-
नमोबुद्ध संवाददाता
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा चार चार वर्षमा प्रदान गरिने राष्ट्रकै सर्वोच्च र गरिमामय प्राज्ञिक पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६–२०७८ का लागि वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि नगद रु. ४ लाख रहेको छ ।
यसै गरी प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । जसअनुसार प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५–२०७६ का लागि प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठान सञ्चान विभाग प्रमुख शशि लुमुम्बुले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक एक एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मी,२०७६ का लागि भागीरथी श्रेष्ठ,पहाड–हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य),२०७६ का लागि अमृत योञ्जन तामार्ङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य) को नाम छानिएको छ ।
यी पुरस्कारको राशि प्रतिव्यक्ति नगद रू. एक एक लाख रहेको छ ।
प्राज्ञ सभाका अध्यक्ष एवम् कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठकले अन्य तीन नयाँ पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।
नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी ‘नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’, नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको छ ।
यी पुरस्कारको राशि नगद रू. एक एक लाख रहने छ ।
यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको ‘नेपाल प्रज्ञालङ्कार पुरस्कार’ स्थापनाको निर्णय गरिएको छ ।
मंगलबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा बसेको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाको ३४औँ बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गत आ.व.को बजेट अनुमोदन गर्नुका साथै आगामी आ.व. २०७६/०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित रू. २३ करोड ७ लाख ३३ हजारको बजेट पनि पारित गरेको छ ।
‘वाङ्मय नाफाको विषय होइन तर यो नभई हुँदैन ।’
प्राज्ञ सभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई नेपालको मात्रै होइन पूर्वीय वाङ्मय, सभ्यता र अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘वाङ्मय नाफाको विषय होइन तर यो नभई हुँदैन । यसको उचित संरक्षण र संवद्र्धन गर्न सरकार तयार छ ।’
कतिपय तत्वले नेपाली संस्कृतिलाई केही तत्वहरूले उछृङ्खलतातर्फ धकेल्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसलाई प्राज्ञिक जगतले सृजना र लेखनका माध्यमबाट प्रतिरोध गर्नुपर्ने आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, पूर्व कुलपति बैरागी काइँला, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आ–आफ्ना धारणा राख्नुभएको थियो ।