
-
कृतिका घलान
अहिले हामी लकडाउनमा छौं । नोभेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध जुझ्ने दौरानमा यो चरण भोगिरहेका हौं । यो समयमा हामीले विविध सावधानी अपनाइरेका छौं । सन् २०१९ को अन्त्यतिर चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस अहिले विश्वको दुइसय भन्दा बढि देशहरुमा फैलिसकेको छ । यो सरुवा रोग भएकोले यसले महामारीको रुप लिने स्थिति पैदा भएकोले हामी निकै सचेत हुन जरुरी छ ।
२०२० मार्चको अन्तिम(हाल) सम्ममा यस भाइरसका कारण विश्वभरीका लगभग ३0 हजार भन्दा बढिको ज्यान लिइसकेको छ । नेपालमा ५ जनामा संक्रमण देखिएको पुष्टि भइसकेको छ । गत जनवरीको ३१ मा विश्व स्वास्थ्य संगठन (डब्लू.एच्.ओ) ले विश्वव्यापी स्वास्थ्य संकटकालको घोषण गरेको थियो । यो भाइरस विश्वका धेरैजना मानिसका देखा परेसंगै डब्लू.एच्.ओ ले मार्च ११ मा विश्व महामारीको घोषण गरेको थियो । नेपालमा पनि हालसम्ममा ५ जनामा यो भाइरस पोजिटिभ देखिएको छ र सबै संक्रमितहरु विदेशबाट फर्केकाहरुका देखिएको छ ।
संक्रमण रोक्ने प्रयोजनमा सरकारले विदेशबाट आएका सबैजना क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ । यो भाइरस ड्रप्लेटको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । जुन हामीले हाँछ्यू गर्दा, खोक्दा, बोल्दा थुकको छिटाको रुपमा निस्कन्छ यदि संक्रमित व्यक्तिका त्यस्तो छिटा स्वस्थ व्यक्तिमा पर्दा सर्ने गर्दछ । यसलाई रोक्नका लागि नियमित रुपमा हात धुने, नाक मुख, आँखामा नछुने, एक व्यक्तिदेखि अर्को व्यक्तिसम्मको दुरी कम्तीमा १ मिटर हुनुपर्ने लगायत अन्य सतर्कताको उपायहरु अपनाउनु पर्छ ।
यस्तो रोग लागि सकेपछि ७ देखि १४ दिन (इन्कुबेशन पिरियड) सम्ममा लक्षणहरु देखापर्दछ ।विश्व स्वास्थ्य संगठन चाइना को एक प्रतिवेदनका अनुसार कोभिड १९का रोगीहरुमा उच्च ज्वरो आउने (८७.९%) , सुख्खा खोकी लाग्ने (६७.७%), थकाइ लाग्ने (३८.१%), टाउको दुख्ने जस्ता मुख्य लक्षणहरु देखिएको छ । साथै खकार आउने, शरीर दुख्ने, छिटोछिटो श्वास फेर्ने, घाँटी दुख्ने, कामज्वरो आउने, वाकवाकी वा बान्ता हुने, थोरै जनामा नाक थुनेको महसुस हुने , पखला लाग्ने, आँखा गह्रौ हुने जस्ता लक्षणहरु देखिएको छ ।
सामान्यतया रोगसंग लड्न नसक्ने व्यक्तिहरुलाई धेरै रोगहरु लाग्ने गर्दछ । चिकित्सकहरुका अनुसार यो रोग विशेषगरि रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु बच्चाहरु, वृद्धवृद्धा, दीर्घकालिन रोग भएका मानिसहरु जस्तै मुटुरोगी, मधुमेह (सुगररोगी), दमरोगीहरु, अंगप्रत्यारोपण गरेका व्यक्तिहरु, क्यान्सरका बिरामीहरु, एचआईभी एड्सका बिरामीहरुमा छिटो सर्ने बताएका छन् । त्यसैले ति व्यक्तिहरुलाई विशेष हेरचाह गर्नुपर्दछ ।
डब्लू.एच.ओ.को अध्ययनका अनुसार यो भाइरसको तौलका कारणले हावामा धेरै समयसम्म रहन सकिदैन तसर्थ यो संक्रमित व्यक्तिबाट निस्कीसकेपछि थोरै समयमा नै जमिनमा बस्नसक्छ । अर्कोतिर यो भाइरस शरीरबाहिर पनि उपयुक्त वातावरण भएमा केहिदिन बाँच्न सकिने बताएका छन् । यसरी यो भाइरस जमिनको सतहमा पनि बाँच्न सक्ने हुदाँ स्वस्थ व्यक्तिमा सर्ने सम्भावना धेरै रहने विज्ञहरु बताउछन् ।
अहिले नेपालको धेरै ठाउँहरुमा भाइरसको रोकथामका लागि डिस्इन्फेक्ट्यान्ट छर्ने गरेको पाउछौ । यस्तो कार्य चीनमा पनि भएको थियो । यसरी छर्नले रोगीको थुक, सिंगान लगायत ड्रप्लेटहरुमा रहेको भाइरस मर्ने वा निष्क्रिय हुन्छ । तर ति डिस्इन्फेक्टेन्टको परिमाण चाहिँ मिलाउनु आवश्यक हुन्छ । गत महिनामा चीनको वुहानबाट उद्धार गरि खरीपाटी क्वारेन्टाइनमा राखेका मध्येका एक चीनमा कार्यारत डक्टर रमेश आचार्यका अनुसार सो बेलामा डिस्इन्फेक्ट्यान्ट(इथानोल र सोडियमको मिश्रण)को परिमाणमा लापर्बाही भएको थियो । यस्तो गल्ती अब नदोहोञ्याउन उहाँको सूझाब छ ।