
- नमोबुद्ध संवाददाता
जैशिथोक,११ बैशाख :
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ स्थित जैशिथोकका स्थानियले गाउँको उपस्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । दरबन्दी अनुसार कर्मचारी भएपनि गाउँमा सामान्य उपचार सेवापनि पाउन मुस्की रहेको उनिहरुको गुनासो छ । उनिहरुले उपस्वास्थ्यचौकी आउँदा कर्मचारी नभेट्ने गरेको आरोप लगाएका छन् । औषधी व्यवस्थापन,समयमा कर्मचारीको उपस्थिती,महिला स्वास्थ्य स्वयम्सेवीकाको परिचालन गरी सेवा प्रभावकारी बनाउन उनिहरुले आग्रह गरे ।
उनिहरुले हाल सरकारले ७० किसिमको औषधी निशुल्क दिने घोषणा गरेपनि कुरामा मात्र सिमित भएको गुनासो गरे । हाल उपस्वास्थ्य चौकीबाट दिने ३५ प्रकारको औषधी कहिल्यै देख्नसम्म नपाएको उनिहरुको भनाई छ । स्थानिय हौईसेल तामाङले भन्नुभयो –“सरकारले धेरै औषधी सित्तैमा दिने भनेको छ, यहाँ सिटामोल पनि पाईदैन, अब भन्नुस् हामीले सिटामाल कहिले पाउने ?”
एक्सन एडको आर्थिक सहयोग र शैक्षिक नमुना ग्रामिण विकास केन्द्रको व्यवस्थापनमा जैशिथोक उपस्वास्थ्य चौकी आफैंले आईतबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले यस्तो दुखेसो पोखेका हुन् ।
स्थानिय शिक्षक बाबुकृष्ण पराजुलीले गाउँघर क्लिनिक पनि काम चलाउ भएको बताउनुभयो । गाउँघर क्लिनिकको बारेमा स्थानिय आफैं बेखबर रहेको,समयमै कर्मचारी नपुगेका कारणले पनि यो सेवा प्रभावकारी नभएको उहाँको तर्क छ । उपस्वास्थ्य चैकीले माथिल्लो झगडडाँडाका स्थानियलाई विभेद गरेको स्थानिय महिला सुलोचना तामाङले बताउनुभयो । त्यस्तै सविना चौलागाईले पनि माथिल्लो भेगलाई ओझेलमा नपार्न आग्रह गर्नुभयो ।
सामुदायिक मेलमिलाप केन्द्रका संयोजक ईन्द्र प्रसाद तिमल्सीना,नागरिक सञ्जालका केन्द्रिय सदस्य नवराज सापकोटा,मण्डन देउपुर नगर कार्यपालिका सदस्य सुमित्रा भट्टराई,स्थानिय समाजसेवी सुदर्शन न्यौपानेले सार्वजनिक सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानिय आफैं पनि सचेत रहनुपर्ने बताए । शिक्षक छन्द प्रसाद सापकोटा,युवराज बस्याल लगायतले पनि खबरदारी गर्न नागरिकलाई आग्रह गरे । उनिहरुले उपस्वास्थ्य चौकीले सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई नगरेको,नागरिक वडापत्र नराखेकोमा पनि असन्तुष्टी जनाए ।
उपस्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष एवम् वडाध्यक्ष माधवप्रसाद न्यौपानेले उपस्वास्थ्य चौकीको सेवा सुधारका लागि आफुले छिटट्ै पहल थाल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अबको ७ दिनमा उपस्वास्थ्य चौकीले दिने सेवा प्रष्ट पार्ने गरी नागरिक वडापत्र राख्ने पनि बताउनुभयो ।
उपस्वास्थ्य चौकीका ईन्चार्ज हेमलाल गौतमले नगरपालिकाको स्वास्थ्य समितिले पर्याप्त मात्रामा औषधी नदिंदा चाहेजत्ति औषधी वितरण गर्न नसकेको बताउनुभयो । उपस्वास्थ चौकीबाट हाल ३५ प्रकारको औषधी निशुल्क दिन सक्ने भएपनि सिटामोलसम्म पनि वितरण गर्न नसक्दा दुख लागेको बताउनुभयो । उहाँले नगरपालिकासंग तत्काल समन्वय गरी थप औषधीहरु दिने,महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई जागरुक बनाउने,गाउँघर क्लिनिक नियमित बनाउने,पोषण कार्यक्रम,प्राथमिक उपचार कार्यक्रमलाई पनि प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुमुदायको तर्फबाट उपस्वास्थ्य चौकीको सेवाबारेको स्वमुल्यांकन प्रश्तुती स्थानिय लक्ष्मी भट्टराई र फामुमाया मोक्तानले गर्नुभयो भने स्वास्थ्य चौकीको तर्फबाट स्वमुल्यांकन प्रश्तुती ईन्चार्ज हेमलाल गौतमले गर्नुभयो । सार्वजनिक गरिएका ति दुबै प्रश्तुतीअनुसार उपस्वास्थ्य चौकीको कर्मचारी दरबन्दी,खोप कार्यक्रम,पोषण कार्यक्रम,प्राथमिक उपचार सेवा,परिवार नियोजनको अस्थायी साधन सेवा जस्ता सुचकहरु राम्रा देखिए । सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई,नागरिक वडापत्र,खानेपानी तथा शौचालय,अैषधी उपलब्धता,सुचना अधिकारीको व्यवस्था जस्ता सुचकहरु कमजोर देखिए ।
“समुदायको अगुवाईमा जवाफदेहीताको असल अभ्यास परियोजना” अन्तरगत सामुदायिक अंक तालिका विधिको प्रयोगद्धारा गरेको सार्वजनिक सुनुवाई कार्यक्रमले सरकारी सेवा प्रभावकारी बनाउन मद्धत पुग्ने शैक्षिक नमुना ग्रामिण विकास केन्द्रका कार्यक्रम संयोजक शिवराम आचार्यले बताउनुभयो । त्यस्तै यस्ता कार्यक्रमले शुषासनको प्रत्याभुति दिलाउन टेवा पुग्ने परियोजना अधिकृत चमार सिं लामा(सिएस)को धारणा छ । सार्वजनिक सेवामा पारदर्शी र जवाफदेहीताका लागि यस्तो अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।