• नमोबुद्ध संवाददाता (काठमाडौं)

पञ्चायतकालमा राजधानीको उत्तरतिर नेताहरु लुक्ने एउटा थलो थियो– न्हुज पुस्तकालय । उनीहरु दिनभर पुस्तक पढेजस्तो गर्थे, छलफल गरेजस्तो गर्थे, मुख्य उदेष्य चाहिँ राजनीतिक गतिबिधिको विस्तार र प्रजातन्त्रको पुर्नवहाली । टोखास्थित यही पुरानो पुस्तकालयले राष्ट्रिय कविता प्रतियोगिता घोषणा गरेको छ । ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ मुल विषयमा पुस्तकालयले देशभरबाट सिर्जना आह्वान गरेको छ ।

‘सामाजिक सदभाव, सकारात्मक चेतना र नवनिर्माणमा स्रष्टाहरुको ठुलो भुमिका हुन्छ, पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने, ‘युवा स्रष्टाहरुको भुमिकालाई बल पुर्याउन पहिलोपटक प्रतियोगिता गर्न लागेका हौं ।’ उनका अनुसार देशभरका ४० वर्ष भन्दा मुनिका युवा साहित्यकारले आ–आफ्ना कविता आउँदो शनिबारसम्ममा कविता पठाउन सकिनेछ । देशभरबाट सम्प्रेषित कविताहरुमध्ये निर्णायक मण्डलबाट छनोट भएका सय जनालाई राजधानीमा निम्त्याएर फागुन १० गते ‘राष्ट्रिय युवा कार्यशाला’ समेत गरिने उनले जनाए । विभिन्न ३ शिर्षकमा कार्यपत्रहरु प्रस्तुत समेत हुने प्रतियोगिता भने फागुन ११ गते राष्ट्रिय सभा गृहमा हुने बताइएको छ ।

संकलित कविताहरु मध्येबाट विज्ञ समूह (प्रख्यात भाषाविद्, नेपाली साहित्यको प्राध्यापक तथा प्रख्यात आख्यानकार सम्मिलित ३ सदस्यीय निर्णायक मण्डल)को सिफारिसमा ७७ जिल्ला नै समेट्नेगरी १०० जना यूवा कविहरुलाई प्रतियोगितामा सहभागी हुन ३ दिनका लागि हामी काठमाडौं बोलाउनेछौं ।

छानिएका एक सय यूवा कविहरुमध्ये उत्कृष्ट २५ घोषणा गर्दै वाचन गराइने पनि उनले जनाए । प्रथम हुनेले ५० हजार रुपैंया, द्धितीय हुनेले ३० हजार रुपैंया, तृतीय हुनेले २० हजार रुपैंया पाउनेछन् भने सान्त्वना हुने दुइजनाले जनही १० हजार रुपैंया पाउने छन् । सोही दिन ५० हजार रुपैंयाको ‘न्हुजः प्रगतिशील साहित्य पुरस्कार’ पनि प्रदान गरिने अध्यक्ष श्रेष्ठले जनाए । ‘उत्कृष्ट कविताहरुमा संगीत भरी ‘न्हुजः राष्ट्रिय गीतमाला’ नामक गीति एल्बम समेत निकाल्ने छौं, उनले भने ।

पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ।

संस्थाको पृष्ठभूमी :

पञ्चायती निर्दलीय शासन व्यवस्थाको विरुद्ध जनतामा जागरण पैदा गर्ने हेतुले तत्कालीन समयमा जनतामा राजनीतिक अधिकार स्थापना हुनुपर्छ भन्ने मान्यता राख्ने सचेतन जनताहरुको अग्रसरतामा तत्कालीन टोखा चण्डेश्वरी वडा नं २ (साविक टोखा नगरपालिका वडा नं २) मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो । जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने मूल हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व. पद्मरत्न तुलाधरबाट  वि.सं २०४१ साल भाद्र १ गते भएको थियो ।

कार्यक्रमको भूमिका :

नेपाली जनता, विशेषतः यूवा समुदाय, हाल निकै निराश छन् । उनीहरुले तीव्र गतिमा  नकारात्मक सोच विकास गरिरहेको छनु् र सामाजिक सञ्जालमार्फत ती विचार सञ्चार गरिरहेका छन् । राजनीतिक अधिकार प्राप्तिको लडाइँ भर्खर समापन भएको यो मुलुकमा सो लडाइँका लागि चेतनशील नागरिक धेरै दशक निरन्तर लाग्नुप¥यो । फलतः अधिकार प्राप्तिको लडाइँ जनतामा विस्तारै जीवनचर्या बन्यो । विद्रोही क्रियाकलाप विस्तारै सोच र त्यसपछि भावना हुँदै जनताको व्यवहारमा रुपान्तरित भयो । देशले अधिकार प्राप्तिका लडाई जितेर पनि त्यसलाई संस्थागत गरेर अब आर्थिक विकास र समृद्धिको बाटो समात्ने सुर कस्दैछ । तर जनताले समृद्धिको सपना बोक्दा बोक्दै पनि मानसिक र व्यवहारगत हिसाबले त्यो बाटो समात्न सकेको छैन, अझै विद्रोही मानसिकता र व्यवहार कायमै छ । जनतालाई समृद्धि आजको आजै चाहिएको छ, तर त्यसका लागि आफूले गर्नैपर्ने र गर्न सक्ने योगदान गर्न पनि तयार छैनन्, आवश्यक ठान्दैनन् । यो अन्तरविरोधका कारण जनतामा नकारात्मक सोच, विद्रोही भावना र केही अवस्थामा हदभन्दा बाहिरको अभिव्यक्ति र क्रियाकलापहरु प्रदर्शित भइरहेका छन् ।

यस पृष्ठभूमिलाई मध्यनजर गरेर हामीले आउँदो पौष २७ गते रािष्ट्रय एकता दिवसको अवसर पारेर ‘राष्ट्रिय यूवा कविता प्रतियोगिता तथा राष्ट्रिय युवा कार्यशाला – २०७६’ आयोजना गर्ने योजना बनाएका छौं । यस कविता प्रतियोगितामा देशभरका १८ देखि २५ वर्षका नव युवाहरुले सहभागिता जनाउन सक्नेछन् । देशभक्तिको भावना, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षपोषण, राष्ट्रिय दायित्व र कर्तव्यको अभिव्यक्ति तथा राष्ट्रिय समृद्धिको चाहना तथा योजनाले भरिएका कविताहरु यस प्रतियोगितामा समावेश हुनेछन् । यी विषयमा कविता लेख्न घोत्लिंदा समेत पनि युवाहरुमा देशभावना सञ्चार हुने, र राष्ट्रप्रतिको आफ्नो कर्तव्यबोध हुने हामीले विश्लेषण गरेका छौं । यी भावना सहितका कविताहरु प्रतियोगितामा सहभागी हुन हामीले कुनै एक राष्ट्रिय सञ्जाल भएको रेडियो नेटवर्कमा एक महिना विज्ञापन गर्नेछौं । साथै, राष्ट्रिय युवा परिषद्को जिल्ला कार्यसमितिहरुमार्फत त्यस्ता युवाहरुमा पहुँच राख्ने प्रयत्न गर्नेछौं । यसरी संकलित कविताहरु मध्येबाट विज्ञ समूह (प्रख्यात भाषाविद्, नेपाली साहित्यको प्राध्यापक तथा प्रख्यात आख्यानकार सम्मिलित ३ सदस्यीय निर्णायक मण्डल)को सिफारिसमा ७७ जिल्ला नै समेट्नेगरी १०० जना यूवा कविहरुलाई प्रतियोगितामा सहभागी हुन ३ दिनका लागि हामी काठमाडौं बोलाउनेछौं । काठमाडौंमा ३ दिन रहँदा देशभक्ति भावनाले ओतप्रोत युवाहरुलाई राष्ट्रियताको भावनालाई थप परिस्कृत गराउने र देश निर्माणको तथ्यगत प्रगतिको विवरण सहित उन्नत भावना र प्रेरणा सृजना गराएर फर्काउनेछौं ।

साथै, देशभक्ति भावना र त्यस भावनालाई शब्दमा सजाउन सक्ने १०० जना युवाहरुमाझ टोखा नगरपालिकाका ११० जना सोही उमेर समुहका स्नातक उत्तीर्ण युवाहरु (प्रत्येक वडाबाट १० जना) घुलन गरी अन्तरक्रिया र छलफल गर्ने योजना बनाएका छौं । यस राष्ट्रिय यूवा कार्यशालामा ‘देशभक्त युवा निर्माण, हाम्रो अभियान’ शीर्षकमा ३ जना विषयविज्ञबाट ३ वटा कार्यपत्रहरुको प्रस्तुतीकरण रहनेछ । ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी ३ शिर्षकमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । त्यसपछि ‘मेरो देश म चिनाउँछु’ शीर्षकमा प्रत्येक प्रदेशका सहभागीबाट छानिएका व्यक्तिले आफ्नो प्रदेशको अवस्था, समस्या र सम्भावनाका बारेमा प्रस्तुतीकरण गर्नेछन् ।

यस कार्यले युवा कार्यशालामा सिकाइने विषयहरुका अलावा ती छानिएका युवाहरुको भावनाले स्थानीय युवाहरु थप लाभान्वित हुने र राष्ट्र र समाजप्रतिको दायित्वमा थप निखार आउने हामीले आँकलन गरेका छौं । ३ दिन सँगै रहँदा स्थानीय युवाहरुले नेपाल भरका सम्पूर्ण जिल्लाहरुको अवस्था, चुनौती, सम्भावना, भाषा, संस्कृति तथा संस्कारका बारेमा जानकारी समेत पाउने हुँदा देशको विविधता र अवस्थाका बारेमा सजीव विवरण र विश्लेषण जान्न पाउनेछन् । देशको दुर दराजको समाज, समस्या, अवसर र विकासक्रमको बारेमा स्थानीय यूवाहरुले बुझ्ने र सुन्ने मौका पाउनेछन् ।

प्रतिस्पर्धाको दिन फागुन ११ गते आयोजना राष्ट्रिय सभा गृहमा कार्यक्रमको गरिनेछ । यस दिन काठमाडौं उपत्यकामा रहनुभएका ख्यातिप्राप्त साहित्यकार, संगीतकर्मी तथा बुद्धिजीविहरुलगायत शिक्षण संस्थाबाट समेत सहभागी गराउने गरी १००० संख्याको युवाहरुलाई प्रवेश पासको व्यवस्था मिलाइएको हुनेछ । छानिएका १०० जना यूवा कविहरुको कविताबाट निर्णायक मण्डलबाट छानिने २५ वटा कविताहरुको वाचन गराइनेछ । नेपाली भाषाका प्राध्यापक, समाजशास्त्री र नेपाली साहित्यका ख्यातीप्राप्त महानुभावहरुको ३ सदस्यीय टोलीले विजयी कविहरुको निर्णय गर्नुहुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ५०,०००, रु. ३०,०००– र रु. २०,०००– नगद पुरस्कार तथा दुईजना प्रतिस्पर्धीहरुलाई रु. १०,०००– नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सोही दिन गत वर्षदेखि स्थापना भएको ‘न्हुजः प्रगतिशील साहित्य पुरस्कार – २०७६’ पनि प्रदान गरिनेछ । यस पुरस्कारको राशी रु. ५०,०००– राखिएको छ ।

कार्यक्रमको उद्देश्य

  • युवा समुदायमा देशभक्त, देश प्रेम र राष्ट्रियताको भावना जागृत गराउने ।
  • अधिकार उपयोग सँगसँगै कर्तव्य पालनाको लागि सचेत र प्रेरणा जगाउने ।
  • नकारात्मक भावना र सोचले ग्रसित समुदायलाई सकारात्मक भावना र सोच पैदा गराउने ।
  • देशभरीका युवाहरुलाई एउटै थलोमा अन्तरक्रिया गराएर विविधतामा एकताको भावना जगाउने ।
  • देशका अन्य जिल्ला÷भागका ठाउँको जानकारी प्रत्यक्ष आदान–प्रदान गराउने ।
  • नेपाली साहित्यको माध्यमबाट देशभक्तिको भावना सञ्चार गर्ने ।
  • टोखा नगरपालिकाका युवाहरुलाई राष्ट्रिय युवा सञ्जालमा घुलन गराई आत्मबल अभिवृद्धि गराउने ।
  • कार्यक्रमका उत्कृष्ट कविताहरुमा संगीत भरी ‘न्हुजः राष्ट्रिय गीतमाला’ नामक गीति एल्बम निकाल्ने ।

प्रतिक्रिया दिनुहोस !