
- नमोबुद्ध संवाददाता
काठमाडौं, पुस : चर्चित म्हेन्दोमाया गायक हुन् सागर एस वाइवा । म्हेन्दोमाया गाउँदै विभिन्न देश घुमेका उनको चार्म देश विदेशमा उस्तै छ । दुई दशकअघि नुवाकोटको एउटा गाउँबाट राजधानी छिर्दै गर्दा सागर एस वाइवासित नायक बन्ने सपना थियो । तर, उनी भने आफ्नै गाउँघरमा सुन्दै आएको म्हेन्दोमाया भाकालाई देशविदेश प्रवद्र्धन गर्नेगरी गायक बनेर निस्के । धादिङ, नुवाकोट र रसुवा जिल्लामा प्रचलित यो लोकभाकालाई आधुनिक रंग भरेर अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएका उनलाई यति बेला यही भाकाले फुर्सद दिएको छैन । डेढ दशक लामो सांगीतिक करिअरमा डेढ दर्जन एल्बम निकाल्न भ्याइसकेका उनी झन्डै एक दर्जन मुलुकमा ‘म्हेन्दोमाया कन्सर्ट’ कै लागि घुमिसकेका छन् ।
‘भन्नलाई त मलाई म्हेन्दोमाया किङ नै भन्छन् नि,’ हालैको कफी–गफमा उनले भने, ‘तर म घमण्ड र प्रचार गर्दै हिँड्ने मान्छे परिनँ । आफ्नो काम खुरुखुरु गर्छु । अवार्डको पछिपछि पनि कहिल्यै कुदिनँ ।’ २०५७ देखि सांगीतिक करिअर सुरु गरेका उनी त्यसको तीन वर्षपछि नै व्यावसायिक रूपमा देखा परेका थिए । खासगरी उनलाई ‘साइकल कोरोरो’ एल्बमले आफ्नो समुदायमा चिनाएको हो । त्यसपछि उनले ‘सप्तङ स्योङ’ (सप्तङ खोला), ‘पाटा म्हेन्दो’ (लालीगुराँस), ‘चच्चाराङी’, ‘सेमा ओस ओस’, ‘सेम्चे माया लो’, ‘खनै गोम्बो’, ‘नोरक्यङ पिस्कुले’ लगायत ढेड दर्जन एल्बम निकाले भने तामाङ फिल्म ‘डोम्बो’ (पाहुना), ‘टङजिम बोर्जी’ (चुँडेर लग्यो) लगायतमा संगीत भरे ।
ललितकला क्याम्पसमा संगीत सिकेका उनको खास विशेषता लोकलयमा आधुनिकता मिसाउनु हो । उनको नाममा युटयुबमा सयभन्दा बढी भिडियो उपलब्ध छन् । धेरैले उनलाई म्हेन्दोमायाको सागर भन्छन् । लेखन, संगीत, गायन मात्रै नभई म्युजिक भिडियो निर्देशन र मोडलिङ उनी आफैं गर्छन् । म्हेन्दोमाया गायककै रूपमा उनले कतार र मलेसियाको दुई–दुईपटक यात्रा गरिसकेका छन् भने कोरिया, दुबई, कुवेत, बेल्जियम, फ्रान्स, पोर्चुगल र हल्यान्डमा म्हेन्दोमाया गाएका छन् । ‘म्हेन्दोमाया गाउने थुप्रै हुनुहुन्छ,’ उनले भने, ‘यति धेरै मुलुक पुगेको म नै पहिलो हुँ ।’
नुवाकोट किस्पाङ–३ का ३५ वर्षे गायक यति बेला भने म्हेन्दोमाया प्रवद्र्धन गर्दै वल्र्ड टुर गर्ने योजना बुनिरहेका छन् । ‘नेपाली संगीतको मूलधारभन्दा फरक भए पनि तामाङ समुदायमा म्हेन्दोमाया धेरै लोकप्रिय छ,’ म्हेन्दोमाया कलाकार संघको संस्थापक अध्यक्षसमेत रहेका उनले भने, ‘अहिले म्हेन्दोमायाको माग देशविदेशका तामाङ सुमदायमा ठूलो छ ।’ धादिङ, नुवाकोट र रसुवाको यो लोकभाका पहिलो पटक रेडियो नेपालमा लेक योञ्जनले गाएका थिए । यसपछि पचासको मध्य दशकमा हेम वाइबाले एल्बम निकाले । त्यसयता व्यावसायिक सांगीतिक बजारमा भिन्न पहिचान बनाउँदै गरेको यो भाका गाउने अहिले अघि दर्जनभन्दा बढी गायक/गायिका छन् ।