• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,०३ जेठ :
विहिबार विश्व उच्च रक्तचाप दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर नेपालमा पनि मनाइदैछ ।

यसबारे सचेतना जगाउन विहिबार काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,काठमाण्डौं सहितका विभिन्न जिल्लामा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका संस्थाहरुले जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् ।

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । अचेल यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ ।

खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको डाक्टरहरुको भनाइ छ । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ताको विषय बनेको छ ।

उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । जसका कारण शहरका मानिस यसको मारमा छन् ।

हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानिसमा उच्च रक्त चाप भएको देखिएको थियो । यो वंशाणुगत पनि हुन सक्छ ।

ब्लड प्रेसरको अवस्था

ब्लड प्रेसर दुई प्रकारका अंकको आधारमा नापिन्छ । माथिल्लो अंकलाई सिस्टोलिक भनिन्छ भने तल्लो अंकलाई डायस्टोलिक भनिन्छ ।

सिस्टोलिक भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने डायस्टोलिक भनेको मुटुको धड्कनको दुई गतिको बीचमा मुटुले आराम गर्दाको प्रेसर हो ।

मानौं तपाईंको प्रेसर १२०–८० छ भने १२० सिस्टोलिक हो भने ८० डायस्टोलिक प्रेसर हो ।

उपल्लो अंक १०० देखि १४० र तल्लो अंक ६० देखि ९० बीचमा छ भने त्यो रक्तचाप सामान्य हो । त्योभन्दा बढी हुनु भनेको उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरको अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप अर्थात् लो ब्लड प्रेसरको अवस्था हो ।

यदि रक्तचाप १२० देखि ७५ छ भने त्यो एकदम राम्रो आदर्श रक्तचाप हो ।

सावधान् !

हाई ब्लड प्रेसर तथा लो ब्लड प्रेसर दुवै हाम्रा लागि खराब हुन्छन् । उच्च रक्तचापको समस्या भएका मानिसमा जुनसुकै समय रक्तनलीहरू फुट्न सक्छन् ।

विशेषगरी, मानसिक तनाव भएको वेला, धेरै खुसी वा दुुःखी भएको वेला, धेरै शारीरिक श्रम गरेको वेला तथा अत्यधिक मद्यपान वा धूमपान गरेका वेला रक्तनलीहरू फुट्ने खतरा बढी रहन्छ ।

धेरै चिसो हावामा हिँडेको वेला पनि रक्तचाप बढ्न गई रक्तनली फुट्न सक्छ । यी अवस्थामा मानिसको मृत्युसमेत हुन सक्छ ।

डाक्टरहरुका अनुसार उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा:

१. उच्च रक्तचापका लक्षणहरु (टाउको भारी हुने, अल्छी लागिरहने, मुटुको चाल तेज हुने, छाती भारी हुने, चक्कर लाग्ने आदि) देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन र जाँच गर्न जानुपर्छ। यी यी लक्षण नदेखिए पनि उच्च रक्तचापको समस्या हुने भएकाले नियमित रुपमा जाँच भने गराउनुपर्छ।

२. उच्च रक्तचाप देखिएपछि हरेक बिरामीले चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।

३. उच्च रक्तचापका बिरामीले निश्चित अवधिमा शरीरका महत्त्वपूर्ण अंगको आवश्यक जाँचहरु गराउनुपर्छ।

४. दैनिक सामान्य व्यायाम गर्ने र सन्तुलित एवं स्वस्थ खाना खाने बानी बसाउनुपर्छ।

५. धूमपान तथा मद्यपान गर्नु हुँदैन।

६. तनाव रहित स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस !