• नमोबुद्ध संवाददाता,

काठमाडौं–अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव मनाएको छ । महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर गर्नुभयो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मातृभाषाहरूको संरक्षण र सम्वद्र्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्विकार्न गाह्रो हुन्छ,” उहाँले भन्नुभयो– “बिस्तारै विभिन्न जातजातिको मौलिक भाषा बोल्नेको संख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने सङ्घारमा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलता, बुहभाषा र बहुसंस्कृति मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै विविध संस्कार, संस्कृति र भाषा भएको धारणा व्यक्त गर्नुभयो ।

यस वर्ष प्रज्ञा–प्रतिष्ठान र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)ले ‘शिक्षा र समाजमा समावेशीकरणको लागि बहुभाषिकताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मातृभाष दिवस मनाएको हो ।
कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवम् मातृभाषी समूहको पहिचानसहितको भेषभुषा र सांस्कृतिक विशेषता झल्कने बाजागाजासहितको झाँकी प्रदर्शन गरिएको थियो ।

विगतका वर्षहरूमा मुलुकभरिका प्रतिनिधित्व गरी आएका झाँँकी समूहको प्रदर्शन राजधानीका घण्टाघर, बागबजार, पुत्तलीसडक, रत्नपार्क हुँदै प्रज्ञा–प्रतिष्ठान आइपुग्थ्यो तर यस वर्ष कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणबाट मञ्चसम्म मात्रै सीमित रह्यो । मातृभाषा दिवसको अवसरमा वर्षेनी जस्तै यस वर्ष पनि प्रज्ञा–प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव मनाइएको छ ।

महोत्सवको लागि प्राप्त भएका ५६ भाषाका १ सय ५४ वटा कवितामध्ये ७० वटा कविता वाचनका लागि छनोट गरिएको महोत्सवका संयोजक तथा साहित्य (मातृभाषा साहित्य)विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले बताउनुभयो ।

कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथला महान्’ शीर्षकको कविता वाचन गरेपछि सुरु भएको प्रस्तुतिमा अवधि, वाम्बुले राई, माझी, दुङ्माली राई, माझी, थामी, तामाङ, लिम्बू, राजबंशी, उर्दु, भोजुरी, थारु लगायतका भाषामा कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !