जगत तामाङ,,,

साँगा–शुक्रबार विहान एक्कासी काभ्रेको साँगा ओरालोमा अभिभावक जस्तै देखिएका दर्जनौंसँगै संयौ विद्यार्थी बालबालिकाहरु नारा लगाउँदै र्यालीमा भेटिए । लौ के भयो ? के को आन्दोलन ? बाटो आउजाउको क्रममा देखिएका सर्वसाधारण यहि जिज्ञासामा देखिए ।

एकैछिनमा उनिहरु साँगा प्रहरी चौकी छेवैको स्थानिय पार्टी प्यालेसमा प्रवेश गरे । छेको रहेछ महिला हिंसा विरुद्धको सचेतनात्मक कार्यक्रम ।

यहि मेलो मेसोमा अधिकारकर्मीदेखी पत्रकार,जनप्रतिनिधि,प्रहरीसम्म जुटेका थिए । महिला हिंसा बढोत्तरी भएकै कारण परेको असरले आफुहरुको भविष्यमा खेलवाड हुनसक्ने भन्दै ति विद्यार्थी बालबलिकाहरुले खबरदारी गरेका रहेछन् ।

उनिहरुले “महिला,बालबालिकामाथि हुने विभेद बन्द गरौं”,“महिला हिंसा बन्द गर,पुरुष महिला समझदार बन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

रयाली देख्ने वित्तिकै सम्झना आयो “बालबालिका शान्ती क्षेत्र हुन् ।” भन्ने कुराको । कुनै बेला शैक्षिक संस्थामाथि राजनीतिक हस्तक्षेप भई मुठभेडसम्म हुने र यसले बालबालिकाहरुले शान्तिपुर्ण तवरले शिक्षा लिन नपाउने यो संक्रमण लम्बीदै जाँदा लोकप्रिय नारा बनेको हो यो ।

भलै मुलुकको शसस्त्र द्धन्दको समापनको अन्तिम घडीताका विद्यालय शान्ति क्षेत्र घोषणा भयो र बालबालिकालाई कुनै पक्षले पनि निहीत स्वार्थमा नारा सहितको जुलुस,बन्द हड्ताल,सभा जस्ता स्थानमा प्रयोग गर्न नपाउने भन्ने व्यवस्था कानुनमा भयो ।

तर शुक्रबार यहाँ कुनै राजनीतिक स्वार्थमा ति बालबालिका ल्याएका थिएनन्,आएका थिएनन् । बरु उनिहरुका लागि थप जिम्मेवार बोध गर्न पाउने राम्रो अवसर हो ।

महिला पुरुषबिचको विभेदले उब्जीएको विवादमा होस्,जाँड रक्सी खाएर हुन् या अन्य कारणबाट श्रीमान श्रीमती(बुबाआमा) को झगडा हुदा बालबलिका(छोराछोरी) लाई ठुलो मनौवैज्ञानिक असर त पर्छनै उनिहरु असल अविभावकत्वबाट पनि विमुख हुन्छन् ।

उनिहरुको पढ्ने,हुर्कने बेला (बुबाआमा) को झगडा हुदा दिर्घकालिन असर पर्छ , यो भनेको बालबालिकाको भविष्यसँग जोडिएको असर हो । यो ताजा सन्दर्भलाई जोड्न खोजिएको प्रष्ट हुन्थ्यो शुक्रबारको कार्यक्रममा ति बालबालिकोको सहभागिताले । यस्तो अवस्थामा हिंसाको न्युनिकरण गरी असल समाज निर्माणमा उनिहरुको भुमिका पनि अवश्य हुनुपर्छ भन्ने सन्देश गयो शुक्रबारको सचेतनात्मक कार्यक्रम मार्फत ।

र्यालीपछि भएको औपचारीक कार्यक्रममा बनेपा नरपालिकाका उपप्रमुख रेखा दाहालले महिला हिंसाबट पिडित हुनुपरे सिधै नगरपालिकाको न्यायिक समितिमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

आजको परिवर्तनप्रति खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो–“आज आरक्षण प्रणाली भएकै कारण तपाईहरुले तपाईहरुको प्रतिनिधि महिला पाउनुभएको छ,पुरुषहरुसँग भिड्न दिएको भए सायद २० वर्षसम्म यो नगरको उपप्रमुखमा महिलालाई पाउन सक्दैन थियौं,किनकी समाज पितृसतात्मक भए जस्तै राज्य पितृसतात्मकनै थियो ।”

नगरको न्यायिक समितिका प्रमुख समेत रहेका दाहालले महिलाहरुलाई निडरका साथ लाग्न आग्रह गर्नुभयो ।

त्यसपछि बिचबिचमा झुल्कीएका गायक गोकुल राउतको प्रश्तुतीले कार्यक्रमको माहोल ताजा बनाईरह्यो । तरुणीहरुको १६ वर्षे जवानीको गीत गाउँदै चर्चा पाईरहदा कहिलेकाँही यस्ता गीतले पनि त महिला हिंसालाई प्रोत्साहन पो दिएकी भन्ने वहसका बिच काँठ क्षेत्रका गायक राउत यो पाली फरक शैलीमा प्रश्तुत हुनुभयो ।

बुढा बुढि मिलेर जुट
जाँड खाएर श्रीमती नकुट

यसरी आफ्ना ठट्यौली माया प्रेमका गीतलाई चटक्क विर्सेर राउतले गीतबाट सचेतना बाँडेपछि कार्यक्रममा सहभागि महिला,विद्यार्थीदेखी प्रहरीहरुसम्म नाचे ।

“है सानु”,“सेतो घोडा” जस्ता गीतमार्फत दर्शकस्रोताको मनमा छाएका राउतले गीतमार्फतनै यौनधन्दा बढोत्तरी हुदा बढेको हिंसा र अन्य हत्या हिंसालाई रोक्न आह्वान गर्नुभयो ।

हत्या हिंसा गरौं है बन्द
किन हुन्छ खुलेआम यौनधन्दा ?

राउतको गीतले जसरी नचाए त्यो भन्दा बढि गम्भीर बनाए अधिकारकर्मी भोजराज तिमल्सीनाको प्रश्तुतीकरणले । समाज निर्माणमा महिला पुरुषको उत्तिकै भुमिका रहने भन्दै उहाँले समाजमा मेलमिलापको निर्माण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिलाहरु सहनशील भएकै कारण पनि हिंसाका घटना बाहिर नआएको बताउनुभयो ।

पछिल्लो समय जिल्लामा पुरुष हिंसा पनि देखिन थालेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“आफुलाई सबैभन्दा धेरै माया गर्छ भने श्रीमानले गर्छ,सकेसम्म त्यसलाई बुझौं यदि त्यसो होईनरछ भने चुप लागेर नवसौं,न्यायप्राप्तिका लागि लड्नैपर्छ ।”
“मारे पाप,पाले पुण्य” भन्ने हिन्दु समाजमा चलेको उक्ति अनुसार महिलाहरु पुरुषप्रति चाहेभन्दा बढि समर्पित हुदा ज्यान लिनेसम्मको घटना भईरहेको उहाँले स्पष्ट पार्नुभयो । घटना भएदेखी कानुनी उपचार र पुनस्र्थापना गर्नसम्म जिल्लामा एउटा संयन्त्र रहेको जानकारी दिदै उहाँले महिलाहरुलाई अब शारीरिक,मानसिक हिंसा खेपीनरहन आह्वान गर्दा कार्यक्रममा सहभागि प्राय सबै महिला गम्भीर देखिए ।

उहाँले महिलामाथि कुटपिटका घटना तथा हिंसामा उपचार,सुरक्षा,बसोबास,कानुनी उपचार,खर्चोबर्चोको व्यवस्था र पुनस्र्थापनासम्ममा खटिने संयन्त्रको बारेको सरल भाषामा स्पष्ट पार्नुहुदा महिलाहरु खुसी देखिए ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले घरेलु हिंसाको मुख्य कारण मापसे रहेको दावी गर्नुभयो । यसलाई रोकथान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

पछिल्लो समय महिला हिंसाको शैली फेरिएकोबारे चर्चा गर्दै कार्यक्रमका बक्ताहरुले बैदेशिक रोजगारी मिलाई दिने भन्दै यो नाममा पनि महिला हिंसा भईरहेकोले यसतर्फ सचेत हुन पनि आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी,प्रहरी प्रमुख रविराज खड्का,प्रहरी चौकी साँगाका ईञ्चार्ज सानुबाबु बाँनिया लगायतले पनि महिला हिंसा रहित काभ्रे तथा लैंगिक मैत्री काभ्रे बनाउन सबैको भुमिका महत्वपुर्ण रहने बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेले आयोजना गरेको कार्यक्रमलाई बनेपा नगरपालिका वडा नम्बर १२,१३ र १४ वडा कार्यालयका तर्फबाट सहयोग मिलेको हो ।

प्रतिक्रिया दिनुहोस !