• नमोबुद्ध संवाददाता :

भकुन्डे–काभ्रेको नमोबुद्ध नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६⁄०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

एक औपचारिक समारोहका बिच नगर प्रमुख टिपी शर्माले “कृषि,वातावरण,व्यापार,पर्यटन र उद्योगको विकास,सुन्दर र समृद्ध नगरपालिका निर्माण हाम्रो सशक्त अभियान” भन्ने दिर्घकालिन सोचका साथ तयार गरिएका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

चालु आर्थिक वर्ष २०७५⁄०७६ मा विभिन्न स्रोतहरुबाट कुल आम्दानी रु ५३ करोड ११ लाख रहेकोमा कुल बजेटको ६९ प्रतिशत खर्च गर्न सफल भएको दावी गर्दै आगामी आर्थिक वर्षमा प्रत्यक्ष जनसहभागितामा विकास खर्च प्रतिशत बढाउने,आन्तरिक स्रोतहरुको पहिचान बृद्धि गर्ने जस्ता प्रतिवद्धताका साथ नगरले विभिन्न क्षेत्रलाई समेट्दै बजेट अधिवेशन मार्फत नीति तथा कार्यक्रमहरु ल्याएको छ ।

नगर प्रमुख शर्माद्धारा प्रस्तुत नीतिमा जैविक कृषि उत्पादन,पर्यटन र व्यापारबाट नागरिकको आयस्तरमा उल्लेखनीय रुपमा बृद्धि गर्दै पाँच वर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने लक्ष्यका साथ सडक तथा यातायात,खानेपानी तथा सरसफाई,कृषि तथा पशुपन्छी विकास सम्बन्धी छन् ।

साथै बस्ती विकास तथा भुकम्प प्रतिरोधी भवन निर्माण,विद्युत तथा वैकल्पीक उर्जा,वातावरण संरक्षण,सुचना संचार तथा प्रविधि विकास,संस्थागत विकास तथा मानव संसाधन,आदिवासी जनजाती,बालबालिका,महिला,ज्येष्ठ नागरिक,दलित,अपांग लगायतका क्षेत्रमा नीतिहरु पनि सार्वजनिक गरिएको छ ।

बुद्ध सडकको अवधारणा

सडक तथा यातायात नीतिमा चालु आर्थिक वर्षमा नगरस्तरीय यातायात गुरुयोजनाको निर्माण सम्पन्न गरिने उल्लेख छ ।

नगरको तेमाल खण्ड स्थित कानपुर,कालापानी तोङसोम कुण्डसम्मको सडकलाई बुद्ध सडकको रुपमा विस्तार गर्ने योजना रहेको प्रमुख शर्माले बताउनुभयो ।

तेमाल विकासको ढोका खोल्न र तोङसोम कुण्डको एतिहासीक,धार्मिक पाटोलाई पर्यटनसँग जोड्नका साथै स्थानियलाई सहजताका लागि बुद्ध सडकको अवधारणा अघि बढाएको उहाँले स्पष्ट पार्नभयो । यसले त्यहाँका स्थानियको भावना प्रतिविम्वीत गर्ने उहाँको धारणा छ ।

नीति कार्यक्रम अनुसार यो पटक पनि संघीय सरकार र प्रदेश सरकारसँग हातेमालो गर्दै नगरभित्रका विभिन्न सडकहरु पक्की बनाउदै जानेछ ।
नगरको पहिचान विश्वभर फिजाउन,नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा जोड्ने,नमोबुद्धमा सुचना केन्द्र स्थपना गर्ने लगायतका कार्यक्रमलाई महत्व दिईने छ ।

दुई बच्चीपछि परिवार नियोजन गर्ने पुरस्कृत हुने

नगर प्रमुख शर्माले महिला,बालबालिकालाई नीतिगतनै सम्बोधन गरिएको बताउनुभयो ।

देशैभर दुई सन्तानको नीतिलाई प्रश्रय दिईरहँदा यो भन्दा महत्वपूर्ण कुरा दुई छोरी सन्तानपछि परिवार नियोजन गर्ने दम्पत्तिलाई पुरस्कृत गर्ने योजना रहेको कुरा सार्वजनिक गर्नुभयो ।

छोरा र छोरीविचको विभेदलाई चिर्न पनि यस्तो खालको कार्यक्रम ल्याइन लागेको उहाँको धारणा छ ।

यसका साथै उहाँले दलित,आदिवासी जनजाती,ज्येष्ठ नागरिकलाई अपनत्व महसुस गराउने महत्वपूर्ण नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।

ज्येष्ठ नागरिक तथा दलित,एकल महिला लगायतलाई दिईदै आएको सामाजिक सुरक्षा भत्तालाई सहज ढंगले वितरण गर्ने प्रणालीको विकास गर्ने बताउनुभयो । वडा वडामा बैंक पुर्याउने यदि त्यसो गर्न नसकिए पनि बैंकिङ प्रणाली अन्तरगतनै सम्बन्धित वर्गलाई घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

महिला,एकल महिला तथा बालबालिकाको वृत्तिविकास तथा शिक्षामा विशेष महत्व दिने नीतिमा उल्लेख छ । बालमैत्री स्थानिय शासनका लागि तोकेका सुचांकहरुलाई न्युनतम सुचक मानि त्यसलाई कार्यन्वयन गर्न पहल गरिने नीति लिएको छ ।

एक वर्षभित्र वालश्रममुक्त नगर घोषणा गर्ने नीति ल्याईएको छ । बालमैत्री कक्षा शिक्षक,बालविकास केन्द्रका शिक्षकहरुलाई मनोचिकित्सा सम्बन्धी ज्ञान दिलाउने उल्लेख छ ।

आदिवासी जनजातीको कला,संस्कृति,भाषा,साहित्यको विकासमा विशेष पहल गरिने नीति तथा कार्यक्रम घोषणा गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को प्रभावकारी कार्यवयनमा जोड दिईएको छ । दालित,जनजाती,महिलाहरुलाई विभिन्न सिपमुलक तालिमद्धारा आर्थिक उपार्जनमा लगाईने उल्लेख छ ।

पुननिर्माणको कामलाई अझ व्यवस्थित बनाउने,भुकम्प प्रभाविताहरुको गुनासो सम्बोधन गर्ने,भुकम्प प्रतिरोधी संरचना निर्माण,भवन आचार संहिता कार्यन्वयन जस्ता विषयमा पनि जोड दिईएको छ ।

कार्यालयमा छिटो छरितो सेवा दिने सोच लिईएको छ । इन्टरनेट जडान गरी त्यसको अधिकतम प्रयोगबाट सेवाग्राहीलाई लाभान्वीत बनाउने उल्लेख छ । कार्यालयहरुमा नेटवर्किङ विस्तार,सुचना केन्द्रको सञ्चालन गर्दै डिजिटल नमोबुद्धको विकासको यात्रामा अघि बढ्ने दृढता व्यक्त गरिएको छ ।

सम्झौता अनुसार यहि असार मसान्तबाट भकुन्डेमा सञ्चालित ईट्टा उद्योगहरु विस्थापन गर्ने,राष्ट्रिय राजमार्ग क्षेत्रमा वृक्षरोपण कार्यक्रम गर्ने वातावरण नीतिमा उल्लेख छ ।

लिफ्टीङ पम्पको विद्युत महसुल छुटको पहल गर्ने

पानी सुरक्षाका लागि पुराना मुहानहरुको संरक्षण गर्ने,आकाशेपानी संकलन जस्ता नीति ल्याईएको छ । प्राकृतिक छेकबारका माध्यमबाट खोल्साका पानीहरुको सञ्चय गराउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

खानेपानीको पहुंचमा पुर्याउन लिफ्टीङ प्रविधि अपनाए त्यसमा लाग्ने विद्युत महसुल छुट गाराउन पहल गरिने उल्लेख छ ।

जैविक कृषिमा जोड

नगरको यो पटकको नीति तथा कार्यक्रमले नमोबुद्ध नगर भित्र जैविक कृषिमा जोड दिने उल्लेख छ । मानव स्वास्थ्य र वातावरणका साथै आजको आवश्यकतालाई ख्याल गर्दै जैविक तथा अर्गानिक खेती प्रणालीको सोचाई बनेको नगरप्रमुख शर्माको भनाई छ ।

भु–बनावट र हावापानीको अध्ययन गरी कृषिमा पकेट क्षेत्र बनाई कृषिका योजनाहरु अघि सार्ने भएको छ ।  माटोको गुण सुधार गर्दै हावापानी र माटो अनुसारको जैविक खेतीलाई प्रोत्साह दिने भएको छ । उन्नत रैथाले र हाईब्रिड जातका वीउविजनहरुको संरक्षण र प्रवद्र्धन गर्दै लैजाने भएको छ ।

कृषकलाई बजारको सहज उपलब्धता गराउन भकुन्डे बजारमा कृषि भण्डारण केन्द्र बनाउने नीति लिईएको छ । पशुपन्छी सेवालाई घरघरमा पुर्याउन पशु प्राविधिकको संख्या बढाउने उल्लेख छ ।

१०० रोपनी भन्दा बढि भागमा खेती गरेमा,१०० भन्दा बढि पशुपालन गरेमा विशेष अनुदानको व्यवस्था गरिने नीति पनि लिईएको नगरप्रमुख शर्माले उद्घोष गर्नुभयो ।

स्थानिय नागरिकको जीवस्तर उठाउन सहयोग गर्ने गैरसरकारी संस्थाहको सहयोग लिने नीति पनि लिएको उहाँले बताउनुभयो ।

महिला,बालबालिका,शिक्षा,कृषि जस्ता क्षेत्रको विकास तथा सामाजिक परिचालनका लागि गैरसरकारी संस्था समन्वय कक्षनै व्यवस्था गरिने प्रमुख शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !