- नमोबुद्ध संवाददाता :
काठमाडौं–आधुनिक प्रविधिको विकाससँगै आयातित ज्ञानले जरो गाड्नै लाग्दा मौलिक ज्ञान संस्कृतिको बचाउ र विस्तारका लागि “चौथो तामाङ ज्ञान महोत्सव” भकृटिमण्डपमा शुक्रबार सुरु भएको छ । महोत्सवको पूर्व कानुनमन्त्री प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङले उद्घाटन गर्नुभयो ।
प्रकृतिपुजक तामाङ समुदायको बोन संस्कृति र अहिलेको धार्मिक आस्थाभित्र अनेक ज्ञान पद्धत्तिहरु रहेको उल्लेख गर्दै त्यसलाई बचाउन र तिनको प्रवद्र्धनमा लाग्नु सह्रानिय रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–“आज अन्धविश्वास भनियो,हिजो डाक्टर नहुदा,तिनको भुमिका बोन्बो झाँक्रीले निभाउँथे,निको पनि हुन्थ्यो,तिनको अध्ययन अनुसन्धान आवश्यक छ,यि ज्ञानहरु संरक्षण गर्न आवश्यक छ । ”
शनिबारसम्म चल्ने ज्ञान महोत्सवको पहिलो दिन विभिन्न ५ वटा कार्यपत्रमाथि छलफल गरिएको छ ।
शुक्रबार तामाङ भाषाको मानकिकरण एवम् व्याकरण,शब्दको भाव र यिनको प्रयोग,प्रविधिमा भाषा प्रयोग,तामाङ चलचित्र र भाषा तथा रेडियोमा तामाङ भाषा ज्ञान विषयमा क्रमश नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ,डाक्टर लक्ष्मी तामाङ,डाक्टर बालकृष्ण वल,आदिवासी चलचित्रकर्मी सञ्जोग लाफामगर र सञ्चारकर्मी बुद्ध योञ्जनद्धारा प्रस्तुत कार्यपत्रमाथि छलफल चलेको हो ।
तामाङ न्हाङखोर,तामाङ डाजाङ,नाङसाल क्लव नेपाल,ताम्बा संघ नेपाल,कर्तव्य फाउण्डेशन लगायतका संस्थाहरुद्धारा आयोजित महोत्सव अन्तरगत पहिलो दिन छलफल सेसन पनि चल्यो ।
“म लोकसेवाको असमावेशी विज्ञापनको पक्षमा हैन ।”
‘चौथो तामाङ ज्ञान महोत्सव’ अन्तरगत ‘राजनीतिमा तामाङ सुमदायको अवस्था’ विषयक छलफलमा प्रतिनिधिसभा सदस्य नविना लामाले ईतिहास विभेदकारी रहेको बताउनुभयो ।
आजको लोकतान्त्रिक शासन पद्धत्तिमा भने त्यसखाले विभेद हुन नहुने उहाँको तर्क छ ।
हालै लोकसेवा आयोगले संविधानको मर्म विपरित असमावेशी विज्ञापन आह्वान गर्दै एकतर्फि रुपमा कर्मचारी भर्तीको प्रक्रिया चालेकोमा सांसद लामा किन मौन ? सहभागिको यसखाले प्रश्नको उत्तरमा उहाँले भन्नुभयो –“म लोकसेवाको असमावेशी विज्ञापनको पक्षमा हैन ।” सदनमा कुरा उठाउने सोचमै थिएँ तर मेलोमेसो मिलेन,त्यहिवेला अरु माननियले उठाउनुभयो,मैले पनि उठाउन आवश्यक ठानिन ।”
सांसद लामाले संविधानभन्दा माथि कोही नरहेको उल्लेख गर्दै संविधानको सबै तहतप्काले अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । सबै जातजाति,समुदाय वर्गको उत्थानका लागि लोकतान्त्रिक संविधान आएको भन्दै उहाँले यसको सफल कार्यन्वयनतर्फ ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
महोत्सवको छलफल सेसनमा सांसद लामाले समुदायको वृहत्तर हितका विषय अब साझा एजेन्डा बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –“अबको १० वर्षमा हामी र हाम्रो समुदाय कहाँ पुग्ने ? अब योजनाबद्ध लाग्न जरुरी छ ।” तामाङ समुदायको शैक्षिक तथा राजनतिक जस्ता अवस्था सुधारका लागि योजना बनाउन आवश्यक रहेको उहाँको धारणा छ ।
तामाङ समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्नका साथै राजनीतिक आस्थाले विभाजित समुदायका अगुवालाई एक ठाउँमा उभ्याउन साझा मञ्च तयार पार्ने शिलशिलामा तामाङ पहिचान दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनायो ।
तामाङ समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्नका साथै राजनीतिक आस्थाले विभाजित समुदायका अगुवालाई एक ठाउँमा उभ्याई अर्थपुर्ण छलफलका लागि साझा मञ्च तयार पार्ने शिलशिलामा तामाङ पहिचान दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजक तामाङ डाजाङले जनायो ।