सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ ।  यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।

१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।

यो  किराले न्यानो हावापानी मन पराउँछ । जहाँ बालुवा छ त्यस्तो जमिनमा यसले बढी अण्डा पार्न रुचाउँछ । साथै जहाँ समुद्री आँधी बढी हुन्छ, त्यस्ता ठाउँमा यसलाई टाढाटाढासम्म उडाउँछ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ ।

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक समितिको गठन

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।

श्रोतका अनुसार नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि बैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस !