
नमोबुद्ध संवाददाता :
दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार हिन्दुहरुले फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई पूजाआजा गरिएको दसैँँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ ।
फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजाआरधना गरिन्छ ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
तामाङ समुदायमा “आखे छ्योअीबा” अर्थात “खेप्पा स्हुङ”
यत्तिबेला नेपालका तामाङ लगायतका आदिवासी आफ्नै शैलिमा आफ्नै पर्व मनाउँछन् । तामाङ समुदाय त म्हेनिङ मनाउँछन् । उनिहरु आज हिन्दुको शक्तिपिठ धाउदैनन्, फूलपाती भित्र्याउनेभन्दा “आखे छ्योअीबा” अर्थात “खेप्पा स्हुङ” पुजा गर्छन् ।
प्रकृति पुजक यि समुदाय आफ्ना सिमेभुमे देखी पितृसम्मलाई सम्झन्छन्,सम्पुर्ण प्राणी जगतको कल्याणको कामना गर्दै कत्तिपय ङ्युङ्ने(ध्यान ब्रत) बस्छन् । यि समुदाय प्रकृति अनुकुल असोजमा आफुहरुले मनाउने म्हेनिङको ठाउँमा हिन्दुले चैतमा मनाउने दशैं खप्टएको र यो आफ्ना मौलिक म्हेनिङ पर्व बिस्थापित गर्ने षड्यान्त्र रहेको आरोप लगाउँछन् ।
राज्यको तामझामनै किन ?
वास्तवमा नेपालका उत्पीडित आदिवासी जनजाती समुदाय गोरखाबाट काठमाण्डौं फूलपाती भित्र्याउनुको मुख्य पाटो धर्म र सँस्कृतिसँग मात्र जोडिएको विषय मान्दैनन् । राज्य विस्तारको क्रममा शाह वंशराजा खलक काठमाण्डौं आएको र पछि यहि परम्परा सँस्कृति मुलुकभर थोपरेको उनिहरु बताउँछन् । यसरी खास समुदाय,धर्मसँग जोडिएको पर्वको विधि प्रक्रियामा त्यत्तिबेलादेखीनै राज्य पुर्वाग्रही भएको स्पष्ट छ । त्यसैले आज पनि जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याईदैछ ।
राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने राष्ट्रपति वा संस्कृतिमन्त्री उपस्थित हुने गर्छन् । यसरीनै यस वर्षको फूलपाती आज अपराह्न साढे चार बजे भित्र्याइदै छ ।
२०६३ देखी मुलुक धर्म निरपेक्ष भएपनि अझै यसरी हिन्दु समुदायको दशैं तिहार,शिवरात्री जस्ता चाडपर्वमा राज्य स्रोतको गलत र मनोमानी दुरुप्रयोग हुदै आएको अन्य समुदाय गुनासो गर्छन् । उनिहरु भन्छन्–“जुन समुदायको पहिचान नामेट पारिए,तिनको सँस्कृति र अस्तीत्व बचाउमा चासो नराख्ने राज्य दशैं,तिहार,शिवरात्री जस्ता चाडपर्वमा झुलेर बस्छन्,महिनौं शैक्षिक संस्था बन्द गराउँछन्,सार्वजनिक विदा दिन्छन्,उत्सव मनाउँछन् । यसले अझै हिन्दु राज्यको आभाष दिलाईरहेछ, अन्य समुदायलाई आफुलाई राज्यको बहिस्करणमा पारिरहेको भान दिलाईरहेछ ।”