नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं–जन भावना विपरीत विभिन्न प्रदेशहरुले भट्टाभट आफ्ना प्रदेशको नामाकरणका साथै स्थायी राजधानीहरु तोक्न थालेपछि प्रदेश ३ का आदिवासी समुदाय सशंकित भएका छन् । संघियता कार्यन्वयनका क्रममा प्रदेश सरकारहरु आफैं एकात्मक सोचका साथ मनोमानी प्रवृत्तिमा प्रश्तुत हुन थालेपछि प्रदेश ३ का मुख्य आदिवासी समुदाय खबरदारीमा उत्रेका छन् ।

उनिहरुले प्रदेश ३ लाई नेवा : ताम्सालिङ नामाकरण गर्न माग गरेका छन् । काठमाण्डौं उपत्यका सहित आसपासका प्राय जिल्लाका भुभागहरुमा आदिम कालदेखी बस्दै आएका नेवार,तामाङ लगायतका समुदायले यस्तो माग गरेका हुन्।
नेपालको प्रशासनिक केन्द्र सिंहदरबार छेउ माईतीघर मण्डलामा आईतबार उनिहरुले नेवा ताम्सालिङ समन्वय समितिको अगुवाईमा शान्तिपूर्ण धर्ना दिए ।

राज्यको अनेकन विभेदका बिच पनि यहाँको भुमि बचाउने आदिवासी समुदायको सम्मानका लागि प्रदेश ३ को नाम नेवा : ताम्सालिङ बनाउन माग राख्दै उनिहरुले बारम्बार दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

ईतिहास जानकारका अनुसार पूर्वमा दुधकोसी,पश्चिममा बुढीगण्डकीसम्म तामाङ समुदायको विशेष थातथलो(ताम्सालिङ),काठमाण्डौं उपत्यका नेवार समुदायको आदि थलो हो,यि अधिकांश भुगोल अहिले प्रदेश ३ भित्र पर्दछ ।

ऐतिहासीकता,यि भुगोलमा रहेका बाहुल्य जनताको भावनाको सम्मानका लागि प्रदेशको नाम नेवा ताम्सालिङ राख्दा अति उपयुक्त हुने उनिहरुको तर्क छ । राजनीतिक पुर्वाग्रही र एकात्मकबादी सोचाई भएकाहरुले “नेवा : ताम्सालिङ” नेवार र तामाङको मात्रै सवाल हो भनि संकुचित सोचले व्यवहार गर्दै आएकोमा दुख व्यक्त गर्दै उनिहरुले भनेका छन् – “नेवा :ताम्सालिङ,सबैको झम्बुलिङ” अर्थात नेवा : ताम्सालिङ प्रदेश,सबैको साझा संसार(राज्य) हो,जहाँ सबै जातजातीको आत्सम्मान उत्तिकै हुन्छ ।

दलहरु यसअघि पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नामाकरण गर्न सहमत भएको र संविधानले पनि प्रदेशको वहुसंख्यक जनताको भावना अनुसार प्रदेशको नामाकरण गर्न सकिने व्यवस्था गरेकोले यहि मुताविक आफूहरुको माग सान्दर्भिक र जायज भएको उनिहरुको भनाई छ । प्रदेश ३ मा रहेका काभ्रेपलाञ्चोक,सिन्धुली,नुवाकोट,रसुवा,धादिङ, मकवानपुर,काठमाण्डौं,ललितपुर,भक्तपुर लगायत १३ जिल्लामा नेवार र तामाङ समुदायको वाहुल्यता छ ।

मुलुकमा पछिल्लो राजनीतिक उपलब्धी हाँसील हुनुमा सबै जात जाति,समुदायको बलिदान रहेको स्मरण गराउँदै नेपाल तामाङ विद्यार्थी घेदुङका लोक वहादुर लामा अझै मुलुक बचाउने आदिवासी जनजाति समुदायको योगदानको कदर हुनेमा आसंका रहेकोले खबरदारी आवश्यक रहेको बताउनुहुन्छ ।

पिछडिएका,आदिवासी जनजाति सिमान्तकृत समुदायका लागि उनिहरुको मर्मअनुसार,संविधानले बोलेअनुसार राज्यको व्यवहार नदेखिएकोले आफूहरु चुप लागेर बस्न नसकेको नेवा ताम्सालिङ समन्वय समिति काभ्रेका संयोजक फुर्साङ लामाको भनाई छ । उहाँजस्तै ३ नम्बर प्रदेश सहित मुलुकभरका नेवार र तामाङ प्रतिनिधिहरु राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउन तथा जन ऐक्यवद्धता बटुल्न आईतबार काठमाण्डौं पुगेका हुन् ।

संविधानिक व्यवस्था अनुसार दनुवार,जिरेल,माझी,हायु जस्ता अल्पसंख्यक,सिमान्तकृत, समुदायको विशेष संरक्षित स्वायत्त क्षेत्र घोषणा नगरि राज्य अघि बढ्न खोजेकोमा पनि उनिहरुले आपत्ति जनाएका छन् । उनिहरुको मागमा केहि अन्य गैर आदिवासी समुदायकाहरुले समेत खुलेर समर्थन जनाएका छन् ।  एक महिना अगाडी उनिहरुले नेवारःतामाङ बाहुल्यका सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस !