- नमोबुद्ध संवाददाता
धुलिखेल,०२ चैत :
राजनीतिक दलहरुले काठमाण्डौं उपत्यका र आसपासमा थातथलो रहेका आदीवासी जनजाती तामाङ समुदायलाई राजनीतिक ढालको रुपमा मात्रै प्रयोग गर्ने गरेको भनि आलोचना हुने गर्छ । उनिहरुहरुजस्तै आदीवासी जनजातीहरुले गरेको समानुपातिक समावेशीताको आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत नगरिदा असन्तुष्टिका स्वरहरु उठ्नु अस्वाभाविक हैन ।
यत्तिबेला शेरवहादुर तामाङ कानुन मन्त्री बनेसंगै तामाङ तथा जनजाती समुदायमा खुसीयाली छाएको छ । सिन्त्रुपाल्चोकबाट निर्वाचित शेरवहादुर ईतिहासकै शक्तिशाली सरकारको फुल मन्त्री बन्न सफल भएकोमा उहाँलाई मोवाईल,सामाजिक सञ्जाल तथा घरमै बधाई तथा शुभकामना दिनेको ओईरो लागेको छ ।
काभ्रे तेमालका शिक्षक श्यामलाल तामाङ,शेरवहादुर तामाङ समुदायसंगै नेपाल र नेपालीले गर्व गर्ने प्रतिभा रहेको बताउनुहुन्छ । राजनीतिशास्त्र,कानुन लगायतमा राम्रो अध्ययन रहेका शेरवहादुर ईमान्दार र सक्षम नेता रहेको सिन्धुपाल्चोकका एमालेजनहरु बताउँछन् । शेरवहादुरको क्षमतालाई विश्वास गरी जिम्मेवारी दिएकोमा यत्तिबेला तामाङ गाउँहरुमा एमालेको प्रशंसानै भईरहेको छ ।
तमाङ समुदायको छाता संगठन नेपाल तामाङ घेदुङका सचिव सञ्चु ब्लोन शेरवहादुर फुल मन्त्री हुनुलाई एमाललेले तामाङ आदीवासी जनजातीलाई गरेको सम्मान तथा ईतिहासको राम्रो मुल्यांकन ठान्नुहुन्छ । उहाँले सामाजिक सञ्जाल फेसवुकमै शुभकामना व्यक्त गर्दै भन्नुभएको छ – “जनताले दिएको भारी मत तथा राजनितीमा गरिएको सर्घषको बल्ल मुल्यांकान भएको छ एमालेबाट, इतिहासमै पहिलो पटक एमाले नेतृत्वको सरकारमा तामाङको सन्तान मन्त्री बनेको छ । कानुन मन्त्री बन्नु भएकोमा शेरबहादुर तामाङ दाईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दुछु !!”
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमालेबाट ६ र माओवादीका पाँच मन्त्री थप गरेकोमा शेरबहादुर तामाङले कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
शेरवहादुर :
शेरबहादुर तामाङ २०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिनुभएको हो । २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गर्नुभएका तामाङ विद्यार्थी र युवा राजनीति हुदैँ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
उहाँले मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर गर्नुका साथै कानून विषयमा पनि स्नातकोत्तर पास गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा चुनावमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष पशुपति शम्शेर जवरालाई हराउँदै सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएको हो ।
२०६४ सालको पहिलो संविधानसभामा पराजित भएपनि २०७० सालको दोस्रो संविधानसभा भने चुनावमा विजयी हुनुभएको थियो ।
राजालाई हराएँ : शेरवहादुर
भौगोलिकता तथा भौतिक विकासका दृष्टिले सिन्धुपाल्चोकको विकट क्षेत्र सिन्धुकोटमा जन्मिएका शेरवहाुदर तामाङ विगत सम्झदै भन्नुहुन्छ–“गाउँमै पढें,अहिलेजस्तो बेञ्च,कक्षा कोठा हुदैनथे,घरबाटै चकटि लिएर चौरमा पढ्नुपथ्र्यो । हामी त स्कुल पढिरहेका हुन्थ्यौं । गाउँमा राजाको सवारी भयो भन्ने वित्तिकै पढाई छोडेरै भएनी दौडिएर दर्शन गर्न पुग्थ्यौं, एक जना अग्लो मान्छे,घोडामा सवार थिए,तिनैलाई राजा भन्थे ।,गाउँलेहरु फूलमालाले स्वगत गर्थे,जयजयकार हुन्थ्यो ।
उमेर बढ्दै गयो, पढ्न छोडिएन । पछि बुझ्दै जाँदा घोडामा आएका व्यक्ति पशुपति शम्शेर राणा हुनुहुदोरहेछ,उहाँ म जन्मेकै गाउँबाट निरन्तर चुनाव जित्नुहुन्थ्यो,उहाँलाईनै हामी गाउँलेले राजा मान्दा रहेछौं ।
दुखजेलो गरी काठमाण्डौंमा आएर क्याम्पस पढ्न थालें,राजनीतिको बारेमा चासो हुन्थ्यो । गाउँको स्कुल सरस्वती मावि ग्याल्थुममा हुदानै संगठनमा आवद्ध भईसकेको थिएँ । क्याम्पस पढ्न थालेसी राजनीतिप्रति अझ चासो बढ्यो । मेरो गाउँ अनि देशको विकास कसरी होला भन्ने चिन्तन गरिरहें,राजनीतिप्रति झन नजिकिएँ ।
अन्ततगत्व हिजो राजा ठानिएका पशुपति शम्शेरसंगनै चुनाव लाड्ने निधो गरें, पार्टीले पनि टिकट दियो । २०७० सालको दोस्रो संविधानसभाको चुनाव र ०७४ सालको प्रतिनिधिसभाको चुनावमा उहाँलाई हराएँ ।
मेरा आखेमाम,आपाआमा,आनी,ज्योज्यो आले,नानाआङाले मलाई विश्वस गर्नुभो, त्यसैले आज मैले हिजोको राजाको ठाउँ पाएको छु ,हिजो राणा शाषणमा जस्तो हैन,लोतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको मन जित्ने काम गर्नुपर्छ मैले ।
कत्तिले हामीलाई भोटे भनेर हेप्थे । जीवनमा थुप्रै दुख कष्ट वेहोरेको छु । संघर्ष गर्न छोडिएन,विभिन्न समस्याहरुकै बिच पढाईलाई निरन्तर अघि बढाईरहें,राज्य व्यवस्था र जनताका समस्याहरु बुझ्दै गएँ, जीवनमा कहिल्यै हारिन रपो आज यो ठाउँमा छु,जनताको लागि,देशको लागि केहि गरेरै छाड्ने प्रण गरिरहेको छु ।”