• कृतिका घलान

वौद्ध,१६ चैत :
तामाङ तथा वौद्ध धर्मावलम्बीको ‘तेमाल’ जात्रा शुक्रबारदेखी सुरु भएको छ । जात्राको पहिलो दिन काठमाण्डौं वौद्ध स्तुपमा झण्डै लाखौं दर्शनार्थीहरु सहभागि भएका छन् । मेलाको व्यवस्थापनका लागि बौदनाथ क्षेत्र विकास समिति जस्ता संस्थाहरु खटेका छन् ।

मेला भव्य र सभ्य बनाउन विभिन्न संघसंस्थाले निशुल्क स्वास्थ्य शिविर,जुस तथा खानेपानी वितरण लगायतका कार्यक्रम गरी सघाएका छन् ।मेला भर्न काभ्रेपलाञ्चोक संगै सिन्धुपाल्चोक,रामेछाप,मकवानपुर,सिन्धुली,नुवाकोट,रसुवा,धादिङ लगायत काठमाण्डौं वरपरका तामाङहरु आएका हुन् ।


कोही आफन्त गुमाएकाहरु पितृआत्मा शान्तिका लागि बत्ति बाल्छन् । साथै लामागुरुद्धारा ‘छो फुल्बा’ मोलमपुजा समेत गराउँछन् । कोही जाग्राम म्हानेको कोर्वा गर्छन् । अधवैंशे तथा बुढापाकाहरु तामाङ लोक गीत (फापरे ह्वाअी) मार्फत सुखदुख साटासाट गर्छन् । फापरेका पारखीहरु फापरे दोहोरीमै रात विताउँछन् ।
तामाङ समुदायबाट लोप हुदै गएको यो गीत अचेल यस्ता मेलाहरुमा मात्र एकाध गाईएको भेटिन्छन् । मेलामा युवायुवतीहरु पनि आफ्नै मौलिक पहिरनमा सजिएर आउँछन् । आफन्तजनहरुसंग भेटघाट,शुभकामना आदानप्रदानका साथै नयाँ नयाँ व्यक्तिहरुसंग चिनजान गर्छन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृतिप्रति नयाँपुस्तामा आकर्षण कम हुदै गएको बताईन्छ । पश्चिमा संस्कृतिप्रतिको मोहले आफ्नै पहिचान मेटिनेमा वुढापाकाले चिन्ता जनाईरहदा तेमाल जात्राको रौनक भने कम छैन ।


यसैबिच काभ्रेको तेमालका कान्छीमाया तामाङ शुक्रबार वौद्ध स्तुपको दक्षिणपट्टिको गुम्बा छेउ फाफर गीत गाउँदै गरेको भेटिनुभयो । उहाँका फापर गीत सुन्न वुढापाकादेखी तन्नेरीसम्म थिए । उहाँलाई फापर दोहोरी फर्काउदै हुनुहुन्थ्यो मकवानपुरका शम्सेर सिङतान । तेमाल जात्रामा उहाँहरुको यो दोस्रो भेट रहेछ । कान्छीमाया मेला भर्न नातिनीको साथमा हिजोनै काठमाण्डौं आउनुभएको रहेछ, शम्सेर भने अस्तीनै । भेट भएकोमा दुवैजना गीतमार्फतनै खुसी साट्दै थिए । हालखबर सोध्दै थिए । दोहोरी सुन्नेहरुको भिडभाडबाटै उहाँहरुको दोहोरी मोवाईलमा कैद गर्दै हुनुहुन्थ्यो कान्छीमायाकी नातिनी सम्झना । ‘सेलो गीतहरु धेरै सुन्छु, हजुरआमाहरुले गाउँने फापर दोहोरी पनि निकै रमाईलो लाग्छ ।’ सम्झनाले संस्कृतिमोह यसरी सुनाउनुभयो । हजुरआमाको साथमा तेमालदेखी वौद्ध मेला भर्न आएको यो तेस्रो पटक रहेछ सम्झनाको ।


आदिकालमा राजधानी पुर्व काभ्रेपलाञ्चोकको तेमालका तामाङहरु पैदल यात्रामार्फत रातमा पनि वास नवसी म्हेथाङ(दियालो) बालेर मेला भर्न आउँथे,पुर्णिमाको अघिल्लो दिन बौद्धस्तुपमा मेला भरि भोलीपल्ट सवेरै पैदलै वालाजु धारा पुगी स्नान गर्थे र स्वयम्वु पुगेर पितृकै नाममा वत्ति बाल्थे । विशेषगरी तेमालका तामाङहरु आएर मेला भरेकोले यो जात्राको नाम तेमाल जात्रा रहन गएको अनुसन्धानकर्ता रविन्द्र तामाङ बताउनुहुन्छ । यसकारण पनि परापुर्वकालदेखी चल्दै आएको यो जात्रालाई धार्मिक,साँस्कृतिक र ऐतिहासिक मानिन्छ ।
पछिल्लो समय तेमालका तामाङहरु मात्रै नभएर काठमाण्डौं आसपासका प्राय सबै जिल्लाका तामाङहरु पनि मेला भर्न आउँछन् ।

वौद्ध र स्वयम्वु स्तुप वौद्ध धर्मावलम्बीको आस्थाको धरोहर भएकोले अहिले ह्योल्मो र शेर्पा समुदायले पनि तेमाल जात्रा मनाउन थालेका छन् ।जीवनमा एकपटक मात्रै पनि स्वयम्वु वौद्धको दर्शन गर्न पाउँदा धेरै पुण्य प्राप्त हुने जन विश्वास छ । जात्रा अन्तरगत यो पटक पनि पुर्णिमाको भोलीपल्ट शनिबार स्वयम्वुमा मेला लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस !