
-
नमोबुद्ध संवाददाता,
काठमाडौं–कुनै पनि नीति,योजना,कार्यक्रम र बजेट निर्माणमार्फत मुलुकको विकासमा जनगणनाको महत्वपूर्ण भुमिका हुन्छ । यसका लागि साँचो तथ्यपूर्ण जनगणना अपरिहार्य मानिन्छ । नेपालमा हरेक दश वर्षमा हुदै आएको जनगणना कार्यक्रमको पूवृसन्ध्यामा यसबारे छलफल,अन्तरक्रियाको आवश्यकता महसुस गरिएको छ ।
यीनै सन्दर्भमा हालै ‘मेरो गणना,मेरो सहभागीता’ भन्ने ध्येयसहित हुन लागेको आगामी जनगणना २०७८ मा तामाङ समुदायको सवालबारे अन्तर्क्रिया सम्पन्न भएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङले मानवशास्त्री डा.मुक्त सिं लामा,प्रा.डा.योगेन्द्र गुरुङ,नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,केन्द्रिय तथ्यांक विभाग,जनसंख्या शाखाका निर्देशक दुण्डीराज लामिछाने लगायतका महत्वपूर्ण व्यक्तित्वहरुलाई वक्ताको रुपमा सहभागि गराई मंगलबार भर्चुअल अन्तरक्रिया गरेको हो ।
नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष दिनेश तामाङले सहजिकरण गरेको कार्यक्रममा प्रा.डा.योगेन्द्र गुरुङले कार्यपत्र प्रश्तुतीकरण गर्नुभयो र त्यसमाथि व्यापक छलफल भयो ।
गुरुङले जनगणना गुणस्तरीयताका लागि तथ्य कुरा आउनुपर्नेमा जोड दिनुभयो । यसका लागि उहाँले विभिन्न तामाङ,आदिवासी जनजातीका संघसंस्थाहरुको प्रभाबकारी भुमिकाको खाँचो औंल्याउनुभयो । तामाङ समुदायले थरमा पनि तामाङ लेख्दा समुदायको यकिन तथ्यांक आउन ठूलो मद्धत पुग्ने उहाँको भनाई थियो । साथै आफ्ना पहिचान संरक्षणका लागि मातृ भाषा बोल्नु पर्नेमा पनि जोड दिनुभयो ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले अझै पनि राज्य र सम्बन्धित निकायसँग बिश्वसनियता कम भएकोले यसतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो । विगतमा जस्तो लापरवाहीपूर्ण व्यवहार राज्यले अब आउने जनगणनामा नदोहोर्याउन् भन्दै उहाँले यसप्रति खबरदारी कायम राख्नुपर्ने बताउनुभयो ।
मानवशास्त्री डा. मुक्त सि. लामाले हाम्रो जनगणना आफ्नो जनगणना भएको बोध हामी आफैंमा हुनुपर्ने तर्क गर्नुभयो । यसका लागि सबै समुदाय आ–आफैं लागि पर्नुपर्ने र यसलाई प्रभाबकारी बनाउन सम्बन्धित निकायले विभिन्न तालिम ,गोष्टी र सेमिनार संचालन गर्नुपर्ने उहाँको भनाई थियो । जनगणना अभियानमा समुदायका महत्वपूर्ण अंगहरुलाई सहभागि गराई तथ्यगत कुरा समेट्नेतर्फ राज्यले जोड दिनुपर्ने उहाँको धारणा थियो ।
केन्द्रिय तथ्यांक विभाग,जनसंख्या शाखाका निर्देशक लामिछानेले जनगणना सरकार र तथ्यांक विभाग एवम् जनसंख्या शाखाको मात्रा नभएर हामी सबैको भएको उल्लेख गर्दै यसमा सबै तहतप्काको भुमिका रहनुपर्ने बताउनुभयो । नेपाल तामाङ विद्यार्थी घेदुङ जस्ता संघ संस्थाहरुको समन्वय र सहकार्य रहेमा जनगणनाको गुणस्तरीयतामा प्रश्न कम उठ्ने दावी उहाँको थियो ।
अन्तरक्रियामा सहभागी अधिकांशले तामाङ समुदायले तामाङ थर लेख्नुपर्ने बताए । साथै गणकमा आफ्नो समुदायका व्यक्तिहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
तामाङ बिद्यार्थी घेदुङका अध्यक्ष दिनेश लोले यो कार्यक्रमबाट आएको सुझाब,सल्लाह र निष्कर्षलाई प्रतिबेदन बनाउँदै उचित कार्यन्वयनका लागि पहलस्वरुप सबै स्थानीय सरकार ,सम्बन्धित मन्त्रालय तथा सम्बन्धित निकायलाई यथासिघ्र बुझाउने जानकारी दिनुभयो ।
अध्यक्ष लोका अनुसार कार्यक्रममा तामाङ समुदायका क्रियाशिल अभियन्तादेखी उल्लेख्य रुपमा सञ्चारकर्मीहरु सहभागि थिए । नोवल कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण भर्चुअल अन्तरक्रिया गरेको उहाँले स्पष्ट पार्नुभयो ।
अनलाइन भर्चुअल कार्यक्रम भएकोले नेपाल लगायत विश्वका थुप्रै तामाङ समुदायमाझ आगामी जनगणनामा तामाङको सवालबारे सकारात्मक सन्देश प्रवाह भएको अध्यक्ष लोको दावी छ ।