पछिल्ला तामाङ गीतसंगीतको गति किन यस्तो ?
- नमोबुद्ध संवाददाता,
काठमाडौं–आजको सूचनाको युगमा भित्रिएको डिजिटल प्रविधि कुनै समुदायको पहिचान र अस्तीत्वका लागि यो मानेमा बरदान सावित हुनेछ,जब व्यापक मात्रामा प्रयोग हुन्छ,यसको प्रयोगमार्फत अग्र्यानिक लोक जीवनशैली,संगीत,संस्कृति,भाषाको खोजी,प्रयोग र अभिलेखीकरण हुन्छ ।
तामाङ समुदायमा प्रचलित विविध संस्कृति र संस्कारको उजागर गरी पहिचान थप स्थापीत गराउन अचेल गीत संगीत क्षेत्रमा भित्रिएको डिजिटल प्रविधिको प्रयोग निकै महत्वपूर्ण देखिन्छ । यो समुदायमा संगीत संस्कृति व्यापक फराकिलो देखिन्छ,यो आजसम्मको लोक जीवनले नै स्पष्ट पार्दछ तर यसको खोज अनुसन्धान र प्रयोगमार्फत बजारीकरण तथा बलियो अभिलेखीकरण भने फितलो देखिएको जानकारहरु बताउँछन् । तामाङ संस्कृति संरक्षणका नाम भजाईएका सिर्जनाहरु त्यत्तिकै कमजोर नदेखिएका हैनन् ।
यिनै सन्दर्भमा हालै सार्वजनिक गरिएको ‘छेवार गीत–माछा त मारी सितारा’ को सकारात्मक प्रयास हो तर शिर्षकअनुसार तामाङ समुदायमा भाञ्जालाई मामाले गर्ने छेवार र यसको महत्व उजागर गर्न गीत तथा भिडियो केन्द्रित हुनुपर्ने थियो । यस्तो अलि नदेखिएपछि गहकिलो र ओझिलो प्रस्तुतीकरण नभएको भनि गीत सार्वजनिक समारोहमा नै सहभागिहरुले टिप्पणी गरे ।
“प्रयास राम्रो छ तर शीर्षक अनुसार अझै यसलाई राम्रो गर्न सकिन्थ्यो की !”–राजनीतिक करिअर निर्माण हुदै गर्दाताका समय दशक लामो सांस्कृतिक जागरण अभियानमा होमिएका हाल प्रतिनिधिसभा सदस्य(सांसद) कृष्ण राईले गीत सार्वजनिक गर्दै भन्नुभयो–“म तामाङको भाञ्जा भएकोले मामाघर जाँदा धेरै कुरा देख्न पाएँ,ति मौलिक पाटोहरु बलियो रुपमा प्रस्तुत गर्न सकिन्थ्यो ।”
युवा गायक सुवास तामाङको गायकीलाई भने आफूले नजिकबाट नियालेको उल्लेख गर्दै सांसद राईले सुवास मिठो स्वरको धनी रहेको बताउनुभयो । उहाँले ‘छेवार गीत’ उल्लेख गर्नुभन्दा तामाङ भाषामै ‘छेवार ह्वाअी’ भनेर यो गीतको प्रवद्र्धनात्मक कार्य भएको भए सुनमा सुगन्ध थपिने धारणा पनि व्यक्त गर्नुभयो ।
नेपाली मौलिक संगीतका जानकार सांसद राईको यो धारणा ‘छेवार गीत’ को सवालमा मात्रै सान्दर्भिक छैन । प्रत्येक हप्ताझैं निकै उत्साहसाथ भिडियोसहित सार्वजनिक हुने अन्य तामाङ गीत संगीतहरुको गति पनि यहि हो भन्दा अन्यथा नहोला ।
अरु तामाङ सेलो गीतहरुमा झैं यो ‘छेवार गीत’ मा पनि शव्द सिर्जना र भिडियो प्रस्तुतीकरणमा साधनाको विषय मुख्य हो । बोक्रो हेरेर कत्ति पनि अनुमान मिल्दैन तामाङ गीत संगीत र चलचित्रमा । बाहिर देख्दा जत्ति उत्साह जगाउँछ,भित्रि पाटोले उत्तिनै खिन्नता बढाउँछ ।
‘छेवार गीत’ मा पनि उस्तै झल्को छ । छेवार गीत भनिएको छ तर छेवार परम्पराको मुख्य पाटो अलि फितलो रुपमा पस्किएको छ । छेवार गीत भनेर तरुण तरुणीको दोहोरी चक्करमा गीत र भिडियो घुमेको देखिन्छ । सुन्दै हेर्दै जाँदा सार तत्व आउलाकी जस्तो हुन्छ तर घुम्दै फिर्दै मायाप्रेम र ख्यालठट्टामै गएर टुंगिन्छ ।
यद्यपी तामाङ समुदायमा हुने विवाह,जात्रामेला,छेवार जस्ता कार्यहरुमा यस्तो सेलो दोहोरी परम्परा भने हुन्छ नै,यो हिसावमा ‘छेवार गीत’ छेवारको एक पाटोचाँहि पक्कै हो तर शीर्षकलाई चरितार्थ गर्न भने शब्दकार र भिडियो निर्देशकले पसिना चुहाउनैपर्ने थियो ।
गायक सुवासले आफू संगीत क्षेत्रमा संघर्षरत रहेको बताउँदै आगामी आफ्ना सिर्जनाहरु थप ओझपूर्ण बनाउदै लैजाने प्रतिवद्धता जनाउनुभयो । तामाङ कलाकार संघका कोषाध्यक्ष समेत रहेका सुवासको गायकी क्षमतालाई भने सांसद राईदेखी सहभागि अन्यले पनि प्रशंसा गरे ।
यिनै गीत सार्वजनिक कार्यक्रमका विशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले तामाङ गीत संगीतको विकासले उचाई लिएकोमा आफू गौरवान्वित भएको बताउनुभयो ।
दोङले तामाङ समुदायको गीत संगीत विमोचनका हरेक कार्यक्रमहरुमा पुग्दा सोलोडोलोमा यस्तै सकारात्मक प्रशंसा मात्रै गर्ने गर्नुहुन्छ । अबको तामाङ गीतसंगीतको बाटोबारे मौन रहने गरेकोप्रति भने तामाङ गीत संगीत र संस्कृति चिन्तकहरुलाई चित्त बुझेको छैन ।
“चन्द्रकुमार दोङ तामाङ गीत संगीतको जीउँदो इतिहास हुनुहुन्छ,अभिभावक हुनुहुन्छ,नयाँ पुस्तालाई आजसम्म हामी यसरी आईपुग्यौं अब हाम्रो बाटो यस्तो हुनुपर्छ की भन्ने सुझाव दिन किन अन्कनाउनुहुन्छ ?”–तामाङ सेलो संगीतका एक मर्मज्ञ भन्छन् । सायद सत्य यथार्थ कुरा गर्दा यस क्षेत्रका व्यक्तिहरु आफूमाथि खनिने डरले पनि दोङ खुलेर प्रस्तुत नभएको आंकलन गरिएको छ ।
‘छेवार गीत’ का शब्दकार बैरागी मोक्तान हुनुहुन्छ,मोक्तान स्वयंको संगीतमा गायकी सुवास तामाङ,शशिकला मोक्तान र बबिता पाख्रिनको छ । अजय स्याङतान र बाबुराजा केसी निर्देशित भिडियो संजय लामा र दुर्गा पौडेलले छायांकन गर्नुभएको हो ।
प्रेम लोप्चन,अमिर दोङ,कुइसाङ रुम्बा,खेम मोक्तान,मिलन थिङ,सुस्मा मोक्तान,पूर्णिमा थोकर,याङ्गी दोङ,पुष्पाञ्जली लोप्चन,दिपा घिसिङ,सैना तामाङ,प्रवल थिङ लगायका कलाकारहरुलाई फिचरांकन गरिएको यो गीतको भिडियोमा कोरियोग्राफी अजय स्याङतानको छ ।
तामाङ सिने क्षेत्रका दिग्गज कलाकारदेखी नव कलाकारसम्मको शसक्त टिमको प्रस्तुतीले गीतको भिडियो मनोरञ्जनमूलक भने पक्कै बनेको छ । भिडियो नाम्दु मिडियाको युट्युव च्यानलमा हेर्न सकिन्छ ।