-
नमोबुद्ध संवाददाता,
धुलिखेल–राणाकालमा तामाङलाई ‘काठभुटिया’,‘मुर्मि भोट्या’, ‘लामाभोटे’, ‘भोट्या’, ‘भोटिया’ ‘मुर्मी’, ‘इसाङ’ ‘सैं’ जस्ता विभिन्न हेपाहा शब्दावली प्रयोग गरिन्थे । तिनै क्रुर राणाकालमा सरदार बहादुर सुबेदार मेजर जंगवीर लामाले ‘तामाङ’ लेख्न र बोल्न पाउँ भनि गरेको पहलमाथि इस्तिहार जारी गरिए पश्चात यो समुदायले आफ्नो पहिचान पाएका हुन् । त्यो दिन हो भदौ ६ बि.स. १९८९ । त्यसै दिनदेखि नेपालको सरकारी कार्यालय र अन्यत्र पनि तामाङ शब्दको आधिकारीक प्रयोग हुन थालेको हो ।
तामाङ समुदायले आफ्नो पहिचान पाएको भन्दै पछिल्लो समय प्रत्येक वर्ष भदौ ६ गते तामाङ पहिचान दिवस मनाउदै आएको छ । यिनै एतिहासीक दिनको सम्झनामा हरेक वर्ष हुदै आएको ‘तामाङ ज्ञान महोत्सव’ यो पटक पनि हुदैछ ।
८८ औ तामाङ पहिचान दिवसको अवसरमा शनिबार भदौ ६ देखी ८ गतेसम्म आयोजना हुने पाँचौं तामाङ ज्ञान महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
यस वर्षको कार्यक्रम अनलाइन प्रविधिमार्फत गरिने भएकोले विश्वका कुनाकुना र घरघरका तामाङ समुदाय लाभान्वित हुने दावी छ ।
तामाङ न्हाङखोर,तामाङ डाजाङ र कर्तव्य फाउण्डेशन मिलेर गर्न लागेको यस महोत्सवमा तामाङ पहिचानसँग सम्बन्धित विभिन्न क्षेत्रका प्राध्यापक, समालोचक, विद्धान तथा विद्यार्थीहरुबाट समेत गरी ३० वटा कार्यपत्र प्रस्तत हुनेछन् । यसका साथै ुतामाङ विकासका मोडल र कार्यन्वयन पक्ष,तामाङ वालसाहित्यमा अनुवादका चुनौती र ‘तामाङ डायस्पोरा : मुद्धा र चुनौती’ जस्ता विषयमा तीन वटा सत्र सञ्चालन हुने तामाङ न्हाङखोरका अध्यक्ष अमृत योञ्जनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार यि कार्यपत्र र वहसमा नेपालका अतिरिक्त भारत, अकेरिका,युके,जापानबाट पनि सहभागी हुदैछन् ।
नोवल कोरोना भाइरस(कोभिड–१९) का कारण यो पटक कुनै खास स्थानमा औपचारिक भेला तथा सभासमारोह नगरी अनलाइन प्रविधिको प्रयोगमार्फत महोत्सव गर्न लागिएको अध्यक्ष योञ्जनले बताउनुभयो ।
यस वर्षको कार्यक्रम अनलाइन प्रविधिमार्फत गरिने भएकोले विश्वका कुनाकुना र घरघरका तामाङ समुदाय लाभान्वित हुने उहाँको दावी छ ।
जापानका लागि नेपालका पूर्व राजदुत डा. गणेश योञ्जनद्धारा उद्घाटन गरिने सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ लक्ष्मी माली,अन्तराष्टिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा लगायतले सम्बोधन गर्नुहुनेछ ।
यसका साथै ‘कि नोट स्पिकर’को रुपमा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका सुप्रशिद्ध प्रा.डा.महेन्द्र पी लामाबाट विशेष सम्बेधन हुनेछ । समापन समारोहमा भने उत्तर वंगाल विश्वविद्यालयका सह(प्रध्यापक डा.सदास लामा तामाङबाट कार्यक्रमको समीक्षा प्रस्तुती र नेपाल तामाङ घेदङका अध्यक्ष मोहन गोलेबाट पनि सम्बोधन हुने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार पहिलो दिनको कार्यक्रम अपराह्न ३ बजेदेखी सुरु हुनेछ,बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । दोस्रो दिन ४ बजेदेखी ९ बजेसम्म र तेस्रो दिन पहिलो दिनकै समय तालिका अनुसार कार्यक्रम गरी समापन गरिनेछ ।