नमोबुद्ध संवाददाता :
भकुण्डे–पर्याप्त प्रचारप्रसार तथा तयारीबिना काभ्रेको नमोबुद्ध नगरपालिकास्थीत भकुण्डेमा गत बिहिबार सुरु भएको नमोबुद्ध महात्सव अस्तव्यस्त देखिएको छ । “प्रेस पास होलाकी ?” आईतबार प्रवेशपुर्व पत्रकारको टोलीले राखेको जिज्ञासामा टिकट काउन्टरबाट एकले बोले–“प्रेस पास भनेको के हो थाहा छैन,गेट पास छ ५ सय दिनुस् ।” काउन्टरका ति व्यक्तिले जवरजस्ती ५ सयको कार्ड भिडाउन खोजे,उनका अनुसार महोत्सवभर आउजाउ गर्न त्यो कार्डले काम गर्छ ।
अन्तत : पत्रकार टोलीका प्रतिव्यक्तिले रु ५० को टिकट लिएर प्रवेश पाए । “कस्तो अचम्म ,कस्तो कार्डको व्यवस्था हो,महंगो पो छ त,किन यस्ता कार्ड बनाएका हुन् ? ठग्न खोज्या त होलान्नी ।” छेउमा भेटिएका सिपालीका अजय तामाङले भन्नुभयो ।
नमोबुद्ध उद्योग वाणिजय संघको आयोजनामा जारी महोत्सवको चोथो दिन भईसक्दा पनि अधिकांस स्टलहरु खाली देखिएका छन् । ति खाली स्टलहरुमा कतै फोहोर थुपारिएका छन् त कतै कुकुरहरुलाई खेल्ने ठाउँ मिलेको छ ।
इट्टा मजदुर लुट्ने वहाना
चौथो दिनसम्म महोत्सवमा आउनेमा अधिकांस स्थानिय इट्टा मजदुर रहेको स्रोतले बताएको छ । भकुण्डेमा रहेको ८ वटा इट्टा उद्योगकै बिचमा गरिएको महोत्सवलाई यहाँका स्थानियले इट्टा मजदुर भुलाउने महोत्सवको संज्ञा दिएका छन् ।
जिल्लाका कोशीपारी,डाँडापारी,तेमालका साथै अन्य जिल्लाका समेत विकट ग्रामीण बस्तीबाट दैनिक ज्याला मजदुरीमा काम गर्दै आएका हजारौं मजदुरका बालबच्चा सबैलाई महोत्सवले भुलाएका हुन् । सिपालीकै समिर लामाले भन्नुभयो–“दुईटा बच्चा यतै हामीलाई सघाउँथे,महोत्सव सुरु भएदेखी राती अवेरसम्म नाकमुख देखिने हैन,वरपरका साथीहरु पनि इट्टा पार्न छाडेर आए,हामी पनि आयौं ।”
इट्टा मजदुरले यहाँका स्थानिय इट्टा उद्योगमा काठे साँचोबाट इट्टा बनाए वापत प्रतिगोटा १ रुपैयाँ पाउँछन्,एक जनाले दिनको हजार देखी १५ सयसम्म इट्टा पार्न सक्छन्,त्यसैबाट आएको ज्यालाबाट गुजारा चलाउँछन् । मजदुर लामाले भन्नुभयो –“साहुबाट १ लाख ५० हजार पेश्की लिईसकेको छु,पैसा सकिन लाग्यो तर काम पुरा भएको छैन,सिजन सकिन लाग्यो,यता महोत्सव लागिहाल्यो ।” उहाँका अनुसार यो सिजनमा लिएको पेश्की बराबरको काम नगरे पेश्की फिर्ता गर्नुपर्छ ।
स्थानिय नगरप्रशासन र उद्योगीबिच यो क्षत्रेबाट २०७६ असार मसान्तपछि इट्टा उद्योग बन्द गर्ने सहमति भएको कुरा थाह पाएको बताउने मजदुर समिरलाई इट्टा उद्योग सञ्चालकबाट लिएको पेश्की फस्र्यौट गराउन हम्मेहम्मे हुनेछ । उहाँलाई फट्टाफट काम गर्ने वातावरण आवश्यक छ । उहाँको भनाईमा पनि नमोबुद्ध महोत्सवले आफूजस्तै मजदुर र तिनका बालबच्चाहरुलाई रुमल्याईरहेको छ । स्रोत भन्छ–“इट्टा मजदुरहरुको बिचमा आएर अप्रत्यक्ष रुपमा अल्मल्याउने र लुट्ने वहाना हो महोत्सव ।”
खानेकुरामा मनपरी,छेउमै फोहोर,पानीको ईनार उस्तै
“बजारमा ५०÷६० रुपैयाँमा पाईन्छ यहाँ त मःम कै १ सय ३० लिए ।”–नमोबुद्धकै स्थानिय अर्जुन चिमौरियाले भन्नुभयो । परिवार सहित आउनुभएका उहाँका अनुसार उहाँले मःम र चाउमिनको रेट अगाडी नै सोध्नुभएको थियो तर स्टलका खाना÷खाजा व्यापारीले बताएनन्,त्यसको जवाफमा सिधे भनेका थिए “बस्नु न बस्नु,पहिला खानुन,पैसाको के कुरा ।” खानेकुराका अधिकांस स्टलहरुमा मेनु राखिएको छैन,जसले गर्दा उनिहरुलाई ठग्न सजिलो भएको छ । स्थानिय संघसंस्थासँग सहकार्य नगरेकोले महोत्सव व्यवस्थीत बनाउन खासै स्वयम्सेवकहरु खटिएका छैनन् ।
महोत्सव आयोजकले सरसफाईमा पनि ध्यान दिएको छैन । स्टलहरुले पनि जथाभाबी फोहोर फ्याँकेका छन् । खानेकुराको स्टलमा खानेकुरा छेउमै फाहोर थुपारिएका छन् । प्रदुशनमुक्त नगर बनाउने नमोबुद्ध नगरको सपनालाई धज्जी उठाएको छ । प्लाष्टीक जन्य फोहोर बस्तु जतातजै देखिन्छन् ।
थुप्रै स्टलले इनारको पानी प्रयोग गरेका छन् तर ईनारवरपर पनि फोहोर देखिन्छन् । यसले महोत्सव आयोजक जनस्वास्थ्यप्रति कत्ति संवेदनशील छन् यसको पुष्टी गर्छ । दैनिक स्वास्थ्य परीक्षण समेत राखिएको भनिएको महोत्सव आयोजकले यो दुई जिब्रे चरित्र देखाएको भान हुन्छ ।
स्थानिय उत्पादन, शुपथ मुल्यमा दैनिक उपभोग्य बस्तु,कला संस्कृति र वेशभुषालाई उत्तिकै स्थान दिने भनेको आयोजकले यसप्रति एक रत्ति पनि सोचेको देखिएन । उद्योगी,व्यापारी भन्दा पनि किसान प्रधान रहेको नगरको नगर कार्यालयको सहयोगमा आयोजित महोत्सवले किसानलाई कत्ति पनि सम्बोधन गरेको छैन ।
स्थानिय वखतसिं तामाङले भन्नुभयो –“चाहेको,खोजेको चिज केहि छैन,बजारमा भन्दा सस्तो पनि छैन,बेकार किन आउनु महोत्सवमा ? इट्टा मजदुरका बालबच्चादेखी उनिहरुसम्मलाई भुलाईरहेछ ।” भरिएका केहि स्टलमा पनि लत्ताकपडा,भाँडाकुडा र खानेकुराबाहेक अरु छैन । परम्परागत कला तथा पहिचान झल्किने केहि बस्तु छैन । केहि सरसामान किन्ने मनसायले महोत्सवमा देखिएका मानिसहरु स्टलहरु खाली देखिदा र केहि भरिएका स्टलमा पनि आफूले खाजेका बस्तु नपाएपछि दिक्क भएर फर्किन्छन् ।
मनोरञ्जन पार्कमा बालबालिका
महोत्सवको मनोरञ्जनपार्कमा राखिएको रोटेपिङ खासै आकर्षण बन्न सकेको देखिएन । बालबच्चाले भने मनोरञ्जन लिन पाएका छन् । अधिकांश बच्चाहरु पार्कमा बनाइएको आयर वाटर बुम पोखरीमा मोटरबोटमा खेल्न पाउँदा दंग छन् । साथै स्प्रीङ जम्प खेल पनि रुचाएका छन् ।
भिडियो हेर्नुहोस् ।
मेयर शर्माको गाम्भीर्यता रहला ?
भकुडण्डेमा सञ्चालनमा रहेका इट्टा उद्योगलाई हटाउने सवालमा नमोबुद्ध नगरका प्रमुख(मेयर)ले आफू निर्बाचित भएलगत्तै भन्नुभएको थियो–“वातावरण प्रदुशन मात्रै हैन,यहाँ ध्वनी प्रदुशन पनि व्यापक भईरहेको छ,स्थानियले राम्रोसँग सुत्न नपाएको गुनासो गरिरहेका छन्,त्यसैले इट्टा उद्योग बन्द गर्नुको विकल्प छैन ।”
उहाँका अनुसार इट्टा उद्योगमा इट्टा पार्ने ठेक्का लिएका स–साना ठेकेदारहरुले पालैपालो राती अवेरसम्म नाचगान सहितको भोज गर्छन,त्यसको होहल्लाले स्थानिय दिक्क छन् । मजदुरहरुले दिनभर काम गरेर आफ्नै वासस्थानमा दुखसुख रिफ्रेस गरिदा ध्वनी प्रदुशन हुने नगरलाई माईल टाढासम्म सुनिने ढ्वाङ माईक सहित ठुला ठुला साउण्ड सिस्टममा झण्डै आधारातसम्म समुदायले नपचाउने आईटम डान्स नचाउँदा,भाडाका कलाकारले चिच्याउँदा आनन्द महसुस त भएको छैन नै ।
स्थानिय सामाजिक अभियन्ता सुदर्शन तामाङ भन्नुहुन्छ–“स्थानिय भट्टिको लोकल रक्सीलाई अवैध देख्ने नगर प्रशासनले महोत्सवको प्रायोजकको नाममा ठडिएको हजारौं रुपैयाँ पर्ने रक्सीको बडेमानको होर्डिङ बोर्डलाई स–गर्व लिन सक्छन् ? विश्वास गरौं मेयरसाब गम्भीर हुनुहुन्छ । ”