काठमाडौं । शरीरमा लाग्ने विभिन्न रोगमध्येको हो, आस्टियोपोरोसिस । हड्डी कमजोर बनाउने उक्त रोग ५० वर्ष नाघेका हरेक तीन महिलामध्ये एकलाई लाग्ने अनुमान छ ।
यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । यो रोग लागेमा नयाँ कोषिकाको निर्माण तीव्र गतिमा हुन पाउँदैन । पुराना कोषिका बदलिन तीव्र गति जरुरी हुन्छ । परिणामस्वरुप हड्डी कमजोर हुँदै टुट्न थाल्छ ।
विभिन्न तथ्यांकअनुसार आस्टियोपोरोसिसकै कारण विश्वमा हरेक तीनमध्ये एक महिला तथा पाँचमध्य एक पुरुषलाई हड्डी टुट्ने जोखिम हुन्छ ।
बदलिँदो जीवनशैली, गलत खानपान, कम्प्युटरमा अधिक समय बिताउने, व्यायामको कमि तथा जंक फुडको अधिक प्रयोगका कारण यो समस्या देखिने गरेको छ । यसबाट बच्न यसका कारण र लक्षणबारे जान्न अति जरुरी छ ।
के हो आस्टियोपोरोसिस ?
यो रोग लागेमा हड्डीको गुणस्तर तथा घनत्व कम हुँदै जान्छ । क्याल्सियम, फोस्फोरस र प्रोटिनबाहेक विभिन्न प्रकारका मिनरल्सद्वारा बनेको हुन्छ, हड्डी ।
गलत खानपान, अव्यवस्थित जीवनशैली र बढ्दो उमेरसँगै हाम्रो शरीरबाट यस्ता तत्व नष्ट हुन थाल्छन्, जसका कारण हड्डीको घनत्व कम हुन थाल्छ । हड्डी यति कमजोर हुन्छ कि सानोतिनो चोटले पनि भाँचिन सक्छ ।
यस्ता छन् कारण
वंशाणुगत, प्रोटिनको कमि, भिटामिन डी र क्याल्सियमको कमि, मधुमेह, थाइराइड, व्यायामको कमि, धुम्रपान, मदिरापान र उमेरका कारण पनि यो रोग लाग्ने गर्छ ।
चिसो पेय पदार्थ र नुनको अधिक सेवन तथा महिलाहरुमा महिनावारी छिट्टै सुक्ने कारणले पनि यो रोग लाग्ने गर्छ । त्यसबाहेक, बाथरोग, युरिक एसिड, कब्जियत, ग्यास्टि्रक, प्यारालाइसिस, पार्किन्सन्स, मृगौला र कलेजोको समस्या, रगतसम्बन्धि रोगलगायत यसका कारक हुन् ।
यस्ता छन् लक्षण
साधारणतया यस रोगका खासै लक्षण देखिँदैनन् । जब साना चोटपटकका कारण पनि हड्डी भाँचिने समस्या आउँछ, आस्टियोपोरोसिस लागेको लक्षण हो त्यो । त्यसका कारण हातखुट्टामा बढी पीडा महशुस हुन थाल्छ ।
शरीर चाँडै थाक्ने, थकान महशुस हुने, हातखुट्टामा पीडा हुने र त्यो पीडा बढ्ढै जाने, हातखुट्टा बांगिने गर्छ । यस्तै, कम्मरमुनिको भाग दुख्ने, गर्धन दुख्ने गर्छ ।
रोकथामका उपाय
नियमित व्यायामको माध्यमबाट आस्टियोपोरोसिसको सजिलै रोकथाम गर्न सकिन्छ । पोषिलो खानपान, स्वस्थ जीवनशैली र हिँडडुल पनि रोकथामका उपाय हुन् ।
हड्डीको घनत्वको नियमित जाँचबाट पनि सम्भावित जोखिम रोक्न सकिन्छ ।