नमोबुद्ध संवाददाता :
धुलिखेल–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले भकुण्डेलाई कुरुप बनाउनेगरी सञ्चालित इट्टा उद्योगका सञ्चालक तथा उद्योगीको करोडौं रुपैयाँ डुबेको हेर्न नचाहेको बताउनुभएको छ । भकुण्डेमा सञ्चालित सबै इट्टा उद्योग बन्द गर्ने बारे नमोबुद्ध नगरपालिका र इट्टा उद्योगीबीच सहमति पत्रमा हस्ताक्षर गर्नुपुर्व शनिबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–“उहाँहरुको करोडौं डुब्न दिने कुरा पनि भएन,यत्ति समय त धुवाँधुलो खायौं अझै ६ महिना खाऔं ।”
केसीको कुरा सुनेका एक स्थानिय किसानले पत्रकारसँग तत्काल प्रतिक्रिया व्यक्त गरे । ति किसानले भने–“ जुन सहमतिपत्र तयार पारिदैछ,किसानका मागको अझै सुनुवाई होला जस्तो छैन,प्रमुखज्युले बडो गज्जवले भन्नुभयोकी ६ महिना अझै धुवाँ खाऔं भनेर,हामी स्थानियको स्वास्थ्यमा कत्ति असर परेको छ थाह छैन र ? इट्टा उद्योगकै कारण पानीको हाहाकार मच्चिदैछ अनि हाम्रो पिडालाई किन ख्यालख्याल सोचिदैछ ?”
यद्यपी जिल्ला समन्वय समितिको हलमा जिल्ला समन्वय समितीको सहजिकरणमा नमोबुद्ध नगरपालिका,प्रहरी प्रशासन,प्रभावित स्थानिय किसान र उद्योगी व्यवसायी बिचको घम्साघम्सीबिच तिनै भकुण्डेमा रहेका इट्टा उद्योगबारे सहमति भने गरिएको छ । भौगोलिक दृष्टिले निकै सानो उपत्यका भकुण्डेमा दिनहु बढ्दै गएको इट्टा उद्योगबाट निस्कने धुवाँले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको अवस्थामा यो आर्थिक वर्षसम्मलाई ति उद्योग चलाउन दिने सहमति भएको हो ।
अर्का किसान प्रतिनिधिले भने–“कस्तो चलखेल भयो थाह छैन,पहिला हामीसँग भएको सहमतिका थुप्रै कुरा यो सहमति पत्रमा अटाएन,जनताको स्वास्थ्यको जिम्मा कसले लिने ?,अझै केहि महिना त उद्योग चल्छनी,अरु ठाउँमा लगेर पनि चलाउन सकिने भयो,अर्को विकल्पतिर लाग्नुपर्दैन ?”
नगरपालिका प्रमुख टिपी शर्माले यसलाई भकुण्डे बेसीमा सञ्चालित उद्योगको विकल्प खोज्ने बारेको सहमतिको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“नगरलाई ग्रिन सिटिको रुपमा विकास गर्ने,कृषिबाट माथि उठ्ने खालका सरकारी तथा गैरसरकारी तहका विभिन्न अनुदानहरु रोकिएकोले बाध्य भएर यो सहमति गरिएको हो ।” स्थानीय तहको निर्वाचनबाट निर्वाचित भए लगत्तै नगरप्रमूख शर्माले भकुण्डे बेसीमा सञ्चालित उद्योग बन्द गर्ने बताउनुभएको थियो ।
थप हेर्नुहोस्
मापदण्ड विपरित सञ्चालन भइरहेको उद्योगले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको भन्दै नगरप्रमूख शार्माले प्रशासन लगाएरै भएपनि उद्योग बन्द गर्ने चेतावनी दिएपछि केहि दिन यता उद्योगहरुले इट्टा पोल्न रोकेका थिए ।
सहमतिपत्रमा हस्ताक्षर हुनुअघि पत्रकारहरुको तर्फबाट काभ्रेका बरिष्ठ पत्रकार मुधुसुदन गुरागाईंले नगरपालिका अनावश्यक रुपमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो–“जिल्लाका प्राय स्थानिय तहमा इट्टा उद्योग छन्,किन नमोबुद्ध नगरमा मात्रै लफडा ?,सघंको अनुमति पाएका ति उद्योगहरु मापदण्ड अनुसार छन् या छैनन् यो कुरा संघले बोलिसकेको छ,अझै केको झगडा ? यहाँ हामीलाई शंका छ ।”
पत्रकार सम्मेलन भनि बोलाएर पत्रकारलाई साक्षी मात्रै बनाउन खोजेको तर्क गर्दै उहाँले भन्नुभयो–“आज जुन सहमतिपत्रमा हस्ताक्षर गरिदैछ,यो कुरा नगरसभा या नगरकार्यपालिकाले पारित गरेको छ ? अनि संघको अनुमतिमा चलेका यि उद्योग नगरपालिकाले बन्द गर्न पाउँछ ?” जनतालाई मर्का नपर्नेगरी उद्योग सञ्चालन भएमा नगरलाईनै फाईदा पुग्ने भन्दै उहाँले यो लफडालाई नगरपालिकाको अपरिपक्कताको रुपमा व्यक्त गर्नुभयो ।
उहाँले विधि र प्रक्रिया अनुसार अघि बढ्न सुझाव दिनुभयो । त्यहि क्रममा जिल्ला समन्वय समितिका प्रमुख केसीले जनप्रतिनिधि तथा आफुहरुले जे सहमति गर्यो त्यहि विधि र कानुन हुने तर्क गर्नुभयो ।
पत्रकारको आक्रोस तथा सरोकारवालाको घम्साघम्सी रोक्दै जिल्ला समन्वय समितिका प्रमुख केसीले के भने ? भिडियोमा हेर्नुहोस् ।
नगर प्रवक्ता सञ्जीव ढकालले इट्टा उद्योगबारेको सम्पुर्ण निर्णयको अधिकार नगरप्रमुखलाई दिइएको तर्क गर्नुभयो । उहाँका अनुसार कुनै पनि उद्योगले मापदण्ड पुरा नगरेको पाइएपछि हालको स्थानबाट अन्यत्र उद्योग सार्ने निर्णय नगरकार्यपालिका र नगरसभाले गरेको थियो । २०७६ असार मसान्तबाट बन्द गर्ने गरी भएको सहमति पत्रमा हस्ताक्षर गर्नेक्रममा ब्यवसायीहरुले पनि असन्तुष्टि जनाए ।
एक व्यवसायीले हलबाट बाहिरिदै भने–“करौडौं पैसा जोखिममा पर्यो,मुद्धा हाले हामीले जित्नेथ्यौं तर यहाँ हार्यौं,अब थाह भोकी भुकण्डेलाई इट्टा चाहिदैनरहेछ,घर बनाउनै पर्दैनक्यारे ।” सहमति अनुसार अब उद्योगीले भाडामा लिएका किसानका खेतहरुको सिमांकन गरी खेतीयोग्य बनाउनुपर्नेछ । भकुण्डेमा हाल ८ वटा इट्टा उद्योग सञ्चालनमा छन् ।
थप हेर्नुहोस् ।
सहमति तथा करार सम्झौता पत्रमा के के छन् ? बिस्तृत पढ्नुहोस् ।