
-
नमोबुद्ध संवाददाता,
तेमाल–नोवल कोरोना भाइरस कोभिड १९ का कारण ६ महिनासम्म बन्द रहेका तेमालका सामुदायिक विदालयहरुमा पठनपाठन सुचारु गरेसँगै अनुमगन पनि थालिएको छ ।
असोज १ गते प्रधानाध्यापकहरुसहितको बैठक गरेपछि तत्काल विद्यालयको प्रशासन खुल्ला गर्न निर्देशन दिएको पालिकाले असोज ६ गतेदेखी पठनपाठन सुचारु गर्न उपयुक्त हुने निश्कर्ष निकाल्दै पठनपाठन सुचारु गर्न भनेको थियो ।
यसमुताविक भए नभएको हेर्न,विद्यालय र विद्यार्थीहरुको समस्या जानकारी लिई समाधानको बाटो तय गर्न मंगलबारबाटनै अनुगमन थालेको पालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिनुभयोे ।
“परीक्षाको बेला मात्रै हैन अब हामी अरुबेला पनि विद्यालयहरुको अनुगमन गर्नेछौं,जसले विद्यार्थी,शिक्षक,अभिभावक र स्थानीय सरकारबीचको सम्बन्ध बिस्तार हुनुका साथै गुणात्मक शिक्षा हाँसील गराउन मद्दत पुग्नेछ ।”–तेमाल वडा नं. ०६ ठूलोपर्सेलका विद्यालयहरुको अनुगमन गर्नेक्रममा भेटिएका उपाध्यक्ष तामाङले भन्नुभयो–“लामो समय भयो,विद्यार्थीहरु विद्यालयमा आउन नपाएका,यो परीस्थितीलाई मध्यनजर गर्दै सचेत भई विद्यालय सञ्चालन गर्न अनुरोध गर्दछु ।”
विद्यालय सञ्चालनमा हौसला बढाउन पनि आफुहरु अनुगमनमा निस्केको उहाँको भनाई छ । तेमालका ९ वटै वडाका सबै ४१ विद्यालयहरुको अनुगमन गरिने उहाँले जनाउनुभयो ।
“प्रत्येक ७ दिनमा विद्यार्थीको स्वास्थ्य परीक्षणको व्यवस्था गर्छौं”
गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले तेमाल अहिलेसम्म कोरोनामुक्त रहेको जानकारी दिदै नआत्तिकन पठनपाठनमा लाग्न स्थानीय विद्यालयहरुलाई अनुरोध गर्नुभयो ।
“विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल राखी अनिवार्य सेनिटाइजर प्रयोग गर्ने गराउने,सावुन पानीले हात धुने जस्ता सरसफाई क्रियाकलापमा ध्यान दिनुपर्यो,सकिन्छ भने हरेक दिन १५ मिनेटजति स्वास्थ्य सचेतना कक्षा पनि सञ्चालन गरे राम्रो हुन्छ ।”,उहाँले भन्नुभयो–“धेरै चिन्ता लिनु परेन हामी प्रत्येक सात दिनमा विद्यालर्थीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्नेछौं,थर्मलगनको व्यवस्था हुन्छ,रुघा लागेको वा ९९ फरेनहाइट भन्दा माथि ज्वरो आएको भए ती विद्यार्थीलाई घरमै फर्काउने गर्नुपर्यो,जसले गर्दा सामान्य रोगनै भएपनि अरु विद्यार्थीलाई संक्रम हुन पाउँदैन ।”
यद्यपी सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि कोरोना संक्रमण नभित्रिएला भन्न नसकिने जनाउँदै उपाध्यक्ष तामाङले प्रतिकुल स्थिती आए त्यसको सामना गर्न पालिका बैकल्पीक तयारी अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।
एकै दिन ५ विद्यालयको अनुगमन
तेमालका अधिकांश विद्यालयमा पठनपाठन सुचारु भएका छन् । एकाध ठाउँमा वडा शिक्षा समितिको बैठक बस्न बाँकी भएकोले पठनपाठन सुचारु हुने क्रममा रहेको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । मंगलबार अनुगमन गरेका ठूलोपर्सेलका सबै विद्यालहरुमा पठनपाठन सुचारु भएको पाईएको शिक्षा अधिकृत केदार प्रसाद ढकालले बताउनुभयो । पालिकाको यो शैक्षिक सत्रको पहिलो अनुगमनको सुरुवात यहाँका विद्यालहरुबाट गरिएको हो ।
पालिका उपाध्यक्ष तामाङ,शिक्षा अधिकृत ढकाल,वडाध्यक्ष विकुलाल तामाङ,कानुनी सहजकर्ता सरस्वती त्रिपाठी लगायतको टोलीले कालीदेवी प्रावि सिंगटी,सुनकन्या प्रावि माथिल्लो छाप,निर्मला प्रावि पुर्खाङडाँडा,बुद्ध कोल्तोङ प्रावि सानागाउँ र पञ्चकन्या मावि पँधेराटोलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विद्यालयको प्राय सबै पाटो राम्रो देखिएको शिक्षा अधिकृत ढकालले बताउनुभयो । पालिका उपाध्यक्ष तामाङले निर्मला प्राविबाहेक अन्य विद्यालयहरुमा भने विद्यार्थी संख्या घट्दो देखिएको उल्लेख गर्दै शिक्षण वातावरण निर्माण गरी विद्यार्थीको ध्यान तान्न अनुरोध गर्नुभयो ।
“थुप्रै विद्यार्थीहरु हिजो शहरका नीजि विद्यालयमा पढेका थिए,तीनिहरु गाउँघरमै आएर बसिरहेका छन्,कोरोनाको कहर यसै भन्न नसकिने भएकोले उनीहरु तत्काल शहर फर्किने अवस्थामा छैनन्,उनीहरुको ध्यान हाम्रा विद्यालतीर तान्न जरुरी छ,यतै पढाउने वातावरण मिलाउन म अनुरोध गर्छु ।”
निर्मला प्राविका प्रधानाध्यापक अशोक लामाले बेलाबेलामा स्थानीय सरकारबाट विद्यालयहरुको अनुगमन गरे आफुहरुलाई पनि उर्जा मिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“आज यहाँहरु आउनुभयो खुसी लाग्यो,हामी पालिकाको उपयुक्त निर्देशनको पर्खाईमा थियौं,निर्देशन आएपछि विद्यालयको पठनपाठन सुचारु गरेका छौं ।”
सरकारको सेवा सुविधा लिएर यति लामो समय विद्यालयको काम नगरी बस्दा नरमाईलो लागेको भन्दै उहाँले कोरोना महामारीबाट सावधानी अपनाउँदै विद्यालय सञ्चालनमा ल्याउन पाउनु राम्रो भएको प्रतिक्रिया दिनुभयो ।
“घर पायक जागीर हुन्छ,ढुक्कले पढाउनुहोस्”
तेमालमा दरबन्दी मिलानको प्रसंग उठाउँदै उपाध्यक्ष तामाङले यो विषयले पठनपाठन वातावरण तलमाथि हुन नहुनेमा जोड दिनुभयो ।
शिक्षकहरुलाई आफ्ना जागीरको पनि चिन्ता हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले शिक्षकहरुलाई सकेसम्म घरपायक पर्ने गरी दरबन्दी मिलाउने प्रतिवद्धता जनाउनुभयो ।
“तेमालबाट हामीले ३८ प्रावि शिक्षक बाहिर पठाउनुपर्ने देखिन्छ तर हामीसँग २५ मावि र ४० निमावि शिक्षक आउनुपर्ने कोटा पनि रहेकोले पहिला त्यो कोटा प्राप्त भएपछि मिलाउने अभ्यास गर्दैछौं,जसले गर्दा आफूले शिक्षण गरिरहेका विद्यालय छोड्नुपर्दैन भन्ने हाम्रो ठम्याई हो,निर्धक्क पठनपाठनतीर लाग्नुहोस्,घरपायक जागीर हुन्छ,निर्देशिकाले दिएअनुसार जे गर्दा राम्रो हुन्छ त्यो गरौंला,हामी दरबन्दी मिलाउने काम कात्तिकभित्र सकाउँछौं ।”
स्थानीय हावापानी,विद्यार्थी,उनीहरुका समस्या र समस्या समाधानको पाटोसँग अभ्यस्त भइसकेका शिक्षकहरु बाहिर पठाउँदा तेमालको शिक्षा क्षेत्रले घाटा बेहोर्नुपर्नेतर्फ सचेत हुदै सकेसम्म तेमालका शिक्षकहरुलाई बाहिर पठाउन नहुने उपाध्यक्ष तामाङको धारणा छ ।