• कृतिका घलान 

तेमाल,काभ्रे,०४ चैत :
तेमाल गाउँपालिका वडा नम्बर ५ नारायणस्थानमा आईतबार शिक्षामा मातृभाषासम्बन्धी गोष्ठी सम्पन्न भएको छ । शिक्षामा मातृभाषा सम्बन्धी एकिकृत अध्ययन (प्रयोग सम्भाव्यता,स्तर पहिचान र विद्यालय मुल्यांकन) का लागि एक दिने गोष्ठी सम्पन्न गरिएको स्रोत व्यक्ति ईन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

भाषा आयोगले आयोजना गरेको सो गोष्ठीमा गाउँपालिकाका प्रमुख सलाम सिं लामाले तामाङ भाषालाई विद्यालयमा लेखन तथा पठनपाठनका लागि प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँको प्रतिवद्धता छ–“आवश्यक परे यसका लागि बजेट विनियोजन गर्छु ।”
तामाङ लीपिमा विवाद रहेको उल्लेख गर्दै उहाँले विद्यालय स्तरमा यो भाषा तथा लिपीको प्रयोगमा चुनौती रहेको बताउनुभयो । उहाँले विद्यालयमा तामाङ बालबालिका मातृभाषाको प्रयोगबाट बञ्चित हुदा कक्षा छोड्नुपर्ने अबस्था समेत रहेको औल्याउनुभयो । बालबालिकालाई मातृ भाषामै बोल्ने र उनिहरुलाई सामान्य निवेदन पनि तामाङ भाषामै लेख्न दिने सम्मको वाताबरण बनाउन सके राम्रो हुने गाउँपालिका प्रमुख तामाङको भनाई छ ।

भाषा आयोगका सचिव रामप्रसाद सापकोटाले तामाङ मात्रै भएको ठाउँमा एकभाषि शिक्षा,नेपाली खस भाषा तथा अन्य भाषा पनि प्रयोग गर्न सकिने ठाउँमा वहुभाषिक विद्यालय बनाउन सकिने धारणा राख्नुभयो । विशेषत मातृ भाषामा शिक्षा दिन सके प्रभावकारी हुन सक्ने भन्दै उहाँले त्यसैको अध्ययनका लागि स्थानिय शिक्षकहरुलाई परिचालन गर्न गोष्ठीको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले तामाङ भाषा अरु मातृभाषाको तुलनामा सवृद्ध रहेकोले विद्यालय स्तरमा पनि प्रयोग गर्न सके यसको वृद्धिविकासमा समेत टेवा पुग्ने तर्क गर्नुभयो । उहाँले मातृभाषा विकासको सवालमा तामाङ साहित्यको विकासले पनि उत्साह थप्दै लगेकोमा खुसी व्यक्त गर्नुभयो ।
जनगणना २०६८ अनुसार मुलुकमा १ सय २३ भाषा रहेकोमा तिनको प्रयोग नगरे अव विस्तारै लोप हुन हुन सक्ने भएकोले तिनको संरक्षणका लागि शव्दकोष निर्माण,व्याकरणको निर्माण जस्ता काम गरी भाषालाई विश्वव्यापिकरणतर्फ लैजान भाषा आयोग स्थापना भएको उल्लेख गर्नुभयो ।

बालबालिकाले विद्यालयमा अंग्रेजी भाषा जानेमा गर्व गर्ने परिपाटी रहेको उल्लेख गर्दै उहाँले वास्तवमा यो राम्रो नभएको बताउनुभयो । विद्यालयमा मातृ भाषाको अधिकतम प्रयोग गर्दा मातृभाषा सवृद्ध हुने र मातृभाषा सवृद्ध हुदा अंग्रेजी वा अन्य भाषामा पनि सजिलै प्रवेश गर्न सकिने उहाँको टिप्पणी छ ।

गोष्ठीमा गाउँपालिकामा रहेका विभिन्न विद्यलयका झण्डै दुई दर्जन बढि शिक्षकहरु सहभागि भए । उनिहरुले तामाङ वाहुल्यता रहेको तेमालमा तामाङ भाषालाई पनि विद्यालय स्तरमा प्रयोगमा ल्याउन सकिने बताए । स्थानिय निकाय अधिकारसम्पन्न भएसंगै शिक्षा नीति बनाउने सवालमा पनि यसको अर्थ रहने सहभागि शिक्षकहरुको तर्क छ । मातृभाषामा शिक्षा दिने विषय बालमनोविज्ञानसंग समेत जोडिएकोले यसमा सबै संवेदनशील बन्न आवश्यक रहेको गोष्ठीमा सहभागि शिक्षक राम सिं लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !