• शिशिर दोङ :

तेमाल–विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले बजारमा चहलपहल छैन । यसको नकारात्मक असर नेपालको कृषि क्षेत्रमा परेको छ । कृषि उत्पादनले उपयुक्त बजार भाउ पाउन सकेको छैन । यस्तै चपेटामा परेका छन् काभ्रे तेमालका किसानहरु ।

२०५८⁄०५९ सालताका सिप्रेड नामक गैर सरकारी संस्थाको प्राबिधिक सहयोगमा यहाँका चुखा ,सर्सुखर्क,लामागाउ,अमलटारी लागयतका ठाँउका किसानहरुले ब्यवसायिक तरकारी खेतीको सुरुवात गरेका हुन् । यि क्षेत्रलाई हाल तेमाल गाउँपालिकाले प्रमुख तरकारी पकट क्षेत्रनै मानेको छ ।

ब्यवसायिक कृषि खेतीले स्थानिय किसानहरुको आर्थिक स्तर उकालो तिर उन्मुख भएको बखत यो कारोना विपत्ले निकै क्षति पुर्याएको स्थानीय सङ्ग्राम तामाङको भनाई छ । “हामीले गत २०७२ को विनासकारी भुकम्पको बेला पनि यो स्थिति सामना गर्नुपरेको थिएन तर यसपटक फलेको तरकारी खेतबारीमै कुहाउनुपरेको छ किनकी बजार ठप्प छ ।”

तरकारी बेच्न नपाएपछि छोराछोरीलाई आवश्यक खर्च तथा हातमुख जोड्न समेत कठिन परिस्थिती आएको स्थानिय रामहरी आलेको भनाई छ । तेमालको चुखा क्षेत्रमा यो सिजनमा करीव १० टन काक्रो र अन्य तरकारी बारीमानै राख्नु परेकाले किसानहरु निराश छन ।
स्थानिय भन्छन्–“उत्पादनको सुरुवाती चरणमानै लकडउनको प्रभावले हाम्रो लगानी डुबि सक्यो, अब कसरी उभो लाग्ने हो ? स्थानिय सरकारको ध्यान यतातिर गएको छैन ।”

जिल्ला नजिकैको टुकुचा बजार सिल गरेको र कालिमाटी बजारमा मात्रै बिक्री गर्न नसकेकोले गाउँको तरकारी संकलन नगरेको स्थानीय ब्यापारी कृष्णमान तामाङले बताउनु भयो । यत्तिबेला कामको सिलसिलामा शहरमा बस्ने अधिकांश नागरिक पनि गाउँमै छन् ।

तेमाल क्षेत्रमा लगभग दैनिक १४⁄१५ टन तरकारी हुन्छ । ती सबै तरकारी किसानको खेतबारीमानै कुहिन थालेको छ । “गाउँपालिकाबाट बाली बिमाको ब्यवस्था पनि छैन, यतिखेर हामिले किसानलाई गर्न सक्ने सहयोग केही देखेका छैनौं”–तेमाल गाउँपालिका कृषि शाखा प्रमुख पवन वलिको भनाई यस्तो छ ।

यहाँका स्थानिय नगदेबालीको रुपमा अन्न उत्पादन भन्दा तरकारी खेतीमा लागेकाले खाद्यान्नको संकट समेत आउन सक्ने भन्दै स्थानिय थप चिन्तामा छन् ।

प्रतिक्रिया दिनुहोस !