‘पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ,’
पनौती—काभ्रेको सुन्दर सांस्कृतिक शहर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरपालिकाले आवश्यक तयारीसहित जोड बल गर्दै आएको छ । विनासकारी भुकम्पपछि यहाँको स्वरुप उस्तै अवस्थामा फर्काउन नगरले यसमुताविकका नीति तथा बजेट कार्यन्वयन गर्दै आएको छ ।
यस सन्दर्भमा युनेस्कोका नेपाल प्रतिनिधि मानहार्ट क्रिस्टियानले पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताउनुभएको छ । पनौतीलाई सम्पदायुक्त सहरका रूपमा विकसित गर्न तयार पारिएको ‘पनौती गुरुयोजना’ हस्तान्तरण कार्यक्रममा मंगलबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसका लागि पुरातत्व विभागसँग समन्वय गर्न सुझाव समेत दिनुभयो ।
एउटा मुलुकले एक वर्षमा एउटा मात्रै सम्पदालाई विश्व सम्पदामा प्रस्तावित गर्न सक्ने जनाउँदै क्रिस्टियानले अहिले जनकपुरको जानकीधाम प्रस्तावित भए पनि प्रकृया पुरा भइनसकेकोले पनौतीको सम्भावना बढेको बताउनुभयो ।
पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले २२ वर्षअघि विश्व सम्पदामा प्रस्तावित गर्ने भनेर निर्णय भैसकेको अवस्थामा समेत पनौती अहिलेसम्म सम्पदा प्रकृयामा जान नसकेको बताउनुभयो ।
‘पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ,’ प्रमुख न्यौपानेले भन्नुभयो ।
उहाँले सम्पदाजन्य कामका लागि यसै आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्ट्याइएको जानकारी दिंदै तत्काल कार्यायोजना तय गरेर पनौतीलाई थप पुरातात्विक महत्वको शहर बनाइने घोषणा सुनाउनुभयो ।
उहाँले नगरपालिका स्थानीय जनसहभागिता र पुरातत्व तथा दातृ निकायको सहकार्यमा पनौतीलाई सम्पदाजन्य स्वरुप दिन आफू तत्पर रहेको बताउनुभयो ।
पनौती नगरले तोकिएको सम्पदा क्षेत्रभित्र नयाँ निर्माण गर्न वा पुननिनर्माणका हकमा पनि निश्चित परम्परागत सम्पदाजन्य मापदण्ड पुरा गर्नैपर्ने नियम कार्यान्वयन गर्दै आएको प्रमुख न्यौपानेले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पनौती नगर क्षेत्रमा केही निर्माणका लागि सुरुमा पुरातत्व विभागले स्वीकृति लिएर मात्रै कुनै प्रकारको संरचना तयार गर्न पाइने नियम अनिवार्य रही आएको छ ।
पनौती भिजनको गुरुयोजना तयार पारेका संस्था आरपी फाउण्डेसनका संस्थापक सम्पदाबिद् रविन्द्र पुरीले बढीमा २ वर्षको समय खर्चन सकेमा पनौतीलाई सम्पदाजन्य पुरातात्विक महत्वको नमूना शहरका रुपमा विकसित गर्न सकिने अठोट सुनाउनुभयो ।
उहाँले यहाँ विकासका नाममा नचाहिंदो होड र प्रतिष्पर्धा नदेखिएको जनाउँदै जिर्णोद्धार र पुननिर्माण पनि सम्पदाको माया गरेरै अघि बढेको अवस्थामा रहेको बताउनुभयो ।
इकान्तिपुरको सहयोगमा
तस्वीरःइकान्तिपुर