• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेपालको प्रदेश एकमा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजाहरूसम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ । विविध संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको बसोबास रहेको यो क्षेत्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यस्तो अध्ययन–अनुसन्धान गर्ने तयारी गरेको हो ।

मानव सृष्टिको आरम्भदेखि नै मानिसले आविष्कार गरेर चाडपर्व, मेला, जात्रा आदिमा मनोरञ्जनका माध्यमका रूपमा प्रयोग गर्दै आएका लोक बाजाहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानको सङ्गीत विभागको संयोजनमा अध्ययन–अनुसन्धान गर्ने निर्णय गरिएको विभाग प्रमुख प्राज्ञ अशोक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानमा बाजाहरूको इतिहास, परिचय, ऐतिहासिक तथा सांंस्कृतिक पक्ष, बाजा प्रयोग गर्ने जाति, समुदाय र बाजाहरू पाइने क्षेत्रलाई समेटिने छ ।

“टुङ्ना, मादल, सारङ्गी, डम्फू, खैँजडी, सहनाई, दमाहा, ट्याम्को, बाँसुरी, ढोल, च्याबु्रङ,झ्याली, ढोलकी, नरसिङ्गा, कर्नाल, मुरली, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत मौलिक नेपाली लोकबाजाहरूको समाजमा विशिष्ट स्थान र पहिचान रहेकाले तिनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाएर युवा पुस्तालाई यसबारे सचेतना जगाउनु र बजारसँग जोड्नु आजको आवश्यकता हो ।”–प्राज्ञ राईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !