नमोबुद्ध संवाददाता

काठमाण्डौं–२३ औं तामाङ चलचित्र प्रदर्शन दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा शुक्रबार राजधानीमा तामाङ चलचित्र संघले शुभकामना आदानप्रदानका साथै सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्यो ।

तामाङ चलचित्र निर्माण तथा प्रदर्शनको सवालमा २०५२ सालमा निर्मीत “सेम्री छोरङान” लाई जेठो मानिन्छ ।

यहि चलचित्र निर्माण तथा प्रदर्शनको एतिहासीक घडीलाई साक्षी राखी तामाङ चलचित्र प्रदर्शन दिवस मनाउने क्रममा यो पटक संघले यस क्षेत्रसँग सम्बन्धित ७ जनालाई सम्मान पनि गर्यो ।

यस पटक संघले नायक कुमार मोक्तान,नायिका सुकु मोक्तान,खलनायक विकु थोकर,निर्देशक अमिर दोङलाई सम्मान गरेको हो । साथै निर्मात्री मंगलीमाया स्याङतान्,संगीतकार विशाल काल्तान र चलचित्र पत्रकार जयनकुमार मोक्तान पनि सम्मानित भएका छन् ।

कलामार्फत तामाङ चलचित्र क्षेत्रको विकास र सामुदायिक जागरणमा ति उनिहरुले पुर्याएको महत्वपुर्ण योगदानलाई कदर गर्दै सम्मान गरेको संघका अध्यक्ष जेनिश लामाले जानकारी दिनुभयो ।

आजसम्म १ सय ४० को हाराहारीमा तामाङ चलचित्र निर्माण भएको जानकारी दिनुहुदै संघका अध्यक्ष लामाले चलचित्र मार्फत आफुरुहरुले समाज रुपान्तरणमा गरेको योगदान राज्यको आँखामा पुग्न नसक्नु दुखत रहेको बताउनुभयो ।

उहाँले हिजोसम्म थुप्रै चलचित्र, चलचित्र विकास वोर्ड तथा सेन्सरमा अभिलेखीकरण गराउन नसकेकै करण पनि राज्यले पत्याउन नसकेको औंल्याउनुभयो ।

अध्यक्ष लामाले राज्यसँग नीतिगत संघर्षकै क्रममा खास समुदायको बाहुल्यता रहेका स्थानका हलहरुमा खास समुदायकै चलचित्र प्रदर्शनलाई स्थान दिनुपर्ने,केहि हदसम्म भएपनि राज्यबाट सेवा सुविधा लिन सक्ने अवस्था बनेको उल्लेख गर्नुभयो ।

साथै नेपाल एयरलाईन्स लगायतमा चलचित्र देखाउने व्यवस्था लगायतका उपलब्धीहरु हाँसील भएपनि त्यो सन्तोषजनक नरहेको उहाँको भनाई छ । उहाँले यत्तिबेला तामाङ चलचित्र प्रदर्शन गर्न तथा संस्कृति प्रवद्र्धनका अन्य कामहरु गर्न तामाङ साँस्कृतिक भवनको आवश्यकता खड्कीएको बताउनुभयो । उहाँले यसका लागि तामाङ कलाकार संघसँगै पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तामाङ चलचिञ संघमा लगातार दुई कार्यकाल अध्यक्ष रहेका लामाले तामाङ समुदाय भित्रनै सहकार्यको अवस्था नरहेको गुनासो गर्दै भन्नुभयो–“घेदुङले पनि हामीलाई आजसम्म सम्झेन,मैले अनुरोध गरेको छु–तामाङ समुदायमा लैजाने अभियानहरुमा तामाङ चलचित्रकर्मीहरु पनि सहभागी हुन पाउनुपर्यो,हामी पनि हाम्रा कलामार्फत समुदायसँग साक्षात्कार गर्न चहान्छौं,विदेशमा रहेका संस्थाहरुले पनि हामीलाई समेट्नुपर्यो ।”

तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईबाले पनि संस्कृति प्रवद्र्धनमा प्रभावकारी मानिएको चलचित्र र गीतसंगितलाई पस्किने थलो पाउन मुस्कील भएको भन्दै एउटा तामाङ साँस्कृतिक भवनको आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि तामाङ कलाकार संघ,चलचित्र संघ लगायतसँग सहकार्यमा अघि बढ्न सकिने उल्लेख गर्नुभयो ।

साथै उहाँले चलचित्र समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ केन्द्रित भए राम्रो हुने बताउनुभयो । समयको आवाजलाई टिप्न सके चलचित्र तथा गीतसंगीतको आवश्यकता चरितार्थ हुने उहाँको आसय थियो ।
कार्यक्रममा नेपाल आदीवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पनि तामाङहरुको छाता संस्था नेपाल तामाङ घेदुङले आफ्ना समुदायका लागि चालेका अभियानमा तामाङ चलचित्रलाई जोड्न नसकेकोमा दुख व्यक्त गर्नुभयो ।

उहाँले तामाङ चलचित्रकर्मीहरुमा देखिएको उत्साहप्रति भने खुसी व्यक्त गर्नुभयो । साथै उहाँले आदीवासी जनजाति समुदायमा तामाङ चलचित्रहरुले भाषा,सँस्कृतिको विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

“सेम्री छोरङान” का निर्देशक जयनन्द लामाले २३ औं तामाङ चलचित्र प्रदर्शन दिवसको यो घडी तामाङ समुदायकै गर्वको कुरा रहेको बताउनुभयो । यो छोटो समयमा पनि तामाङ चलचित्रकर्मीहरुले गरेका योगदान चानचुने नरहेको उहाँको भनाई छ ।

औपचारिक समारोहको समापनपछि तामाङ चलचित्र संघका साथै तामाङ कलाकार संघका कलाकारहरुले विभिन्न गीत संगीत तथा नृत्य प्रश्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !