नमोबुद्ध संवाददाता
काठमाडौं–Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गरेको छ । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै आयोजित प्रतियोगितामा गैरलिम्बूसहितको उत्साहजनक सहभागिता देखिएको छ ।
हालसम्म १६० भन्दा बढि पाःलाम दर्ता भइसकेको आयोजकले जनाएको छ । जसमा ५६ वटा पाःलाम सार्वजानिक भइसकेका छन् । पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँअनलाइन टिभीको च्यानलमार्फत सार्वजानिक भएको हो । सार्वजनिक भएका पाःलाममा दर्शकहरूले लाइक, सेयर तथा कमेन्ट गर्नेहरूको लर्को पनि बढिरहेको छ ।
गैरलिम्बूभाषीहरूमा राई, विश्वकर्मा र अधिकारी जातिबाट छन् । अधिकारीको पाःलाम अपलोड हुन बाँकी छ भने राई र विश्वकर्माको पाःलाम अत्याधिक रुचाइदै आएको भिडियोबाट बुझ्न सकिन्छ ।
अझै पनि सहभागीहरूको संख्या बढिरहेकोले प्रत्येक दिन संख्या बढाउँदै अपलोड गरिएको आयोजकले जनाएको छ । नेपालबाहेक वैदेशिक रोजगारीमा गएका मुलुकहरू र सिक्किम, असम, युके, अमेरिकाबाट पनि सहभागीता जनाइरहेका छन् ।
पालाम प्रतियोगितामा विजेतालाई नगद रु ३० हजारसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार – नगद रु २५ हजार,प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार – नगद रु २० हजार, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिने भएको छ । त्यसैगरी विभिन्न शिर्षकमा सान्त्वना पुरस्कार पनि प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछ । निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथान संगीतका अभियन्ता झुमा लिम्बू छन् ।
पाःलाम जेष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ ।
कार्यक्रमको लागि मनिश सम्बाहाङ्फे, क्यानडा, शर्मिला यक्सो चोङ्बाङ, युके, तिलबिक्रम सम्बाहाम्फे, युके, विश्वासदीप तिगेला, युके, रोशन यक्सो, हङ्कङ, सुवर्ण नेम्बाङ, युके, टंक वनेम, युके, दिलसिंह मेन्याङ्बो, युके, आशिका देवान , हङ्कङ, दिल पालुङ्वा, युके, लोकेन्द्र तबेबुङ, युके, टंक सेलिङ, काठमाडौ, मुक्साम लाओती, जापान, चौबिसे संङ्यक ढाका उद्योग, धरान, रीता फोम्बो ठूली युके, देब+बिष्णुमाया हुक्पाचोङ्बाङ, युके र दिला सेलिङले प्रायोजन गरेका छन् । प्रतियोगिताको चुलिँदो चर्चाका कारण अझै पनि प्रायोजनको संख्या बढ्नसक्ने आयोजकले जनाएको छ ।
के हो पाःलाम ?
धाननाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रूपमा देखिने धाननाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ ।
पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजवाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ ।
पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रूपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ति गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।
पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् ।