-
नमोबुद्ध संवाददाता
काठमाडौं–नाटककार बालकृष्ण समको ११८ औं जन्मजयन्ती कला क्षेत्रमा उनको योगदानको सम्झना गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मनाएको छ । शुक्रबार राजधानीमा एक औपचारिक समारोहको आयोजना गर्दै उनको सम्झना गरिएको हो । कार्यक्रममा समको वायोग्राफी देखाइएको थियो ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले बहुमुखि प्रतिभाका धनी समलाई सम्झीनु रंगकर्मी र राज्यकै दायित्व रहेको बताए । सदस्य सचिव श्याम तमोटले समको अनुकरणीय व्यक्तित्वलाई थप प्रकाशमा ल्याउन जरुरी रहेकोले यस खाले कार्यक्रम गरिएको धारणा राखे ।
कार्यक्रममा प्राध्यापक सावित्रा मल्लले समको शिल्पकलाबारे प्रकाश पारिन् । ‘रंगकर्मी बालकृष्ण सम र उनको शिल्पकला’ विषयमा विद्यावारिधी गरेका उनले सम नाटककार मात्रै नभई रंगकर्मी पनि भएको निश्कर्ष आफ्नो रहेको बताईन् ।
समको नाटक र चित्रहरुमा जीवन्तता झल्कीने उनको दावी छ । उनको अध्ययनमा नेपालमा समले लेखेको ‘मुकुन्द इन्दिरा’ पहिलो नेपाली मौलिक नाटक हो्,जुन नाटक सम आफैंले निर्देशन गरेका थिए ।
नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सम आफैं उत्कृष्ठ नाट्य कलाकार रहेको बताए । उनले भने –‘समले बोलेका संवादहरुमा भित्री आत्मा बोलेको आभास हुन्थ्यो,जो कोही कलाकारको क्षमता त्यस्तो हुदैन, उनको सिर्जनशीलताको उचाईलाई सबैले सम्झिन,मनन गर्न आवश्यक छ ।’ समको पहिलो नाटक ‘तानसेनको झरी’ भएपनि प्रथम प्रकाशित नाटकचाँही ‘मुटुको व्यथा’ रहेको जनाकारी दिदै उनले हरेक नाटक शक्तीशाली रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समको चित्रकला र जीवन व्यक्तित्वबारे थप प्रकाश पारे । अद्भुत क्षमता भएका समको चित्रकला विश्वविख्यात चित्रकारको भन्दा कमको नरहेको उनको तर्क छ ।
‘उनले पोट्रेट चित्रमा विशेष पहिचान बनाए,जुन सजिलो हैन । दुरदर्शी र सिर्जनशीलताका कारण उनका चित्रमा हामीले नदेखेका पात्रहरु पनि उतानृ सक्थे ।’–कुलपति कर्माचार्यले भने ।
समको वास्तविक नाम बालकृष्ण शमशेर जङ्बहादुर राणा । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले ‘शमशेर जङ्बहादुर राणा’ हटाई ‘सम’ थपेका थिए ।
समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि बिभिन्न क्षेत्रमा कलम चलाएका थिए । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, कुशल वक्ता र दार्शनिक चिन्तक मानिन्छ तथापि समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को सम्मान दिइन्छ ।
१९५९ साल माघ २४ गते जन्मेका समको पक्षघातका कारण २०३८ साल साउन ६ मा निधन भएको थियो ।