पनि खराब शक्तिसँग मात्रै गठबन्धन गर्छ भन्दै टिप्पणी गरेका थिए । ‘कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्छ । कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । शत्रुसँग घाँटी जोड्छ ’ओलीले भनेका थिए ‘बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो ।

२०७७ फागुनमा तत्कालीन नेकपा र गत भदौमा एमाले विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति पनि ओली बढी आक्रमक देखिँदै आएका थिए । उनको आरोप र गालीको निशाना अहिले कांग्रेस र प्रधानमन्त्री देउवा बनेका छन् ।

गत मंगलबार कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले पाँच दलीय सत्तारुढ गठबन्धनलाई तल्लो तहसम्म लैजाने र स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट नै अर्थात चैत १६ मा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले ‘लोभपापीहरु’सँग गठबन्धन गर्न सजिलो नभएको बताएका थिए । ‘गठबन्धन गर्छौं भनेका छन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’ ओलीले भनेका थिए ।

चुनाव नजिकिँदै गर्दा ओली यसरी आक्रामक बन्नुको पछाडि गठबन्धन नै रहेको ठान्छन् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्ग केसी पनि । आसन्न स्थानीय तह चुनावमा प्रमुख प्रतिस्पर्धा हुने भएकाले कांग्रेसप्रति उनी बढी आक्रमक भएको केसीको बुझाइ छ ।

‘छुटिएर गएका दुई नेता र पार्टीमाथि आक्रमण छँदै छ । पछिल्लो समयमा कांग्रेस र देउवामाथि प्रहार हुनुमा आगामी चुनावमा मुख्य प्रतिस्पर्धा हुने शक्तिको कारण भएको हो’ केसीले भने, ‘एमसीसी परिघटनामा कांग्रेस र एमालेभित्रको सामिप्यताको कुरामा जुन रुपमा बहस छलफल भएका थिए तर परिणाम चाँहि फरक ढंगको देखियो । कांग्रेसले सत्तारुढ दलका नेताहरु र पार्टीलाई मात्रै ठीक ठाउँमा मात्रै ल्याउनका लागि एमाले कार्ड खेल्ने काम भएको बुझाइ एमाले नेतृत्वमा हुनसक्छ ।’

त्यसो त अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र खटपट बढेपछि कांग्रेस र एमालेबीच सहकार्यको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा आफैं पटक पटक ओली निवास बालकोट पुगेर छलफल गरेका थिए । दुवै राजनीतिक दलबीच सहकार्यको विषयमा छलफल भएको थियो । सत्तारुढ गठबन्धनभित्रका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी अनुमोदन गर्न तयार भएपछि अन्तत: एमाले र कांग्रेसबीचको सहकार्यको छलफल टुटेको हो । त्यस लगत्तै पनि ओली माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालप्रति बढी आक्रमक देखिएका थिए ।

ओलीसँगै अन्य दलका नेताहरू पनि सैद्धान्तिक विमर्श र बहस छाडेर पछिल्लो समय गाली र आरोप प्रत्यारोपमा भिड्नु दुर्भाग्यपूर्ण भएको बताउँछन् प्राध्यापक केसी । ‘नेपालका राजनीतिक दल तथा नेताहरुको प्रवृत्ति हेर्दा नीतिगत कुरामा भन्दा पनि व्यक्तिगत आपेक्षमा हुने गरेको छ । जुन दुर्भाग्यपूर्ण छ । राष्ट्रिय आवश्यकता, प्राथमिकतामा बहस गर्ने जनमत निर्माण नहुँदा पनि सबै नेताहरू व्यक्तिगत आपेक्षमा लागेका छन् ।’

साभार : मणि दाहाल https://ekantipur.com/news/2022/04/04/164908697275625541.html

प्रतिक्रिया दिनुहोस !