- नमोबुद्ध संवाददाता,,.
धुलिखेल,०६ जेठ :
तत्कालीन नेकपा एमाले काभ्रेको राजनीतिमा चीरपरिचीत अनुहार गोकुल बाँस्कोटा नेकपाको केन्द्रिय सदस्य बन्नुभएको छ ।
विहिबार तत्कालिन एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा तत्कालिन एमालेबाट केन्द्रीय कमिटीमा थप रहने ४५ सदस्यहरुमध्ये बाँस्कोटा पर्नुभएको हो ।
तत्कालिन एमाले तीन नम्बर प्रदेश कमिटि सदस्य,केन्द्रिय स्कुल विभाग सदस्य भएका बाँस्कोटा वर्तमान सरकारका सूचना तथा प्रविधि राज्य मन्त्री हुनुहुन्छ ।
काभ्रे जिल्लामा दशक लामो समय पार्टीको नेतृत्व गरेर दक्ष तथा क्षमतावान भएपनि उहाँ केन्द्रिय राजनीतिसंग जोडिन पाउनुभएको थिएन ।
जिल्लामा वहुदल स्थापनायता प्रमुख कम्युनिष्ट शक्तिको रुपमा स्थापित भईरहेको एमाले पार्टीमा बाँस्कोटा प्रखर वक्ता तथा दुरदर्शी नेताको रुपमा चिनिनुहुन्छ ।
नेपाली काँग्रेस तथा तत्कालिन माओवादीका जिल्ला नेताहरु पनि उहाँको क्षमताको प्रशंसा गर्छन्,यद्यपी जिल्लाबाट केन्द्रीय राजनीतिक पहुँचमा कुनै पार्टीका नेता नहुदा काभ्रेबाट नेतृत्वको विकास नभएको विश्लेषण गरिन्थ्यो र यथार्थ पनि यहि थियो ।
हाल गोकुल बाँस्कोटा केन्द्रीय राजनीतिमा जोडिएसंगै नेतृत्वमा खड्कीएको यो अभाव केहि हदसम्म मेटिएको छ ।
उहाँ केन्द्रिय सदस्य भएसंगै वधाई दिने शुभचिन्तकहरुको धुईरो लागेको छ । जिल्लाका कार्यकर्तादेखी सर्वसाधारणसम्मले भेटघाटका साथै टेलिफोन,सामाजिक सञ्जाल फेसवुक,टुईटर मार्फत बाँस्कोटा जस्ता एउटा असल र सक्षम नेताले केन्द्रीय नेतृत्वमा स्थान पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उहाँ केन्द्रिय सदस्य भएसंगै अब सुचना तथा सञ्चार प्रविधि मन्त्रालय हाँक्ने पुर्ण मन्त्री हुने विश्वास पनि काभ्रेली जनतामा पलाएको छ ।
नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय सदस्य समायोजन हुने सहमति भएको थियो ।
तत्कालिन एमालेको साविक केन्द्रीय कमिटीमा २ सय जना सदस्य रहेका थिए । ४१ जना थप्नुपर्नेमा त्यसको टुङ्गो लागेको हो ।
तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा प्रधानमन्त्री केपी ओली र नेता माधव नेपाललाई दिएको थियो ।
दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका,विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गर्नेक्रममा युवा नेता बाँस्कोटा पनि पर्नुभएको हो ।
उहाँ तत्कालिन एमालेको नवौं महाधिवेशनमा भुगोलबाट वैकल्पीक केन्द्रिय सदस्यको प्रतिस्पर्धामा पराजित हुनुभएको थियो ।
हाल नेकपाको केन्द्रीय कमिटीमा उहाँसंगै अर्थमन्त्री डा.युवराज खतिवडा,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल, एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल,युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी लगाएत थपिएका छन् ।
यसैबिच काभ्रेली माटोबाट हुर्किएको अर्को राजनीतिक प्रतिभा तत्कालिन मओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुर्यमान दोङ(लालध्वज) पनि नेकपाको केन्द्रिय सदस्य बन्ने चर्चा चलेको छ ।
२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित भई उर्जा राज्यमन्त्रीसम्म भएर राजनीतिक उचाई बढाएका लालध्वजलाई स्पष्ट बोल्ने,हक्की तथा जुझारु युवा नेता मानिन्छ ।
नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय नेता रहनेछन् । तत्कालिन माओवादीको केन्द्रीय सदस्य ४ हजारभन्दा बढी थिए । त्यसबाट केन्द्रीय नेता छान्न प्रचण्ड सहितका नेताहरुलाई सकस त परेकै छ ।
यद्यपी पुर्व राज्यमन्त्री भईसकेका,शसस्त्र जनयुदताका पार्टीको कुशल नेतृत्व गरेका,संघियता तथा पहिचानको आन्दोलनमा होमिएका जस्ता योगदानले पनि उहाँ अन्य संयौ आकांक्षीहरुलाई पछार्दै नेकपाको केन्द्रीय सदस्य बन्न योग्य रहेको विश्लेषण गरिन्छ ।