
चित्र तामाङ :
धुलिखेल– देशका विभिन्न रेडियो स्टेशनबाट प्रशारण हुने कार्यक्रम ‘मनको अदालत’ अब पुस्तकमा पनि पढ्न पाईने भएको छ । जीवन र प्रेमको बास्तबिकतामा आधारित,युवाहरुको ढुकढुकी बन्न सफल एक चर्चित रेडियो कार्यक्रम ‘मनको अदालत’मा प्रस्तुत गरिएका श्रव्य सामाग्रीले अब पुस्तकको रुपमा ल्याईन लागेको प्रस्तोता(आर.जे)अनुज खड्काले जानकारी दिनुभयो । पुस्तकको नाम पनि ‘मनको अदालत’ नै हुने उहाँले बताउनुभयो ।
बिषेशगरी प्रेममा आईपर्ने अनेकन जटिलताहरुलाई सरल अबिब्यक्तिमा प्रस्तुत गरिने बहुचर्चित कार्यक्रम ‘मनको अदालत’ पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशन हुन लागेको हो,पुस्तक अहिले प्रेसको अन्तिम चरणमा रहेको छ । मनको अदालत सोलुखुम्बुका प्रेम बहादुर लामिछनेको सहयोगमा बजार आउन लागेको हो । “हरेक ब्यक्तिले एक पटक पढ्नैपर्ने कथाहरुको संगालो हो मनको अदालत, त्यसैले यसको प्रकाशनका लागि हात अगाडी बढाएको हुँ ।” लामिछनेले भन्नुभयो ।
पुस्तकमा प्रेमका विभिन्न आयामहरु समेटिएको प्रस्तोता÷लेखक खड्काले बताउनुभयो । मान्छेको मन र मस्तिष्क बिच उत्पन्न हुने अन्तरद्वन्दलाई परिभाषित गर्दै, प्रेमको कठिन परिस्थितिमा सहज जीवनयापनको निम्ति पुस्तकले मद्दत गर्ने उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ–“आफुलाई माया गरे जस्तै गर्ने र आफूले धेरै माया गर्ने कुनै एक त्यस्तो ब्यक्ती, आफैसङ्ग अलगियो भन्दैमा कहाँ टुङ्गिन्छ र यो जिन्दगी । बाँच्नु त छँदै छ । बाँच्नु छ भने हाँसेर किन नबाँच्ने ? बितेको बिगतलाई सम्झिएर, भैरहेको बर्तमान बिगार्ने मान्छे कसरी प्रेमी हुन सक्छ ?”
मनको बहकाउबाट तपाईलाई जोगाउदै, जीवनको सार्थकता खोज्न मनको अदालतले प्रेरणा दिनेमा लेखक खड्का बिश्वस्त हुनुहुन्छ ।
समाजले प्रेमलाई हेर्ने दृष्टिकोण, प्रेमबाट मान्छेले पाउने आनन्द र पिडा, जातिय बिभेदका कारण टुङ्गिएको प्रेम, प्रेम पाईसकेपछि मान्छेको जिन्दगीमा पर्ने प्रभाब र गुमाईसकेपछी पर्ने असरलाई पुस्तक भित्र निक्कै कलात्मक तरिकाले उधिनिएको छ ।
लेखक खड्का भन्छन, “प्रेम मान्छेको त्यो उपलब्धी हो,जसले खुशी र पीडा दुबैको अनुभूति दिलाईदिन्छ मान्छेलाई, तिनै अनुभुतीहरुलाई शब्दको माध्यमद्वारा ब्यक्त गरेको छु ‘मनको अदालत’मा,प्रेम जीवनको उर्जा हुनुपर्छ भन्ने सन्देस दिनेमा म ढुक्क छु ।”
युवा पाठकहरु माझ निक्कै लोकप्रीय बन्ने अपेक्षा गरिएको मनको अदालतको भाषा सम्पादन, करिब एक दर्जन भन्दा धेरै पुस्तक लेखिसक्नु भएका लेखक रोशन दाहालले गर्नुभएको छ ।
सम्पादक दाहालले नेपाली साहित्यमै मनको अदालत पृथक बिधा भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ–“मुक्तक संग्रहहरु त धेरै छापिएका छन नेपालमा तर मुक्तकबाट कथाको उठान गरेर, मुक्तकले नै टुङ्ग्याएको यो पहिलो पुस्तक हो । मुक्तकको भाबमा कथा लेख्नु र कथाको भाबमा मुक्तक सिर्जना गर्न सक्नु लेखकको अद्धितिय क्षमता मान्नुपर्छ ।”
जिन्दगी देखि नै तर्सिदै बाँचिरहेको छु ।
सम्झनाहरुमा छटपटिदै बाँचिरहेको छु ।
न त दैव मेरो भयो न त आफ्नो कोहि ।
बाध्यतामा रुमलिदै बाँचिरहेको छु ।
मनको अदालतमा समाबेश एक मुक्तक हो यो । यस मुक्तकको भाबमा करिब ५ पेज लामो कथा पनि छ । बाध्यतामा रुमलिदै बाच्नुपर्ने बिवशतालाई कथामा उठान गरिएको छ । यस्तै अन्य ५२ ओटा कथा र करिब १५० भन्दा धेरै मनछुने मुक्तकहरु पुस्तक भित्र समेटिएका छन ।
पुस्तकको बारेमा पाचपोखरी प्रकाशन गृहका राम श्रेष्ठ भन्नुहुन्छ– “यो पुस्तक सुरुमा पठाउँदा कुनै फन्टुस प्रेम कथा र रोनाधोनाले भरिएको होला भन्ने लागेको थियो । तर यो त रोनाधोनाबाट कसरी उम्कने भन्ने अचुक उपाय रहेछ । त्यसैले हामी आफ्नै खर्चमा प्रकाशन गर्छौं भन्ने प्रस्ताब राख्दा, लेखक स्वयमले अर्को पुस्तक चाहिँ गरौला भन्नू भो । जे होस् उत्कृष्ट लाग्यो । पुस्तकले मेरो जस्तै धेरैको मन जित्नेमा ढुक्क छु ।”
पुस्तकको पेज र कभर भने ग्राफिक्स डिजाईन काठमान्डौद्वारा गरिएको हो । आउदो माघमा बिमोचन गर्न लागिएको पुस्तकको हजारौ प्रति पहिलेनै अग्रिम वुकिङ भैसकेको लेखक खड्काले जानकारी दिनुभयो ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ बिरुवाटारमा जन्मिनुभएका खड्का, रेडियो यात्राका दौरान नेपालका विभिन्न जिल्लाहरुमा पुग्नुभयो । चितवनको ग्रेट एफ.एमबाट आफ्नो रेडियो यात्रा सुरु गरेका खड्काले, सुनसरी र सोलुखुम्बुका केही रेडियोहरुमा पनि आफ्नो खुबी देखाउनुभएको छ । उहाँको करिब १ दशक लामो रेडियो यात्राको क्रममा, दर्जनौ लोकप्रीय कार्यक्रमहरु प्रसारण भैसकेको छ ।