नमोबुद्ध संवाददाता
काठमाडौं–नेपाल भ्रमणमा आउनुभएका भारतको सिक्किम राज्यका वरिष्ठ साहित्यकार एवम् पूर्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’को स्वागतमा नेपाल प्रज्ञा–प्रतिष्ठानले बिहीबार ‘भेटघाट कार्यक्रम’ आयोजना गर्यो ।
प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै दर्जनौं प्राज्ञ तथा नेपालका साहित्यकारहरुद्धारा भव्य स्वागत गरिएको हो ।
स्वागतका साथै प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले नेपालको प्राज्ञ जगतको तर्फबाट आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभयो ।
यो अवसरमा उहाँलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार स्वरूप अर्पण गरिएको थियो ।
साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”
उपकुलपति डा. गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– “जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा–सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।”
आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– “म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।”
विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्रष्टा चामलिङको कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले चामलिङ साहित्यसँगसँगै राजनीतिमा पनि उत्तिकै सफल रहेको उल्लेख गर्नुभयो । “२५ वर्षसम्म मुख्यमन्त्री भएर उहाँले पश्चिम बंगालका ज्योति वसुपछि भारतमा सबैभन्दा धेरै समय मुख्यमन्त्री बन्ने रेकर्ड कायम गर्नुभएको छ र नेपाली भाषा–साहित्यको समृद्धिका लागि पनि उत्तिकै उल्लेखनीय काम गर्नुभएको छ ।” उहाँले भूगोलले छुट्याए पनि भाषा, साहित्य र संस्कृतिले नेपाल र सिक्किमलाई भावनात्मक सम्बन्धले जोडेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो ।