-
नमोबुद्ध संवाददाता
काठमाडौँ, २५ मंसिर २०७५ । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा डिसेम्बर ८ र ९ मा कोलकातामा ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सम्पन्न भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भारतीय राष्ट्रियता निर्माणमा नेपालीभाषी समुदायको महत्वपूर्ण र निर्णायक भूमिका रहेको उल्लेख गर्दै नेपालीभाषी समुदायले भारतमा आफ्नो पहिचानको निम्ति भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका कार्यहरू गरिरहेकामा प्रशंसा गर्नुभयो । उहाँले क्षेत्रीय आधारमा मिलेर सबैले प्रभावकारी कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईँका अनुसार भारतीय भाषा परिषद् भवनमा सम्पन्न सम्मेलनमा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, रामजी तिमिल्सिनाले ‘डायास्पोरा नेपाली साहित्य’ र प्रा. टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरू हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल भएको थियो ।
नेपाल लगायत भुटान र म्यान्मारका साथै भारतका विभिन्न प्रान्तका प्रतिनिधि साहित्यकारहरूको सहभागिता रहेको गोष्ठीमा नेपाली, हिन्दी, बंगला, मैथिली, पन्जावी, भोजपुरी, असमी र उर्दु भाषाका चालीस कविहरूले कविता वाचन गरेका थिए ।
सो अवसरमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसङ्ग्रह (बङ्गाली भाषा) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता संग्रहको विमोचन गरिनुका साथै तुल्सी प्रभासद्वारा निर्मित सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिएको थियो । सम्मेलनको अन्तिम दिन बहुभाषिक कविगोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा नेपाली, हिन्दी, बंगला, मैथिली, पन्जावी, भोजपुरी, असमी र उर्दु भाषाका चालीस कविहरूले कविता वाचन गरेका थिए ।
सम्मेलनमा नेपालबाट कुलपति उप्रेतीसहित हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारी, श्याम रिमाल लगायत सहभागी हुनुभएको थियो । कार्यक्रममा नेपाल लगायत भुटान र म्यान्मारका साथै भारतका विभिन्न प्रान्तका प्रतिनिधि साहित्यकारहरूको सहभागिता रहेको थियो । सम्मेलनको अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सम्मेलन नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गो र संयुक्त नेपाली केन्द्रीय सेवा संघको सहयोगमा सम्पन्न भएको थियो ।