एन आर एन कोरियाले आगामी जुन ३ तारिख नेपाली राजदुतावासका महामहिम राजदुत श्री कमान सिं लामा को हातवाट “एन आर एन नेपाल हाउस” को उदघाटन गर्ने भएको छ । एन आर एन तेस्रो कार्य समितिका तत्कालिन अध्यक्ष श्री विनोद कुवंरले तत्कालीन अवस्थामा नेपालीहरुलाइ आपत विपत पर्दा बस्ने आश्रय स्थलको रुपमा सुरुवात गरकोमा बर्तमान चौथौ कार्य समितिले संचालन गर्न नसकि बन्द गरेको आरोप खेप्दै आएको बर्तमान कार्य समितिले लामो चर्चा परिचर्चा र विभिन्न आक्षेप बीच निकै महत्वाकाक्षी भनिएको “नेपाल हाउस”को परिमार्जीत रुपमा नया योजना र स्पस्ट संचालन बिधि सहित पुनः संचालनमा ल्याउन लागेको हालको कार्य समितिले जानकारी गराएको छ । विघटित कार्य समितिले गरेका कतिपय राम्रा काम हरुले निरन्तरता नपाउने बर्तमान अबस्थामा निरन्तरता पाएको यो “नेपाल हाउस” ले कोरिया मा रहेका सम्पूर्ण नेपाली हरुको सहयोग पाउनेमा एन आर एन कोरियाका अध्यक्ष के पी सिटौला आशाबादी रहेको बताएका छन् ।
हामी लाई प्राप्त नेपाल हाउस अबधारणा पत्र
नेपाल हाउस अवधारणा पत्र
“नेपाल हाउस” – एक समिक्षाः
विश्वबासी नेपालीहरूको सञ्जाल बनाउने हेतुले सन् २००३मा विदेशमा रहेका नेपालीहरूलाइ एकै सुत्रमा गास्ने र नेपालको चौतर्फी बिकासमा टेवा पुर्याउने उदेश्यले एन आर एनको स्थापना भइ विभिन्न कार्यहरू गर्दै आएको छ । यसरि विश्वब्यापि नेटवर्क बनाउने क्रममा कोरियामा सन् २००६मा एन आर एनको स्थापना भएको थियो । स्थापनासँगै छोटो समयमा आफ्नो पहिचान बनाएको एन आर एन कोरियाले सन् २००७ को सिंगापुरमा भएको एशिया प्यासिफिक क्षेत्रीय भेलामा “बुध्द नेपाल” र पावर नेपाल साथै २००८मा नेपाल हाउस जस्ता गहन प्रोजेक्टहररूलाइ एन आर एन भित्र विश्वब्यापि एजेन्डा बनाउन सफल भएको इतिहास हामीसँग छ । यिनै हामीले सुरू गरेका अवधारणा अनुरूप हाल रूस, बेल्जियम लगायत विश्वका विभिन्न मुलुकहरूमा सफल कार्यान्वयन भइरहेका छन । विभिन्न देशमा आफ्नै प्रकृतिका समस्या र अप्ठ्याराहरू हुने हुनाले एन आर एन कोरियाको नेपाल हाउस, त्यतिबेलाको समय परिस्थिति र समयको माग अनुसार कोरियन भूमिमा स्थापना गरिएको थियो । तत्कालिन कार्यसमिति यसको लागि धन्यवादको पात्र छ । उद्देश्य राम्रो हुँदाहुँदै पनि सञ्चालन प्रकृया अनि विभिन्न कारणबश नेपालीको बास बस्ने घरमै सिमित हुन पुग्यो । २०११ अगस्तमा बनेको तेश्रो कार्य समितिले नेपाल हाउसको उद्देश्यअनुरू नयाँ रूप र नयाँ ढङ्गले सञ्चालनमा ल्याउने अठोटका साथ २०१२ जनवरिको अन्त्यमा यसलाइ पुनर्ब्यवस्था गर्नको लागि केहि समय स्थगन गरियो। ‘एउटा सानो नेपाल जहाँ सम्पूर्ण नेपाल अटाऔ’ भन्ने उदेश्यका साथ शुरू गरिएको “नेपाल हाउस” यस कार्यकालसम्म आइपुग्दा उदेश्य अनुरूप हुन नसक्नुका विविध पाठहरू हमीले सिकिसकेका छौं र तसर्थ नेपाल हाउसलाइ समयानुकुल नयाँ रूप र नयाँ शैलीमा सञ्चालन गर्नु यस कार्यकालको प्रमुख कार्यमध्ये एक हो ।
हाल आएर कोरियामा बसोबास गर्ने नेपालीहरूको संख्या दिनानुदिन बढ्दै जानाले नेपालीहरूका बिबिध साँस्कृतिक धरोहरहरू ब्यक्त गर्ने र साँस्कृतिक आदान प्रदान गर्ने स्थानको अभाव रहेको कुरा महशुष गर्न सकिन्छ । ‘अनेकतामा एकता हाम्रो पहिचान’ भनिएपनि त्यसलाइ हामी आफू-आफू बिच र कोरियन समाजमा उजागर गर्न नसकिरहेको स्थिति एकातिर छदैछ भने नेपालका भौगोलिक, आर्थिक, सामाजिक कृयाकलापहरूका बारेमा जानकारि दिने उत्तम स्थानको टडकारो अभाव रहेको छ । नेपालीले आफ्नोपन आफैमा गुम्स्याएर राखेका छन् । ‘पाहुना हाम्रो भगवान’ भनिए तापनि पाहुनालाइ एकछाक गाँस र बास दिनसक्ने एउटा राम्रो कोठा हामीसँग छैन । यस अर्थमा नेपाली भाषा, संकृति र नेपाललाइ कोरियामा चिनाउन उपर्युक्त स्थानको अभाव रहेको कुरा प्रश्ट देखिन्छ ।
यतिमात्र नभइ नेपालीहरूका बिबिध संस्थाहरूको अभिभावकको भूमिका निर्वाह गर्ने एन आर एनले कार्यक्रम सञ्चालन गर्नुपर्दा अरूको शरण पर्नु आफैमा लाज लाग्ने बिषय भएको छ । एक दुःख पाएको नेपालीले दुःख बिशाएर एकरात आनन्दको श्वास फेर्ने ठाउँ खोजीरहेको छ । तसर्थ यस्ता विविध विषयलाइ समेटन सक्ने एउटै केन्द्र नेपाल हाउस हुनसक्ने कुरा प्रश्ट छ । हामी नेपाली हौं, परापूर्व कालदेखि हाम्रो आफ्नै पहिचान रहिआएको छ भनी ब्यवहारिक रूपले दर्शाउनु सक्ने नेपाल हाउसको निर्माणमा हामी सबै कोरियामा बस्ने नेपाली एकजुट भएर लाग्ने बेला आएको छ ।
नेपाल हाउसको परिकल्पना र प्रस्ताबः
विगतमा यस कोरियन भूमिमा नेपाली राजदूताबास नभएको अवस्थामा नेपालीहरूको पाको संस्था नेपाली सम्पर्क समिति र विभिन्न संघसस्था तथा विभिन्न व्यक्तिहरूले नेपाल र नेपालीको चिनारि र आपत विपतमा परेका नेपालीहरूलाइ यथासक्य सहयोग पु-याउदै आएका थिए । पछि रोजगार अनुमति प्रणालि वा बिभिन्न माध्यमबाट कोरिया प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको र नेपालीका समस्या तथा एउटै छातामुनि विविध जानकारीहरू सहित परामर्ष र आपतकालिन बासको समेत सेवा पुर्याउने उद्देश्यले नेपाल हाउसको स्थापना गरिएको थियो । कोरियामा नेपाल हाउसको स्थापना गर्दा केहि कोठाहरू भाडामा लिइ सञ्चालन शुरूवात गरिएको र उपलब्ध कोठाहरूमा अस्थायि सेल्टर मात्र सञ्चालमा ल्याइ परामर्श तथा सांस्कृतिक, ऐतिहासिक, पर्यटन उद्योग र विकाश सम्बन्धि संग्रहालय र प्रदर्शनि कक्ष(उदाहरणः बुद्यको जन्मस्थल लुम्बिनि, सगरमाथा लगायत विभिन्न हिमाल, विभिन्न भेषभूषा, भौगोलिक चिनारि आदि) जस्था महत्वपूर्ण विषयमा प्रवेश गर्न नसकि नेपाल हाउसको सञ्चालन र उदेश्य प्राप्तिमा असफल रहेको देखिन्छ । यिनै कुराहरूलाइ मध्यनजर गर्दै र एन आर एनको ग्लोबल उदेश्य तथा समयको मागलाइ पुरा गर्न एउटा नयाँ नेपाल हाउसको निर्माण गर्नुपर्ने देखिन्छ । तत्कालका लागि परिमार्जित नेपाल हाउस निर्माण गर्न उपर्युक्त स्थानमा घर(फ्लाट) फेला परिसकेको र यसैबाट नयाँ नेपाल हाउसको शुरूवात गरि उदेश्य पूरा गर्न सकिने कुरामा विश्वस्त हुन जरूरी छ ।
नेपाल हाउस सञ्चालनका उद्देश्यः
परिमार्जित नेपाल हाउस निम्नलिखित उद्देश्य पूरा गर्ने गरि निर्माण र व्यवस्था गरिने छ ।
१. नेपालको विविध पर्यटन, कला, संस्कृति, भाषा आदिको वृहत्तर प्रचार प्रशारका लागि सानै भएपनि प्रदर्शनिको व्यवस्था गरिने ।
२. नेपालको शिक्षा र समाजसेवाको क्षेत्रमा भोलुन्टियर प्रोगामका लागि पूलको काम गर्ने ।
३. नेपाली मूलका वा कोरियनसँग वैवाहिक सम्बन्ध भएका नेपाली बालबालिकाहरूका लागि प्रत्येक शनिबार नेपाली-अंग्रजी भाषा तथा नेपाली कला संकृतिको जानकारी दिने कक्षा संचालन गर्ने ।
४. अन्य संघ संस्थाहरूलाइ कार्यक्रम संञ्चालका लागि कार्यक्रम हलको व्यवस्था गरिने(सहयोग स्वरूप थोरै दस्तुर लिने गरि)
५. सप्तान्तमा कोरियामा बस्ने नेपालीहरूका लागि शिक्षामुलक ट्रेनिङ र सेमिनारको शन्चालन गर्ने (कोरियन भाषा तथा संस्कृति, कम्प्यूटर शिक्षा, कोरियन कानून आदि)
६. नेपाल भ्रमणमा जान इच्छुक कोरियन नागरिकहरूलाइ भ्रमण र नेपाल सम्बन्धि आधारभूत ज्ञान दिनेखालका कक्षा संचालन, सेमिनारहरू गर्ने ।
७. नेपालसँग दौत्य सम्बन्ध राख्न चाहने र नेपाली भाषाको ज्ञान लिन चाहने कोरियनहरूका लागि नेपाली भाषा कक्षा संचालन गर्ने ।
८. मासिक एक पटक नेपाली चलचित्र प्रदर्शनि गर्ने ।
९. योगा, नेपाली नृत्यकला सम्बन्धि कक्षाहरू संचालनमा ल्याउने ।
१०. अत्यन्त सहयोग आवश्यक भएका नेपालीहरूका लागि एक हप्ता सम्मका लागि(अवस्था हेरी) बासको व्यवस्था गर्ने
११. नेपाल हाउसको सञ्चालन र दर्ता प्रकृया सकिएपछि निश्चित रेगुलर कोष हेरेर १ कार्यालय संचालकको व्यवस्था गर्ने जस्ले कोरियामा बसोबास गर्ने क्रममा परेका नेपालीहरूका समस्या समाधानका लागि कोरिया सम्बन्धि सूचनाहरू संप्रेषण र परामर्श गर्ने, कानूनी र बसोबासका क्रममा देखिएका समस्याहरू हेर्ने, प्रोजेक्टहरू संचालन र रेखदेखको काम जिम्मा दिइने ।
१२. नेपालका नेपालका राष्ट्रिय एवं विभिन्न जात जातिका चाड पर्वका दिन जम्मा भइ चाडपर्व मरनाउने संगम स्थालको रूपमा विकशित गर्ने ।
नेपाल हाउस रहने स्थानः
हाल संचालनमा ल्याइने भनिएको नेपाल हाउस सिओल म.न.पा., जोङनोगु, वन्नाम्दोङ ८९-३, तेश्रो तल्लामा रहने छ (घर भाडामा लिन सहमति गरिसकिएको) । यो ठाउँ नेपालीहरूको मिनि नेपाल भनी चिनिएको दोङदेमुनबाट हिडेर १५/२० मिनेटमा पुग्न सकिने, रेल लाइन नं.१ को जोङनो ५गा, लाइन नं. ३को आन्गुक स्टेशन तथा लाइन नं. २/४को को उल्जिरो ४गा स्टेशबाट हिडेर १५ मिनेटमा पुग्न सकिनेछ । त्यसै गरि बस वा टेक्सी प्रयोग गरि वन्नाम्दोङ सागरि मा उत्रन सके सजिलै पुग्न सकिनेछ । नेपालीमात्र नभइ कोरियनहरू पनि आवश्यक परेको खण्डमा सजिलै पुग्न सक्ने तथा विभिन्न समयमा भएका भ्रमण र प्रत्यक्ष अवलोकन साथै यातायात र सुविधाका आधारमा यस स्थानलाइ उपर्यक्त मान्न सकिन्छ ।
नेपाल हाउस संचाल विधिः
नेपाल हाउसको रेखदेख र संचालनको प्रमुख जिम्मेबारी एन आर एन कोरियाको रहनेछ । नेपाल हाउसको संचालन र रेखदेख गर्न छुट्टै निर्देशिका तयार गरिने र एन आर एन कोरिया कार्य सिमितिका अध्यक्ष नै पदेन अध्यक्ष र केहि सदस्य रहने गरि नेपाल हाउस संचालन परिसद र परिसद अन्तर्गत रहने गरि आवश्यक देखिएमा विभिन्न उप. परिसदहरू निर्माण गरि कार्य विभाजन गरिनेछ । नेपाल हाउसलाइ दीर्घकालीन रूपमा संचालन गर्न आवस्यक चन्दादाता(नेपाली वा विदेशी नागरिक), विभिन्न नेपाली र कोरियनसँग सँस्थाका प्रतिनिधिहरूलाइ समाबेश सल्लाहकार परिषदको व्यवस्था गरिने छ ।
नेपाल हाउस संचालका श्रोतहरूः
क) आयश्रोतः
नेपाल हाउस विशुध्द एन आर एन कोरियाको परिकल्पना भएतापनि एन आर एन कोरियाको पहलमा सम्पूर्ण नेपाली समुदायबाट प्राप्त सहयोग तथा विविध च्यारिटि कार्यक्रम, विविन्न नेपाली तथा गैर नेपाली संघ संस्थाबाट प्राप्त हुने सहयोग, एन आर एन कोरियाका कार्यकारि सदस्यहरूबाट उठेको लेबि, ब्यापारिक प्रतिष्ठानबाट लिइने मासिक सहयोग नै नेपाल हाउसको मूल आयश्रोत रहनेछ । यसका अतिरिक्त उल्लेखित उदेश्य प्राप्त गर्ने क्रमामा सभा हल तथा संग्रहालय तथा कक्षा संचालन गरिदिएबाट अनुदान स्वरूप प्राप्त हुने रकम यस हाउस संचालनको आयश्रोत हुनेछ । निकट भविश्यमा एन आर एन कोरियालाइ अफिसियल स्टाफको व्यवस्था र दर्ता गर्न सकियो भने विभिन्न प्रोजेक्टहरू अनुसार कोरियन सरकार, एन जी ओ र आइ एन जीओबाट दीर्घकालीन सहयोग प्राप्त गरि संस्थालाइ जीवित राख्न सकिने छ ।
ख) सजावट सामग्रीको श्रोतः
नेपाल हाउस संचालनका लागि आवस्यक फर्निचर, कुर्सी टेबल, दराज जस्ता सामग्री जुटाउन नेपाली र कोरियन समाज विच आह्वान गरिने र नपुग समान भएमा कोष हेरेर तत्काल खरिद गरि पछि संकलन हुने रकमबाट त्यसको पूर्ति गरिनेछ । नेपाली कला र विविध पोष्टर सामग्रीहरू उपलब्ध गराउन नेपाल सरकार, कोरिया स्थित नेपाली राजदूताबास, र सम्बन्धित पक्षलाइ अनुरोध गरिनेछ ।
-धन्यवाद-