
- अशोक कुमार राई
नेपाल बहुजाति बहुभाषी संस्कार संस्कृतिले भरिपूर्ण देश हो । यहाँ बसोबास गर्ने विविध जातजातिहरूको आ–आफ्नै भाषाभेष, परम्परागत संस्कार संस्कृति नै हाम्रा सबै भन्दा ठूला सम्पत्ति हुन् भन्नेमा दुई मत नरहला । यिनै संस्कार संस्कृतिसँग जोडिएको छ हाम्रो मौलिक गीत संगीत र बाजाहरू पनि ।
बर्तमान अवस्थामा मौलिक गीतसंगीत लोकभाकाहरूसँगै हाम्रा बाध्य सामाग्रीहरू पनि बिस्तारै बिस्तारै लोपोन्मुख हुँदै गएको अवस्थामा छन् । जुन राष्ट्र र आउँदो पुस्ताका लागि दुर्भाग्यपूर्ण अबस्था हो । बाजासँगै बाजा बजाउन जान्ने जन शक्तिको पनि बिस्तारै अभाव हुँदै गएको छ । यसको मुख्य कारण ब्यबस्थित रुपमा प्रशिक्षण तथा मौलिक बाजाहरूको व्यावसायीकरण हुन नसक्नु नै हो ।
बाजा बजाउन जान्ने दक्ष जनशक्ति उत्पादनका लागि पर्याप्त प्रशिक्षण तथा पाठ्यपुस्तक उपलब्ध नहुनु, सैद्धान्तिक तथा प्राबिधिक ज्ञानयुक्त प्रशिक्षकहरूको कमी हुनु पनि यसका अप्ठ्यारा पक्षहरू हुन । यस्तै अप्ठ्यारा पक्षहरूलाई मध्ये नजर गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मौलिक नेपाली बाजा बजाउन सिक्ने र सिकाउने पाठ्यसामाग्री तयार पार्ने काममा लागि रहेको छ । जसमा च्याब्रुङ, ढोल (राई समुदाय), ढोल (धिमाल समुदाय), ढोलक, धिमे, डम्फु, मादल, खैजडि, बिनायो, मुर्चुङ्गा, सनाई, सारर्ङ्गी, टुङ्ना, पियुङ, बासुरी गरि १४ प्रकारका बाजाहरू कसरी सिक्ने र सिकाउने तरीका समावेश गरिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीत विभाग प्रमुख अशोक कुमार राईले दिनु भएको जानकारी अनुसार यो पाठ्यसामाग्री पहिलो भाग भएकोले प्रारम्भिक रुपमा अत्यन्तै सरल र सजिलो भाषामा सैद्धान्तिक तथा ब्याबहारिक ज्ञान कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफल र सम्बन्धित बिषय विज्ञको सल्लाह बमोजिम नै तयार गर्न लागिएको छ ।
प्रचलित र परम्परागत बाजाहरू बजाउन जान्ने जन शक्तिहरू नेपालमा हुँदै नभएका पनि होइनन् तर सैद्धान्तिक र ब्याबहारिक ज्ञान भने अति नै कम मात्रामा भएको पाईएको छ । जसले गर्दा आउँदो पुस्तालाई दक्ष तथा व्यावसायिक बनाउन समस्या परेको देखिन्छ ।
योजनाः
आगामि आर्थिक बर्षदेखि यसै पुस्तकको माध्यमद्वारा यस्ता सामस्याहरूको समाधान र ब्यबस्थापनका लागि “प्रदेश स्तरीय मौलिक नेपाली बाजा प्रशिक्षण २०७८” योजना तयार गरिएको छ । जुन प्रत्येक प्रदेशमा प्रदेश अनुसार कम्तिमा ३ ठाउँमा भिन्दा भिन्दै बाजाहरूको प्रशिक्षण कार्यक्रम संचालन गरिने योजना रहेको छ ।
मुख्य उद्देश्यः
सिपमुलक र दक्ष बाद्यबादकहरूको जनशक्ति उत्पादन ।
नेपाली मौलिक बाजाहरूको अर्केष्ट्रा तयार गर्नको लागि प्रसस्त दक्ष जन शक्तिको उत्पादन ।
आफ्नो मौलिक बाजा बजाउन, ब्यबस्थित साङ्गीतको ज्ञान आर्जन र आफ्ना भावी पुस्तालाई प्रशिक्षित गरी एक घर एक संगीतज्ञको व्यवसायिक उत्पादन ।
चुनौतीः
यो महत्वकांक्षी योजना सफल बनाउन आर्थिक व्यवस्थापन साथै धेरै जनसहभागिता र यससँग सम्बन्धित बिद्यालय, संघ संस्था आदिको अति धेरै सहयोगको आवश्यकता पर्दछ ।
प्रशिक्षण संचालन गर्दा कसरी कुन ढङ्गले बहुउपयोगी हुन सक्छ ? यसका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीत विभाग सम्बन्धित पक्षसँग आवश्यक सल्लाह सुझावको समेत आशा अपेक्षा राख्दछ ।
(लेखक राई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संगीत विभाग प्रमुख हुनुहुन्छ ।)