• नमोबुद्ध संवाददाता

बरिष्ठ संगीतकार अम्बर गुरुङको ८३ औं जन्मजयन्ति कला साधना र उहाँको योगदानको स्मरण गर्दै शुक्रबार मनाईएको छ । विशेष रुपमा गीत संगीत तथा कला क्षेत्रले गुरुङको सम्झना गरेका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार गुरुङको जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आयोजना गरेको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो । कुलपति रायनले अम्बर गुरुङका असल कर्महरुलाई थोरै भए पनि अनुकरण गर्न सक्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने बताउनु भयो ।

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व रहेको बताउनुभयो । उहाँले अम्बर गुरुङलाई आप्mनो जीवननै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले स्वर, संगीत र शब्द सबैमा पोख्त गुरुङ एक विशिष्ट साधक रहेको तर्क गर्नुभयो ।

वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उहाँको जीवन संघर्षका बारेमा जानकारी गराउनुभयो । नौलाखा तारा उदायो…बाट चर्चा कमाउन सफल भए पनि सङ्गीत क्षेत्रबाट जीविकोपार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषि कर्मतर्फ लाग्ने सोच बनाइरहँदा शंकर लामिछानेको संगतपछि फेरि सङ्गीतकर्मलाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले उहाले सङ्गीत सिर्जन गर्नु भएका निकै लोकप्रिय हे कान्छा…, म अम्बर तिमी धर्ती, समालेर राख संगालेर राख…, होसियार, समयको भिडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैन जस्ता गीतहरुभित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै गुरुङ शब्द, सङ्गीत र स्वरको त्रिवेणी रहेको दावी गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटको सहजिकरणमा भएको कार्यक्रममा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईले सङ्गीत संयोजन गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरु संजय तुम्रोक, दुर्गा परियार, रुपक चौधरीले अम्बर गुरुङको संगीतमा रहेको रातो र चन्द्र सूर्य ..बोलको गीत प्रस्तुत गर्नु भयो । त्यसैगरी कार्यक्रममा प्राज्ञ भरत नेपाली, धन बहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखा तारा आकाशमा.., हे कान्छा..लगायतका अम्बर गुरुङद्वारा सिर्जित धूनहरु प्रस्तुत भएका थिए ।

गोरखाका उजुरीसिंह गुरुङ भारतीय सेनामा भर्ती भएपछि तिनै उजुरी सिंह र आमा रेणुकादेवीको कोखबाट १९९४ फागुन १४ मा दार्जिलङमा जन्मिनुभएका अम्बर नेपाल फर्केपछि नेपाली संगीत सृजनामा झनै क्रियाशिल हुनुहुन्थ्यो । गुरुङको मधुमेह,पार्किन्सन्स लगायतका रोगबाट २०७३ जेठ १५ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !