-
नमोबुद्ध संवाददाता
काठमाडौं–अहिलेसम्म प्राज्ञिक तहमा वहसनै नभएको विषय हो ‘नृत्य लिपि’ । जे जत्ति नृत्य भएका छन् ति आ–आफ्नै तवरले कोरियोग्राफीमूखी देखिए जसले गर्दा नृत्यको संस्थागत विकास र प्रवद्र्धन सहज भएन ।
यिनै सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विहिबार राजधानीमा सार्वजनिक कार्यक्रम गर्दै संगीतमा जस्तै नृत्यको पनि लिपि हुन्छ भन्ने विषयलाई प्राज्ञिक रुपमा उजागर गर्यो ।
‘नृत्यकार शिवराम कासुला आफ्ना नृत्य लिपिको पुस्तकका लागि प्रतिष्ठानको शुभकामना लिन आउनुभयो,मैले पाण्डुलिपि थोरै अध्ययन गर्ने वित्तिकै मेरो ध्यान खिच्यो ।’ ‘नृत्य लिपि’ विचार विमर्शमा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले भने–‘नेपाली कलाको खोज अनुसन्धान,दस्तावेजीकरण गर्नु प्रतिष्ठानको कर्तव्य हो,वृहत छलफल गरी हाम्रो मौलिक नृत्य लिपिको विकास गर्न यो विषय वहसमा ल्याउन जरुरी ठानेर यो कार्यक्रम गरेका हौं ।’
प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले कला जगतमा नेपालमै पहिलो नौलो विषयमा वहसको सुरुवात गरिएको बताए । उनले भने–‘समग्र नृत्यकारहरुमा सकारात्मक सन्देश प्रवाह गर्न आज हामीले यो विषय उठान गर्यौं ।’
कार्यक्रममा नृत्यकार शिवराम कासुलाले प्रतिपादन गरेको नृत्य लिपि प्रस्तुत गरिएको थियो । प्राज्ञ सभा सदस्य सत्यकला राईको आवाजमा गाईएको गायत्री मन्त्रलाई नृत्यमार्फत प्रस्तुति दिँदै कासुलाले नृत्यमा प्रस्तुत भएका नृत्यका चाललाई लिपिमार्फत व्याख्या गरे ।
उनले नृत्यको लिपि प्रस्तुत गर्दा कार्यक्रममा सहभागि थुप्रैले चासो देखाए । उनले आफूले तयार पारेको लिपि लोक,शास्त्रीयदेखी अहिलेको मोर्डन वि–वोईङ नृत्य सम्मलाई काम लाग्ने जिकिर गरे । कासुलाको तिनै लिपिमाथि सहभागिहरुबिच बहस चलेको हो ।
वहसमा नेपालका बरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले कुसुलालाई हतार नगरी व्यापक छलफलबाट नृत्य लिपिको प्रकाशनमा लाग्न आग्रह गरे । युरोपका विभिन्न देशहरुमा नृत्य लिपिको अनुसन्धान गरेको अनुभव सुनाउदै उनले भने–‘कोरियोग्राफी र लिपि फरक कुरा हुन्,बाहिर देखिएको नृत्य लिपि वेनिस नोटशन र लाभान पाएँ,पछि विकास भएको लाभान नोटेशनलाई पश्चिमा शक्ति राष्ट्रहरुले सुरक्षा दिए,यसले संस्थागत रुप लिए,नेपालमा पनि हाम्रा मौलिक लिपिको विकास र संरक्षण्मा राज्यको चासो हुनुपर्छ । ’
कलाकारहरु राष्ट्रको सम्पदा रहेको तर्क गर्दै उनले शिवराम जस्ता प्रतिभा र तिनका सृजनाहरु राज्यले संरक्षण गर्न सके,सहयोग गरे तिनका कामले संस्थागत रुप लिने बताए । नृत्य लिपि वैज्ञानिक र व्यवहारिक हुनुपर्नेमा जोड दिदै उनले आफू पनि लामो समयको अध्ययनपश्चात नृत्य लिपिको पुस्तक ल्याउने तयारीमै रहेको जानकारी गराए ।
सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) का अध्यक्ष पे्रमनाथ अधिकारीले नेपालमा नृत्य लिपिको विषय नौलो भएको उल्लेख गर्दै यसको खोज अनुसन्धानमा लाग्ने संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई धन्यबाद दिए ।
कोरियोग्राफर महेश हाडाले सर्वरुपमा अनुसरण गर्ने लिपि बनाउन विस्तृत अध्ययन अनुसन्धान होस् भन्ने सुझाव दिए । लिपिको विकास नभएसम्म नृत्य क्षेत्रलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक हुन मुस्किल पर्ने उनको भनाई थियो ।
नृत्यकार विना जोशीले नृत्यको आफ्नै भाषा हुने उल्लेख गर्दै तिनको आधारशिला बलियो र स्पष्ट भएमात्रै नृत्य लिपिले स्थायित्व पाउने दावी गरिन् ।
प्राज्ञ परिषद सदस्य नमुना शर्माले नृत्य लिपिको विकासको पक्षमा आफूहरू रहेकोले यसखाले छलफलबाट थप उर्जा मिलेको बताईन् ।
छलफलमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपाल,प्राज्ञ नारायणी देवी प्रधान, केपी पौडेल लगायतले पनि धारणा राखेका थिए ।